• होमपेज
  • हिमाली
  • झिलीमीली बने बाजुराको बिकट बिच्छ्याका गाउँ

झिलीमीली बने बाजुराको बिकट बिच्छ्याका गाउँ

  • सोमवार, बैशाख ८, २०८२
झिलीमीली बने बाजुराको बिकट बिच्छ्याका गाउँ

लक्ष्मीराज पाध्याय– बाजुराको अति बिकट हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविस झिलिमिली भएको छ । हिमाली गाउँपालिका १, २ र ३ वडाका ६ सय ८२ परिवार अर्थात ३ हजार ८ सय ६७ जनसंख्या लाभावान्धित भएका छन । वडा नम्बर ५ स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा भने दशैसम्म बिजुली बाल्ने गरि  तयारी भएको स्थानिय अगुवा साजन थापाले बताएका छन । पुस्तौदेखी अँध्यारोमा बस्दै आएका गाउँले बिजुली गाउँमा बिजुली जलेपछि निकै उत्साहित र खुसी भएको स्थानीय अगुवा थापाले बताए ।

‘वर्षौंदेखि झरोको सहारामा उज्यालो बालिरहेका स्थानीय २०८२ जेठसम्म बिजुली बाल्ने भनिए पनि एक महिना अगाडी बिजुली बालीसकेका छन्,’ उनले भने । गाउँपालिकाको सहकार्यमा ‘कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थासँगको सहकार्य तथा सहयोगमा बिजुली बाल्ने काम पुरा भएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । हिमाली गाउँपालिकाको २ स्थित नातिखोला लघुजलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गरेको छ । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङका अनुसार २०८२ जेठसम्म बिच्छयाँका सबै गाउँमा बिजुली बालिसक्ने योजना रहेको भए पनि समय अगावै गाउँमा बिधुत सेवा बिस्तार भएको बताएका छन । बाजुराकाे बिच्छ्यामा उत्पादित बिधुत सेवा कर्णाली प्रदेश हुम्ला जिल्ला ताँजाकाेट गाउँपालिकाकाे मासफुर बस्तीलाई लाभान्वित बनाएकाे छ ।

झन्डै १४ करोड ५५ लाख रुपैयाँमा १ किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न भएर गाउँ गाउँमा बिधुत सेवा बिस्तारको कार्य भइरहेको छ । परियोजनाको काम गत वर्षबाट सुरु भएको हो । परियोजना सम्पन्न गर्न संस्थाले दुई चरणमा काम गरेको थियो । बिजुली बाल्ने लगभग अन्तिम चरणमा पुगेको गुरुङ बताउँछन् । बिच्छयाँमा चाडो बिजुली बाल्न संस्थाले हेलिकप्टर मार्फत हुम्लाको जिबानाबाट सामान ढुवानी गरेको छ । जिबानासम्म यातायातको साधन मार्फत ढुवानी गरिएको थियो । बिच्छयाँ यातायातको पहुँचमा नभएकाले हेलिक्पटर मार्फत सामान ढुवानी गरिरहेको थियो ।

कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्थाले बिजुली बाल्ने काम सम्पन्न गरेसँगै बिच्छयाँका ४ ठाउँमा झोलुङ्गे पुल, खानेपानी योजना साथै विद्यालयमा चार कोठे शौचालय र खानेपानी व्यवस्थापन गर्ने योजना बनाएको छ । बिच्छयाँ बाजुराको पनि दुर्गम र पिछडिएको क्षेत्र भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि संस्था यो परियोजना लिएर त्यहाँ पुगेको हो ।

बिच्छयाँबारे सञ्चारमाध्यमबाट जानकारी पाए लगत्तै यहाँ पुगेको प्राविधिक निर्देशक डा. नारायण गुरुङ बताउँछन् । योभन्दा पहिला गौमुल गाउँपालिकामा बिजुली बालेको यो संस्थाले अहिले त्यहाँ झोलुङ्गे पुल र खानेपानी योजना निर्माण गरेको छ । संस्थाले नेपालका विकट ठाउँमा पुगेर काम गरिरहेको गुरुङ बताउँछन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना मार्फत फिनल्यान्ड सरकार र युरोपियन युनियन, गाउँपालिका र स्थानीयको श्रमदानमा चार वर्ष पहिला बिजुली बाल्ने प्रक्रिया अगाडि बढाएको थियो । दुई वर्षपछि एकाएक ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले काम गर्न नसक्ने बताएपछि बिच्छयाँवासीको बिजुली बाल्ने सपना अधुरै थियो ।

बिच्छयाँ खोला लघु जलविद्युत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धर्मबहादुर रोकायाका भनाइमा चारवर्ष पहिला बिजुली बाल्न हौसिएका स्थानीय बासिन्दा एकाएक निराश बनेका थिए । अब कादुरीले विद्युतीकरणको काम अगाडि बढाएसँगै उनीहरूको निरासा आशामा बदलिएको छ । स्थानीयवासी निकै हौसिएका छन् ।

बिच्छयाँ साविकको एउटा गाविस हो । अहिले यो हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ पर्छ । बिच्छयाँका सबै बासिन्दाको पहिलो प्राथमिकता अहिले पनि बिजुली बाल्ने थियो त्यो पुरा भएको छ । यो ठाउँ पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिनभन्दा बढी हिँड्नुपर्छ । वर्षौंदेखि यहाँका बासिन्दा झरोको सहारामा उज्यालो बाल्दै आएका थिए । बिच्छयाँ जिल्लामा सडक यातायातको पहुँच नपुगेको साविकको एक मात्र गाविस हो ।

यो ठाउँमा राष्ट्रिय प्रसारण लाइन पुग्ने कुनै सम्भावना थिएन । संस्थाले बिजुली बाल्न सहयोग गरेपछि स्थानीयका सपना पूरा हुन लागेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार