सोमवार, असार २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन

  • सोमवार, असार २२, २०८३
सेयर गर्नुहोस् :
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौँ–सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन् ।

उनले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिएका छन् । सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिएका हुन् ।

बैठकमा निर्देशन सुनाउँदै उनले भने, ‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’

मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसद्लाई अवगत गराउनुपर्नेमा सभामुखले विशेष जोड दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार