• होमपेज
  • प्रदेश ७
  • दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

  • बिहिबार, मंसिर ७, २०८०
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको बताए। केसीका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि ५ अर्ब ७५ करोड लागत अनुमान गरिएको छ। सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्न लागेको हो। ‘सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ’ इन्ञ्जिनीयर केसीले भने, ‘सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण गरि सक्ने डिपिआरमा उल्लेख गरिएको छ। बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ।’

विसं २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो। त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए औद्यौगिक विकासको सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले बताए। ‘यो नाका चालु भए नेपाल भारतबीच सहज आवागमन हुने र लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ।’ उनले भने, ‘यहाँ औद्योगिक र कृषि क्षेत्रको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँनेछ। दोधारा र चाँदनीमा सुख्खा बन्दरगाह स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको छ। बन्दरगाह सञ्चालनमा आए, हामीले त्यहाँबाट आयात मात्रै नभई निर्यात पनि गर्ने यसको पूर्वतयारीमा लाग्न जरुरी रहेको उनले बताए।

सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको छ। सुख्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ। ‘दस÷पन्ध्र दिनभित्रै प्रतिवेदन मन्त्रालयमा पेस हुन्छ’ उनले भने, ‘मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि निमार्णकार्य अघि बढ्नेछ।’ बन्दरगाह क्षेत्रमा १ हजार ९८९ रुख कटान गर्नुपर्ने हुन्छ। यस पटक सरकारले सुख्खा बन्दरगाह निर्माण गर्नेमा यहाँका व्यवसायी आशावादी छन्। कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुख्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने बताए। –रासस

चर्चामा

सम्बन्धित समाचार