• होमपेज
  • समाचार
  • सहिद दिवसमा अर्को साल सार्वजनिक बिदा, भोलि छैन

सहिद दिवसमा अर्को साल सार्वजनिक बिदा, भोलि छैन

  • सोमवार, माघ १५, २०८०
सहिद दिवसमा अर्को साल सार्वजनिक बिदा, भोलि छैन

काठमाडौं — सरकारले यो वर्ष पनि सहिद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ ।सहिद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधेपछि गृह मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको हो ।

विगतका वर्षमा शहीद दिवसमा सार्वजनिक बिदा नदिने गरिए पनि सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसकेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराइले सहिद दिवसको दिन मंगलबार सरकारले बिदा नदिएको प्रस्ट पारेका छन्। २०८१को सहिद दिवसमा भने बिदा दिने निर्णय भएको उनले बताए।

सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको छ। अघिल्लो महिना बसेको मन्त्रिपरिषद् बैठकले २०८१सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो सँगै सरकारले वि।स।२०८१मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ।

२०७७ मा राजपत्रमा प्रकाशित गरिएको सूचनामा २०७८सालको लागि घोषणा गरिएको सार्वजनिक बिदाको सूचिमा सहिद दिवस र रामनवमीको दिन बिदा दिने परम्परा हटाइएको थियो।

सरकारले वर्षेपिच्छे सार्वजनिक बिदाको संख्या बढाउने गरेको छ। २०७९मा थप ७ दिन सार्वजनिक बिदा दिइएको थियो। पोहर साल देखि दसैँमा एक दिन थप गरिएको थियो। यसअघि दसैँ बिदा पाँच दिन हुने गर्थ्यो। तर पोहर साल ६ दिन बिदा दिइएको थियो। गत साल दसैँको फूलपातीदेखि टीकाको पर्सिपल्ट द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिइएको थियो। यसै गरी २०७९मा तिहार बिदा पनि एक दिन थप गरिएको थियो। राजपत्रमा सूचना निकालेरै सरकारले पोहर साल तिहार बिदा ५ दिन दिएको थियो।

गत सालदेखि सरकारले क्रिसमस, धान्य पूर्णिमा, मोहम्मद जयन्ती, तमु ल्होसार, सोनाम ल्होसारमा थप बिदा दिएको थियो। यसै गरी सरकारले मुस्लिम समुदायको पर्वमा पनि बिदा दिएको थियो। बुद्ध जयन्तीका दिन सबैका लागि बिदा हुने परम्परा छ। यसबाहेक अरू दुई दिन सम्बन्धित धर्मावलम्बीका लागि मात्र भनेर बिदा दिने निर्णय गरिएको राजपत्रमा सूचना निकालिएको थियो। सार्वजनिक बिदा दिन मन्त्रिपरिषद्बाट निर्णय गराउनु पर्छ। यसै गरी पोहर साल मुस्लिम समुदायका लागि ३ दिन बिदा थप गरिएको थियो। २०७९मा १ दिन इद, १ दिन बकर इद तथा १ दिन मुस्लिम धर्मका प्रवर्द्धक मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरिएको थियो। यसै गरी सरकारले १ दिन सोनाम ल्होसार तथा १ दिन ग्याल्पो ल्होसारको दिन बिदा दिन निर्णय गरेको थियो। यसै गरी २०७९ देखि सरकारले धन्य पूर्णिमामा पनि १ दिन सार्वजनिक बिदा दिन सुरु गरेको थियो।

तत्कालीन केपी ओली नेतृत्व सरकारले २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरी २०७८ मा दिने बिदाको सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थिएन। २०७८मा शेरबहादुर देउवा नेतृत्व सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराइ भदौ १४ गते कृष्ण जन्माष्टमीको बिदा दिएको थियो।

चर्चामा

सम्बन्धित समाचार