आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप, खेल्नलाई तयार रहेको प्रतिक्रिया

एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप, खेल्नलाई तयार रहेको प्रतिक्रिया

  • सोमवार, भदौ ११, २०८०
एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप, खेल्नलाई तयार रहेको प्रतिक्रिया

काठमाडौं — क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न आज पाकिस्तानमा प्रस्थान गरेका छन् ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पाकिस्तान उडेका हुन् । उनलाई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । त्यस क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एसिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको जनाए ।

उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको बताए । उनले सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गरे ।

‘पाकिस्तान, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्वपूर्ण रुपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषय वस्तुहरुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन,’ उनले भने, ‘आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ ।’

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको जनाए । उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए । उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको उल्लेख गरे।

‘टिमले अहिले राम्रो पर्फर्मेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ, सन्दीपले भने, ‘यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’

लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने जनाए । नेपालले एसिया कप अन्तर्गत अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

चर्चामा

सम्बन्धित समाचार