आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ७ हजार ८ सय ९४ किशोरीहरुलाई एचपिभी खोप लगाइदैँ

बाजुरामा ७ हजार ८ सय ९४ किशोरीहरुलाई एचपिभी खोप लगाइदैँ

  • शनिबार, माघ १२, २०८१
बाजुरामा ७ हजार ८ सय ९४ किशोरीहरुलाई एचपिभी खोप लगाइदैँ

बाजुरा—महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भीे खोप बाजुराका ७ हजार बढी किशोरीहरुलाई लगाइने भएको छ । शनिवार स्वास्थ्य कार्यालय बाजुराले जिल्ला खोप समन्वय समिती र सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम गर्दै जिल्लाभर ७ हजार ८ सय ९४ जना किशोरीहरुलाई एच.पि.भीे खोप लगाइने जनाएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा यहीँ माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एच.पि.भीे खोप अभियानमा विद्यालय जाने ७ हजार ८ सय ६० र विद्यालय नजाने ३४ किशोरीहरुलाई खोप लगाइने भएको छ ।

जसमा कक्षा ६ का १ हजार ६ सय ३८, कक्षा ७ देखि १० सम्मका ६ हजार २ सय २२ र विद्यालय नजाने १० बर्ष उमेरका ५ जना तथा ११ देखि १४ बर्षसम्मका २९ जना किशोरीहरुलाई खोप लगाइदै छ ।

त्यस्तै जिल्लाका ९ वटै स्थानीय तहका १ सय १८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने भएको छ भने खोप अभियानमा २ सय १० स्वास्थ्यकर्मी र ४ सय १८ स्वयमसेवक खटिने भएका छन् । देशभर एच.पि.भीे खोप अभियान यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुदैँछ ।

त्यसै गरी खोप अभियान त्रिवेणी, बडीमालिका, गौमुल, बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक र जगन्नाथमा माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ भने खप्तड छेडेदहमा माघ २२ देखि २६ गतेसम्म र हिमालीमा माघ २७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

एच.पि.भीे खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख लालबहादुर खड्काले एच.पि.भीे खोप अभियानमा अन्य जिल्लामा ९५ प्रतिशत लक्ष्य लिइएपनि बाजुरामा भने १०० प्रतिशत नै पुगाउने लक्ष्य रहेको भन्दै यो अभियान अर्को बर्षदेखि भने नियमित खोप कार्यक्रम हुने जानकारी गराएका छन् ।
त्यस्तै खोप अभियानभर स्वास्थ्य संस्थाले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुलाई विद्यालयमा, विद्यालय नजाने १० देखि १४ बर्षसम्मका किशोरीहरु र छुट भएका छात्राहरुलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबानट एच.पि.भीे खोप दिने जनाएको छ । त्यसै गरी विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने महिनामा यो खोप दिने व्यवस्था गरिने भएको छ ।

अभिमुखीकरण कार्यक्रममा युनिसेफ स्वास्थ्य निर्देशनालयकी सीता सुनारले खोपको बारेमा र एच.पि.भीे खोप अभियानमा खोप लगाइ सकेपछि देखिने प्रभाव (ए.ई.एफ.आई) को कारण र व्यवस्थापनका उपायबारे जिल्ला अस्पतालमा कार्यरत डाक्टर प्रकाश बहादुर बुढाले प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले एच.पि.भीे खोप अभियानभर प्रचारप्रसार तथा सूचना प्रवाहमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भन्दै जिल्लाका सबै गाउँसम्म स्वास्थ्य सञ्जाल रहेकाले यो खोपबाट कोही पनि नछुट्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाले एच.पि.भी खोप अभियानलाई सफल पार्न आफ्‌नो स्रोतले भ्याएसम्म लाग्ने बताए ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले उक्त अभियानमा जिल्लाका सम्पूर्ण पालिकामा कम्तीमा ९५ प्रतिशत खोप अभियान पुगाउने लक्ष्य सहित हस्ताक्षर गर्दै प्रतिवद्धता व्यक्त गरेका छन् ।

No description available.

जिल्ला समन्वय समिति तथा खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षामा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, स्वास्थ्य कार्यालय निमित्त प्रमुख लालबहादुर खडका, उद्योग वाणिज्य संघ अध्यक्ष देवबहादुर रोकाया, सशस्त्र प्रहरी बल बाजुराका डिएसपी श्याम रावत, विभिन्न सरकारी तथा गैरसरकारी कर्यालयका प्रमुख तथा प्रतिनिधि लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय बाजुराका तथ्यांक अधिकृत रुगम थापाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार