
काठमाडौं —जघन्य अपराधका दोषीलाई दिइएको कैद माफीको निर्णय खारेज गर्न माग गर्दै पीडित भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा भोलि (मंगलबार) देखि नियमित सुनुवाइ हुने भएको छ ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासले आधा दिन सुनुवाइ गरेर हेर्न नमिल्ने भन्दै कात्तिक १४ गतेका लागि पेसी तोकेको हो । सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले गत असोज १९ मा प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको शीघ्र टुंगो लगाउन आदेश दिएको थियो। तर असोज २५ मा प्रधानन्यायाधीश श्रेष्ठसहितको इजलासले यस्तै प्रकृतिको मुद्दामा पहिले आदेश र फैसला गरिसकेकाले हेर्न नमिलेको भन्दै दसैं विदालगत्तै पेसी तोकी निरन्तर सुनुवाइ गर्ने आदेश भएको थियो ।
जघन्य अपराध गरेकालाई राजनीतिक संलग्नताका आधारमा कैदमाफी दिने प्रवृत्तिले न्याय प्रणाली नै नरहने भन्दै राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाजलगायतले रिगल भनिने योगराज ढकालको कैद मिनाहाको विरोध गरेका थिए ।
साथै कैदमाफीको निर्णय खारेज गर्नुपर्ने भन्दै आइतबारदेखि पुन: अनसन सुरु गरेकी भारती शेर्पा आज बेहोस भएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएकी छन् । आफ्ना पूर्वपति चेतन मानन्धरको हत्यारा बाँकेका रिगलले सरकारबाट पाएको कैदमाफीको विरोधमा उनी माइतीघर मण्डलमा अनसनमा बसेकी थिइन् ।
रिगलले २०७२ साल असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


