पदमबहादुर सिह/बाजुरा–सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट र असार ७ गते वितरण गरेको रातो किताब (रेडबुक) मै बाजुराका दुइ निजी कम्पनीलाई अनुदान दिने उल्लेख छ।
आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहको गृहजिल्ला बाजुराको दीपेन्द्र फर्निचर उद्योगलाई १५ लाख, बाजुराकै गणेश नमुना गार्मेन्ट उद्योग तथा न्यू–भिजन टेक्सटाइल उद्योगलाई २० लाख अनुदान दिने उल्लेख छ। बाजुरामा मात्र नभइ शुदुरपश्चिम प्रदेश भरि निजी कम्पनीलाई अनुदान दिने उल्लेख छ।
बजेट वक्तव्य र रातो किताबमै निजी कम्पनीको नाम उल्लेख गरी साढे १० करोड अनुदान तोकिएपछि त्यसको विरोध हुन थालेको छ।‘बजेट वक्तव्यमा यसरी कुनै निजी प्रालि वा कम्पनीको नामै तोकेर अनुदान घोषणा गर्नु भनेको नीतिगत भ्रष्टाचार हो’, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘यसले सम्बन्धित योजना सिफारिस गर्ने सांसद र रातो किताबमा राख्ने मन्त्रीको मिलेमतोको आशंका गर्न सकिन्छ।’
बाजुराका २ निजी कम्पनी
१) गणेश नमुना गार्मेन्ट उद्योग तथा न्यू–भिजन टेक्सटाइल उद्योग
यो उद्योग बाजुराको बडिमालिका नगरपालिका–९ मार्तडीमा छ। यसका सञ्चालक गौमुल गाउँपालिका–६ का गणेश रोकाया हुन्। उनी एमालेबाट साविक जुगाडा गाविस अध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए। उनी स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट गौमुल गाउँपालिका अध्यक्षमा पनि पराजित भएका थिए। रोकाया आस्थामा फरक भए पनि आर्थिक मामिलामन्त्री शाहका साथी हुन्। यो उद्योग आर्थिक मामिलामन्त्रीकै निर्वाचन क्षेत्रमा पर्छ।
२) दीपेन्द्र फर्निचर उद्योग
यो फर्निचनर उद्योग बाजुराको त्रिबेणी नगरपालिका–६ मा छ। यसलाई १५ लाख अनुदान दिइएको छ। यसका सञ्चालक सोही ठाउँका वीरबहादुर बुढा हुन्। बुढा माओवादी केन्द्रनिकट हुन्। उनी नेकपा हुँदा आर्थिक मामिलामन्त्री शाहका निकट थिए। उनको यो योजना पनि आर्थिक मामिलामन्त्रीले नै सिफारिस गरेका हुन्।