सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्‍यो

दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्‍यो

  • बिहिबार, साउन ३२, २०८०
दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्‍यो

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हटाएको छ ।

नेपालमा हुने हवाई दुर्घटना मौसम खराबीका कारण हुने गरेको भन्दै प्राधिकरणले मनसुन अवधिभर बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उडान समय तोकेको थियो । १२ बजेपछि मौसम सफा रहे पनि उडान हुन नसक्दा कर्णालीमा बिरामी र सुत्केरीको ज्यान जान थालेको भन्दै विरोध भएको थियो ।

प्राधिकरणले यो नियम उद्धारमा लागु नहुने भने पनि उडान हुन नसक्दा पछिल्लो दुई हप्तामा मात्रै चार जनाले ज्यान गुमाउनु परेको थियो । प्राधिकरणको आज बसेको बैठकले अतिरिक्त समय अर्थात् १२ बजेपछि उडान गर्नु परे प्रमुख चालकले उडानअघि नै गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको सुनिश्चितता गराएर उडान गर्न पाउने नियम लागु गरेको छ ।

त्यस्तै दुर्गममा उडान गर्ने वायु सेवा कम्पनीले नेपालगञ्जमा हवाई अपरेसन अफिस स्थापना गरेर अपरेसनका सम्पूर्ण कार्य गर्नुपर्ने नियमसमेत लागू गरेको छ । पहाडी र दुर्गम क्षेत्रका विमानस्थल सञ्चालन समय पुनरावलोकन गर्न प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार