
बाजुरा– दसैंको रौनकसँगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान भएको छ भने गाउँमा चहलपहल बढेको छ । बजारमा रहेका ब्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता सबै घरतिर गएपछि मार्तडी बजार सुनसान जस्तै बनेको हो । बाजुराका गाउँबस्तीमा चहलपहल बढ्दो छ । गाउँगाउँमा राजनैतिक दल स्थानिय तहका जनप्रतिनिधी, स्थानीय पार्टी कमिटीले दसैंको शुभकामना आदान-प्रदान संगै बाल क्लव र युवा क्लवहरुले बिभिन्न कार्यक्रमहरुलाई तीव्रता दिएका छन् ।
यहाँकाे बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो । गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन् ।” त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन् ।
विगतको तुलनामा यसपाली भने अलि ढिलो गरी बजार सुनसान भएको नागरिक समाजका अगुवा मदन विकले बताए । यतिबेला सदरमुकाम मार्तडी बजारमा रैथाने, पुर्ख्यौली घर भएकाहरु बाहेक अन्य मान्छे बजारमा भेटिन छोडेको विकको भनाई रहेको छ । उनले यहाँका उद्योगी, व्यापारी, कर्मचारी, राजनैतिक दलका नेता, कार्यकर्ता यसपालीको दसैं मान्न आ-आफ्नो घर हिडेपछि सदरमुकाम सुनसान देखिएको सुनाए ।दसैं मनाउन अध्ययनको क्रममा धनगढी नेपालगन्ज र काठमाडौं लगायतका शहरमा गएका धेरैजसो विद्यार्थीहरु पनि घर फर्किएका छन् । त्यसै गरी रोजगारीको सिलसिलामा भारतका बिभिन्न शहरमा गएका बाजुराली पनि दशै मनाउन र कार्तिकको खेती उकेर्न तथा लगाउने गरि घर पुगिसेका देखीन्छन् ।
रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि ग्रामीण वस्तीमा भने निकै चहलपहल छाएको काेल्टीका स्थानिय ब्यापारीहरुले बताए । कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ ।
असोज १८ गतेदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको मार्तडी बजारमा ब्यापार गर्दै आएका स्थानिय ब्यापारीहरुले बताए । सबै मान्छे आ-आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ । बजारमा व्यापार आधाभन्दा बढी घटेको व्यवसायीहरुले बताउने गरेका छन, बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको ब्यापारीहरुको भनाई रहेको छ ।
सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको छ । अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफ्ना गाउँघर फर्किन थालेका हुन् । स्थानिय बजार क्षेत्रका बजारमा दशैँको किनमेल गर्नेको भीड बढेको व्यवसायी बताउँछन् । दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनक समेत बढ्दै गएको छ ।


