• होमपेज
  • समाचार
  • पीडित परिवार भेट्न हेलिकोप्टरमार्फत मालगाउँ पुग्यो छानबिन टोली

पीडित परिवार भेट्न हेलिकोप्टरमार्फत मालगाउँ पुग्यो छानबिन टोली

  • शुक्रबार, साउन २२, २०७८
पीडित परिवार भेट्न हेलिकोप्टरमार्फत मालगाउँ पुग्यो छानबिन टोली

धनगढी —  महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका– २ मालगाउँ गएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्हरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ गएको बताए। ‘छानबिन टोली हेलिकप्टरमार्फत व्यासको मालगाउँ गएको हो,’ उनले भने।

बिहीबार गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो। एसएसबीसहित घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको थियो। यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।

महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ। तर दुवैतर्फ तार छैन। रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन्। महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ।

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन्।

चर्चामा

सम्बन्धित समाचार