शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ७
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँने

  • सोमवार, पुस २, २०८०
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँने

कञ्चनपुर— कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै छन्। उक्त निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भएको बताए।

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख वासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्त्वपूर्ण वासस्थान छ। निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गस्ती गर्ने गरेका छन्।

‘चितवनबाट दुई हात्ती थपिएपछि काम गर्न सहज हुन्छ’, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने। निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्ती गरेर वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति मात्र परिचालित छन्।

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुबेला गरी तीन स्थानमा हात्तीसार छन्। विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हाल बाघको गणना भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार