शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • खेलकुद
  • पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले हार्‍यो नेपाल

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले हार्‍यो नेपाल

  • शुक्रबार, असार २९, २०८०
पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले हार्‍यो नेपाल

काठमाडौँ — एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । पाकिस्तानको जितमा मुहम्मद तैयब ताहिरले ५१ रनको योगदान गरे । कमरान घलमले ३१ रनको योगदान गरे । सइम अयुबले २४ रन बनाए । नेपाली टोलीका बलर ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए ।

पाकिस्तानको पहिलो विकेट नेपाली बलर पवर्न सर्राफले लिएका थिए । उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान हसिबुल्लाहलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुल्सन झाद्वारा क्याच गराएका थिए । त्यतिबेला पाकिस्तान ३७ रन बनाएर खेल्दै थियो ।

पाकिस्तानको दोस्रो विकेट पनि पवन सर्राफले नै लिएका थिए । उनले पाकिस्तानका अर्का ओपनर ब्याट्सम्यान सइम अयुबलाई २४ रनको ब्यक्तिगत स्कोरमा परिवर्तित खेलाडी सन्दीप जोराद्वारा क्याच गराएका थिए । दोस्रो विकेट गुमाउँदा पाकिस्तानले ५० रन बनाएको थियो ।

पाकिस्तानको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । कुशलले पाकिस्तानी ब्याट्सम्यान ओमाइर बिन युसुफलाई ३६ रनको ब्यक्तिगत स्कोरमा अर्जुन साउदद्वारा क्याच गराए । उनले ४० बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । तेस्रो विकेट गुमाउँदा पाकिस्तानले २२.४ ओभरमा एक सय १४ रन बनाएको थियो ।

पाकिस्तानको चौथो विकेट ललित राजवंशीले लिएका थिए । ललितले मुहम्मद तैयब ताहिरलाई ५१ रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । पाकिस्तानको पाँचौं विकेट ललित राजवंशीले लिएका थिए । उनले पाकिस्तानी टोलीका कप्तान मुहम्मद हारिसलाई नौ रनमा पेभेलियन फर्काए ।

पाँचौं विकेट गुमाउँदा पाकिस्तानले ३०.३ ओभरमा एकसय ६६ रन बनाएको थियो । पाकिस्तानको छैटौं विकेट पनि ललित राजवंशीले नै लिएका थिए । उनले कमरान घलमलाई ३१ रनमा पेभेलियन फर्काएका थिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका थिए । नवौं नम्बरमा क्रिज समाल्न आएका सोमपालले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए । ललित राजवंशी एक रनमा अविजित रहे ।

पाकिस्तानका बलर शहनवाज दहानीले पाँच विकेट लिए । मुहम्मद वसिमले चार विकेट लिए । मुबासिर खानले एक विकेट हात पारे । नेपालले अतिरिक्त रुपमा १२ रन पाएको थियो । इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले आफ्नो ‘ए’ टोलीलाई सहभागी गराएको छ ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनी एक रन बनाउँदै आउट भए । उनको विकेट सहनवाज दहानीले लिएका थिए । भुर्तेल आउट हुँदा नेपालको स्कोर १४ रन थियो ।

यसैगरी दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेख १२ रन बनाएर पेभेलियन फर्किएका थिए । आसिफ शेख आउट हुँदा नेपालको स्कोर १९ रन थियो । आसिफको विकेट पनि सहनवाज दहानीले नै लिएका थिए ।

तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहितकुमार पौडेल आउट भएका थिए । उनी चार रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनको विकेट मुहम्मद वसिमले लिएका थिए । रोहित आउट हुँदा नेपालले २४ रन बनाएको थियो ।

यसैगरी चौथो विकेटका रुपमा भीम सार्की आउट भएका थिए । उनले खातासम्म खोल्न सकेनन् । उनको विकेट पनि मुहम्मद वसिमले लिए । उनी मुहमम्मद वसिमको बलमा बोल्ड भएका थिए । भीम आउट हुँदा नेपालले ३७ रन बनाएको थियो ।

पाँचौं विकेटका रुपमा अर्जुन साउद १७ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अर्जुनले २० बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनको विकेट सहनवाज दहानीले लिएका थिए । अर्जुन आउट हुँदा नेपालको स्कोर ३७ रन थियो ।

छैटौंं विकेटका रुपमा पवन सर्राफ आउट भएका थिए । उनी चार बलको सामना गरी एक रन बनाउँदै आउट भएका हुन् । उनको विकेट सहनवाज दहानीले लिएका थिए । उनी आउट हुँदा नेपालको कूल स्कोर ३९ रन थियो ।

सातौं विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भएका थिए । उनी १७ रन बनाएर पेभेलियन फर्किएका थिए । उनले १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । उनको विकेट मुहम्मद वसिमले लिएका हुन् । उनी आउट हुँदा नेपालको कूल स्कोर ६७ रन थियो ।

यसैगरी आठौं विकेटका रुपमा नेपालका गुल्सन झा १३ रन बनाउँदै आउट भएका थिए । उनले १९ बलमा एक चौका पनि हिर्काएका थिए । गुल्सनको विकेट मुहम्मद वसिमले लिएका थिए । गुल्सन आउट हुँदा नेपाली टोलीले १५.४ ओभरमा ७२ रन बनाएको थियो ।

नवौं विकेटका रुपमा नेपालका प्रतिस जीसी आउट भएका थिए । उनले उत्कृष्ट ब्याटिङ गर्दै २६ रन बनाएका थिए । उनले २४ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे । उनको विकेट मुबासिर खानले लिएका थिए । उनी आउट हुँदा नेपालले एक सय ३० रन बनाएको थियो ।

कुनै समय नेपालले केवल ७२ रनमा आठ विकेट गुमाइसकेको थियो । त्यतिबेला नेपाल ५० ओभरको खेलमा हालसम्मकै सबैभन्दा कम योगफलमा समेटिने सम्भावना बढेको थियो । त्यसपछि प्रतिश र सोमपालले नेपाललाई त्यो सम्भावित खतराबाट जोगाएका थिए ।

प्रतिश आउट भएपछि सोमपाल र ललित राजवंशीले अन्तिम विकेटका लागि कीर्तिमानी ४९ रनको साझेदारी गरेका थिए । यसअघि ५० ओभरको क्रिकेटमा अन्तिम विकेटका लागि करण केसी र सन्दीप लामिछानेले ३२ रनको साझेदारी गरेका थिए ।

सन्दीप र करणले उक्त साझेदारी सन् २०२३ को मार्च २ तारिखमा दुबईमा भएको यूएईविरुद्घको खेलमा गरेका थिए । लिग टुअन्तर्गतको उक्त खेलमा नेपाली टोली ६८ रनले पराजित भएको थियो ।

जुलाई २३ तारिखसम्म चल्ने एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा भने श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ को दुई खेल भएका थिए । पहिलो दिन भएको खेलमा श्रीलंकाले बंगलादेश र अफगानिस्तानले ओमानलाई हराएका थिए । इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो ।

नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले खेल्ने अवसर पाएको थिएन ।

इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले हालसम्म दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक एउटै प्रतिद्वन्द्वी हङ्कङलाई हराएको थियो । नेपालले यो प्रतियोगितालाई आगामी एसिया कपको तयारीका रूपमा लिएको छ ।

आगामी एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदै छ । टेस्ट राष्ट्रहरूले पनि एसिया कपलाई यसै वर्ष हुने एक दिवसीय विश्वकपको तयारीका रूपमा लिएका छन् । एकदिवसीय विश्वकप भारतमा आयोजना हुँदैछ ।

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ ।

समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

एसीसी इमर्जिङ टिम एसिया कपको यो पाँचौँ संस्करण हो । नेपाल एसीसी प्रिमियर कपको विजेताका रूपमा एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएको हो । एसीसी प्रिमियर कपको अङ्क तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली एसीसी इमर्जिङ टिम एसिया कपमा पुग्ने प्रावधान छ ।

घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपबाट नेपालका अतिरिक्त यूएई र ओमान पनि एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएका थिए ।

नेपाली टोलीले एकदिवसीय खेलमा बनाएको सबैभन्दा कम योगफल भने एक सय तीन रन हो । सन् २०२२ को मार्च २१ तारिखमा दुबईमा खेलिएको वल्र्ड कप लिग टुअन्तर्गतको यूएईविरुद्घको खेलमा नेपाली टोली एक सय तीन रनमा अलआउट भएको थियो । त्यतिबेला दुई सय दुई रनको लक्ष्य पछ्याएको नेपाली टोली ३५.१ ओभरमै समेटिएको थियो ।

त्यसअघि सन् २०१९ को जनवरी २५ तारिखमा दुबईमै खेलिएको यूएईविरुद्घको खेलमा नेपाली टोली एक सय १३ रनमा अलआउट भएको थियो । त्यतिबेला नेपाली ब्याट्सम्यानहरु ३३.५ ओभरसम्म क्रिजमा टिकेका थिए । यूएईले ३२.१ ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

यसैगरी सन् २०२२ को डिसेम्बर ८ तारिखमा वल्र्ड कप लिग टुअन्तर्गतको स्कटल्यान्डविरुद्घको खेलमा नेपाली टोली ३५.३ ओभरमा एक सय १९ रन बनाउँदै अलआउट भएको थियो । स्कटल्यान्डले १७ ओभरमा दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार