सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीको नीति तथा कार्यक्रम : महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने

त्रिवेणीको नीति तथा कार्यक्रम : महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने

  • आइतवार, असार १०, २०८०
त्रिवेणीको नीति तथा कार्यक्रम : महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने

बाजुरा– त्रिवेणी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट आउने एक दिन पहिला नगर सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । पालिकाले यो आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

आत्मनिर्भर जनता त्रिवेणीको पहिचान भएकोले प्रत्येक परिवारलाई उत्पादनसँग जोड्ने नीति लिएको छ । बालबालिकालाई गुणस्तरीय शिक्षा, परिवारलाई उत्पादनमा आधारिक काम र अवसरमा ध्यान दिने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।
नगर सभामा नगर प्रमुख कर्णबहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा किसानको वारीमै प्राविधिक पठाउने र महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति राखेको छ । साविक कैलाशमाडौं र छतारा गाविस क्षेत्रलाई समेट्ने गरि कृषि र पशुसेवा शाखा विस्तार गर्ने र पशु चौपायाका गोठ छाना र किसानको बारीमा प्राविधिक पुर्याउने लक्ष्य लिएको छ ।

कृषि खेती नै पहिलो आश्रीत विकल्प भएपछि त्यही पेशालाई आधुनिक र उत्पादनमुखि बनाउने लक्ष्य अनुसार नगरले नीति लिएको उपप्रमुख कमला न्यौपानेले बताएकी छन् । त्रिवेणीले पर्यटन प्रवद्र्धन र साँस्कृतिक सभ्यताको संरक्षणलाई पनि प्रामिकतामा राखेको छ । बडीमालिका क्षेत्रको विकास पहिलो प्राथमिकता दिएको छ ।

बडीमालिका क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्ने, बडीमालिका जोड्न केबल कारको संभाव्यता अध्ययन गर्ने, नाटेश्वरी र बडीमालिकामा संरचना विकासमा जोड दिने र आन्तरिक पर्यटन विकासलाई जोड दिइ त्रिवेणीको प्रमुख आम्दानीको श्रोत नै पर्यटन विकासलाई बनाउने लक्ष्य लिएको छ ।

नगरले सडक सञ्जाल नजोडिएको ५ नम्बर किम्नीमा यसै वर्ष बाटो निर्माण कार्य सम्पन्न गर्ने र पालिकाका सबै बस्तीमा सहज यातायात सेवा सञ्चालन हुने अवस्थाका सडक मर्मत तथा पुन निर्माण गर्ने नीति लिएको छ । भौतिक पूर्वाधार विकासका योजनालाई दिर्घकालिन विकास र सुविधासँग जोडेर निर्माण गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले बताएका छन् ।

उपप्रमुखसँग महिला उद्यम कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा समेटेको छ । महिलालाई नै उत्पादन, आयआर्जन र सीप आर्जनसँग जोड्न पर्ने अवस्था आएकोले नीतिमै सो कुरा उल्लेख गरिएको उपप्रमुख कमला न्यौपानेले बताएकी छन् । न्यौपानेले नीति तथा कार्यक्रममै महिला लक्षित र महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर कार्यक्रम ल्याएको दाबी गरेकी छन् ।

नगर क्षेत्र भित्रका अपागं, असहाय, अशक्त र अति विपन्न परिवारलाई स्वास्थ्य उपचारका लागि पालिकाले नै जिम्मा लिने नीति लिएको छ । एसइइ परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई मेयर छात्रवृत्ति र पुरस्कार दिने नीति लिएको छ । भने विद्यालयको गुणस्तर सुधारका लागि विद्यार्थी मेयर भेटघाट कार्यक्रम राखेको छ ।

स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्य कर्मी नियमित उपलब्ध हुने, सत प्रतिशत खोप र संस्थागत सुत्केरी गराउने ग्यारेन्टी गराउने कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ । पालिकाले आफ्नो इतिहासिक र साँस्कृतिक परिचय खुल्ने गरि पुस्तक प्रकाशन गर्ने, पालिकाको विकास निर्माणको अवस्था झल्किने गरि दृश्य र श्रव्य सामाग्री तयार पार्ने नीतिगत व्यवस्था गरेको छ ।

भाषा, कला, साहित्य र अन्य लेखन विधामा रहेका व्यक्तिहरुलाई सम्मान र संरक्षण गर्ने, स्वास्थ्य स्वयम सेविकालाई बिशेष सम्मान कार्यक्रम ल्याउने नीति लिएको छ । खेलकुद सम्बन्धी पञ्च वर्षिय योजना निर्माण गरि खेल क्षेत्रका लागि बिशेष बजेट व्यवस्थान गर्ने नीति लिएको बताएको छ । प्रत्येक विद्यालयमा खेल शिक्षक राख्ने, सहकारीलाई व्यवस्थीत गर्ने र कृषि हाट बजार सञ्चालन गर्ने नीतिमा उल्लेख गरेको छ ।

नगर सभा हलमा आयोजित कार्यक्रममा नगर सभा सबै सदस्यहरुले सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गरेका हुन् । नगर सभा सदस्यहरुबाटै थप सुझाव र धारणा मागिएको थियो । सुझाव दिनेहरुले अनुदानका कार्यक्रम कटौती गरेर ऋण सहयोग र काम गरेका व्यक्तिहरुलाई प्रोत्साहन सुविधा दिनु पर्ने सुझाव दिएका छन् ।

नगर सभाका सदस्यहरुले अघिल्लो वर्षको तुलनामा धेरै राम्रो र सबैलाई समेट्ने गरि नीति तथा कार्यक्रम आएको बताएका छन् । युवा रोजगारलाई स्थान दिने गरि नगर स्तरीय रोजगार नीति बनाउने र सोही आधारमा रोजगारका गतिविधी सुरु गर्ने नीति पालिकाले लिएको छ ।

त्रिवेणी नगरपालिका राष्ट्रिय राजमार्गसँग नजोडिएको पालिका हो । बुढीगंगा नदीमा पुल निर्माण नहुँदा साँफे मार्तडी सडकसँग जोडिएको छैन् । पालिका जोड्ने पुलको डिपीआर सहीत निर्माण प्रक्रिया सुरु भएपनि अझै निर्माणको काम अघि बढेको छैन् । जुन समस्या त्रिवेणीका स्थानीयले बर्षेनी ६ महिनासम्म भोग्न बाध्य छन् ।

चर्चामा

सम्बन्धित समाचार