शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • शिक्षा
  • ‘हाम्रो शिक्षा प्रणालीले नै विद्यार्थीमा निराशा ल्यायो’

‘हाम्रो शिक्षा प्रणालीले नै विद्यार्थीमा निराशा ल्यायो’

  • शुक्रबार, फाल्गुन २६, २०७९
‘हाम्रो शिक्षा प्रणालीले नै विद्यार्थीमा निराशा ल्यायो’

विश्वविद्यालयमा विद्यार्थी संख्या घट्नुका विभिन्न कारण छन् । पहिलो; अहिलेका विद्यार्थी पूरै समय विद्यार्थी मात्रै नभएर श्रमसँग जोडिने मानसिकताका छन् । त्यो अवसर यहाँ भएन । त्यसको उदाहरण त्रिविको दिउँसो सञ्चालन हुने शैक्षिक कार्यक्रम हो ।

दिउँसोका कक्षामा हिजो विद्यार्थीको चाप अत्यधिक हुन्थ्यो । त्यो चाप विस्तारै घट्दै गएपछि केही कार्यक्रम बिहान अथवा साँझ बनाइयो । बिहान वा बेलुका कक्षा सञ्चालन हुन थालेपछि विद्यार्थीको संख्या फेरि थपियो । यसको मतलब हिजोका विद्यार्थी जस्तो आजका विद्यार्थी पूर्णरूपमा विद्यार्थी मात्रै भएर बस्न चाहँदैनन् भन्ने हो ।

हामीले पढेको विषय रोजगारी अथवा अन्य क्षेत्रमा उपयोग गर्न सक्दैनौं कि भन्ने आशंकामा छन् विद्यार्थी । स्नातकोत्तर तहका विद्यार्थीमा शिक्षा र रोजगारी जोडिने अवसर हुने विषयमा लाग्ने नभए अरू उपाय खोज्ने भन्ने किसिमको मनस्थिति छ । त्यसै कारण पढाइ निरन्तरता नदिने अथवा त्यसरी गर्न मिल्ने विषय खोज्न लागेका छन् भन्ने मैले बुझेको छु ।

स्नातक तहका केही शैक्षिक कार्यक्रमको पाठ्यक्रम मात्रै बजारसँग जोडिएका छन् । तर, विद्यार्थी रोजगारीमूलक शिक्षा खोजिरहेका छन् । आफूले खोजे जस्तो नभएपछि विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रममा आकर्षण घट्यो ।

सर्वसाधारण विद्यार्थीलाई वैदेशिक शिक्षा लिन जानको लागि अहिलेको विद्यार्थीलाई ‘पियर प्रेसर’ छ । कक्षा १२ को परीक्षा हुँदादेखि कन्सल्टेन्सीहरू विद्यार्थीको गेटमा पुग्छन् । यसरी वैदेशिक अध्ययनको अवसर, सफलताको विषयमा मात्रै कुरा गरेपछि विद्यार्थीलाई यहाँभन्दा विदेशमा पढ्दा भविष्य रहेछ भन्ने खालको सन्देश जाने नै भयो ।

त्यसले विद्यार्थीमा स्वदेशको शिक्षा प्रणालीप्रति नै नैराश्यता जगायो । अर्को दायाँ, बायाँ, अगाडि, पछाडि सबै घरको विदेश गएको छ, यहाँ बस्ने त बर्बाद नै हुन्छ भन्ने मानसिकता निर्माणमा बल पुग्यो । त्यस्तो मानसिक अवस्थामा विदेशका विश्वविद्यालयले पढ्दै कमाउने गर्ने अवसर दिने थाहा पाएपछि उनीहरूको रोजाइ उतै भयो । अभिभावकले खोजेको पनि त्यस्तै हो । सुरुमा एक तहको लगानी गर्न सक्ने आमाबुवाले त उतै पठाउने भए ।

अर्को पढाइमा यहीं राम्रो गरिरहेका तीक्ष्ण विद्यार्थी र जसलाई अभिभावकले पनि सँगै बसेर पढुन् भन्ने चाहन्छन् त्यस्ता विद्यार्थी पनि छन् । तर उनीहरूमा के नैराश्यता आयो भन्दा यहाँका ठूला विश्वविद्यालयहरूले न समयमा जाँच लिन्छन् न नतिजा दिन्छन् ।

सँगै पढेका साथी विदेश पुगेर पढाइ सक्छ यहाँ हाम्रो आधा पनि भएको हुँदैन । त्यो परिस्थितिले पनि विदेश जाने परिस्थिति बनेको देखिन्छ । अर्को कुरा हामीसँग विद्यार्थीको संख्या आफैं पनि कम भइरहेको छ । विद्यालय तहबाट आउने विद्यार्थी कम हुँदैछन् ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्यालाई रोक्न त सक्दैनौं तर कम गर्नका लागि मैले माथि भने जस्तो समस्याहरूको समाधान खोज्नुपर्ने हुन्छ । एउटा, शिक्षा रोजगारसँग जोडिनुपर्छ । श्रमबजारसँग जोडिएका विषयलाई शैक्षिक कार्यक्रममा जोडेर सञ्चालन गर्नुपर्छ र अर्को शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्नुपर्छ । शिक्षासँग प्रत्यक्ष जोडिएका सुधार गर्नुपर्ने विषय हुन्, यी ।

अर्को कुरा समाजसँग सम्बन्धित छ । बाहिर मात्रै भविष्य छैन, हामीकहाँ भएका विषय पढ्दा पनि भविष्य छ भनेर विद्यार्थी, अभिभावकलाई विश्वास गर्ने वातावरण हामीले निर्माण गर्नुपर्यो ।

जसरी कन्सल्टेन्सीहरूले वैदेशिक अध्ययनलाई ‘ब्राइट लाइट’ को रूपमा परिभाषित गरिरहेका छन् त्यो मात्रै सिंगो दुनियाँ हैन है भन्ने अवधारणाबाट हामीले काम गर्नुपर्छ । यसरी विद्यार्थीको चाहना, आवश्यकता र सामाजिक जिम्मेवारीलाई शिक्षा नीतिसँगै सामाजिक विकासका नीतिले पनि समेट्नुपर्छ ।

अर्को विश्वविद्यालयको पाठ्यक्रमहरूमा पनि भोलि जागिर कहाँ पाउने हो भन्ने सरोकारवालाको सर्वेक्षण अथवा उनीहरूको चासो बुझेर पाठ्यक्रम निर्माण गर्नुपर्छ । पाठ्यक्रम निर्माणसँगै विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई ती सरोकारवालाहरूसँग जोडिदिनुपर्छ । उनीहरूको काममा सहभागी गराएर, कुराकानी अथवा छलफल गराएर कसरी हुन्छ समाजसँग जोड्नुपर्छ । मेरो बुझाइमा विद्यार्थी रोक्ने उपाय यिनै हुन् ।

चर्चामा

सम्बन्धित समाचार