
बाजुरा— प्रशिक्षित स्थानीय स्रोत व्यक्तिहरूमार्फत सामुदायिक वन उपभोक्ता समूहहरूलाई प्रमाणीकरण योग्य बनाउने उद्देश्यले एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
गाउँमुल गाउँपालिका–१ अन्तर्गत सुगरखाल हंशिरे सामुदायिक वनमा आयोजित उक्त तालिममा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित करिब ३० जनाको सहभागिता रहेको थियो। तालिममा सामुदायिक वनको दिगो व्यवस्थापन, वन प्रमाणीकरणका मापदण्ड, पारदर्शी व्यवस्थापन प्रणाली तथा वनबाट आयआर्जनका सम्भावनाका विषयमा सहजीकरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वनका अध्यक्ष पठाने चदारा रहेका थिए। उनले यस्ता तालिम कार्यक्रमले समुदायमा वन संरक्षणप्रति जिम्मेवारीबोध बढाउनुका साथै दिगो वन व्यवस्थापन र आर्थिक अवसर सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तालिम कार्यक्रम फेकोफन र एन्साब नेपाल (ANSAB) को सहयोगमा सञ्चालन गरिएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले स्थानीय समुदायलाई वन स्रोतको वैज्ञानिक व्यवस्थापन गर्दै आर्थिक रूपमा सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


