
बाजुरा–बाजुरामा लागूऔषध दुर्व्यसनी नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिँदै जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । शुक्रबार बिहान जिल्लाको बडिमालिका नगरपालिका–९ का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा पुगेर गाँजाका बोटहरु फडानी गरेको हो।
प्रहरी टोलीले सार्वजनिक तथा खुला क्षेत्रका विभिन्न स्थानमा उम्रिएका गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको जनाएको छ । अवैध लागूऔषध उत्पादन तथा यसको प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । यसै अभियानअन्तर्गत गाँजा खेती तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको हो । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभर लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध विभिन्न सचेतनामूलक गतिविधिहरु सञ्चालन गरिदैँ आएको उनले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराले लागूऔषध उत्पादन, ओसारपसार तथा दुर्व्यसन नियन्त्रणमा समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

