शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • फेसबुक सूचना पत्याएर फ्रान्स जान सक्कली कागजपत्र बुझाएपछि….

फेसबुक सूचना पत्याएर फ्रान्स जान सक्कली कागजपत्र बुझाएपछि….

  • बिहिबार, माघ ५, २०७९
फेसबुक सूचना पत्याएर फ्रान्स जान सक्कली कागजपत्र बुझाएपछि….

भारतीय सैनिकबाट निवृत्त ३५–४० वर्षका दुई जना (रमेश र रोशन–नाम परिवर्तन) ले सामाजिक सञ्जाल फेसबुकमा ‘रोजगारीका लागि फ्रान्स लैजाने’ भनिएको पोष्ट देख्छन्।

त्यहाँ पाउने काममा सेक्युरिटी गार्ड पनि देखिन्छ। सेनाबाट निवृत्त भएको केही समयमै देखेको सेक्युरिटी गार्डमा फ्रान्स लैजाने सूचनाले उनीहरुलाई प्रभावित बनाउँछ। सामाजिक सञ्जालमार्फत उनीहरु सूचना राख्ने व्यक्तिको सम्पर्कमा पुग्छन्।

अब उनीहरुको गफ ह्वाट्स एपमा हुन थाल्छ। सूचनाकर्ताले उनीहरुलाई सेक्युरिटी गार्डमा फ्रान्स लैजाने कुरामा विश्वस्त बनाउँछ। त्यसका लागि केही सक्कली कागजपत्र आवश्यक पर्ने बताउँछ। उनीहरु झट्टै ती व्यक्तिलाई विश्वास गर्छन्। सक्कली नागरिकता प्रमाणपत्र, पासपोर्टसहित बैंकको स्टेटमेन्ट, फोटो, बायोडाटा बुझाउँछन्।

काठमाडौंको कलंकीमा अन्दाजी २५ वर्षको युवकसँग रमेश र रोशनको भेट हुन्छ। ती युवक दुबैजनालाई काम हुनेमा विश्वस्त बनाई सबै कागजपत्र लिएर बिदा हुन्छन्।

तर त्यसपछि घटना उनीहरुले नसोचेको हुन थाल्छ।

फ्रान्स जाने सपना बोकेका यी व्यक्ति आफू ठगीमा परेको भन्दै प्रहरी कार्यालय धाउन थालेको हप्तौं भयो। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार फ्रान्स लगिदिन्छु भनेर सूचना पोष्ट गर्ने व्यक्ति दुबै जनाको बैंक खातामा रहेको रकम झिकेर गुमनाम भएको छ।

सक्कली काजगपत्रहरु पाएको व्यक्ति सुरुमा नेपाल टेलिकम पुगेर रमेशको सक्कली नागरिकता देखाउँदै आफ्नो मोवाइल हराएकाले नयाँ सिमकार्ड माग गर्छन्। सक्कली नागरिकता देखाएपछि टेलिकमले रमेशले लिइराखेको मोवाइलको सिमकार्ड बन्द गरेर नयाँ कार्ड दिइहाल्छन्।
अब उसले रमेशको बैंकमा मोवाइल बैंकिङको पासवर्ड भुलेको जानकारी गराएर ओटिपीमार्फत नयाँ पासवर्ड बनाउँछ। अनि बैंक खातामा पहुँच पुर्‍याउन सफल हुन्छ।

सो व्यक्तिले रमेशको खातामा जम्मा भएको ८ लाख रुपैयाँ विभिन्न खाताहरुमा पठाएको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट भेटियो। इसेवा र खल्ती एपको प्रयोग गरेर बैंक खातामा रहेको पैसा विभिन्न व्यक्तिहरुलाई पठाएको अनुसन्धानबाट देखिएको छ।

रोशनको मोवाइल बैंकिङ थिएन। सो व्यक्तिले रोशनलाई ह्वाट्स एपमा भन्छ–तपाईको लागि एउटा पत्र बन्दैछ त्यसका लागि मोवाइलको एसएमएस बक्समा एउटा नम्बर आउँछ त्यो मलाई पठाइहाल्नु। रोशन त्यसका लागि तयार हुन्छन्। आएको कोड तुरुन्तै पठाइहाल्छन्। ऊ कहिले कोडले काम गरेन भनेर कहिले सिस्टम इरर देखायो भनेर पटक–पटक कोड नम्बर पठाउन भन्छ। रोशन पठाइरहन्छन्। आफ्नो बैंक खातामा रहेको पैसा कनेक्ट आइपिएसबाट निकाल्नका लागि पटक–पटक ओटिपी पठाएको हेक्का रोशनलाई हुँदैन।

केही समयको अवधिमा रोशनको बैंकमा रहेको ६ लाख रुपैयाँ उसले विभिन्न खाताहरुमा पठाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

बैंक खातामा भएको सबै पैसा निकालिसकेपछि सो व्यक्ति रमेश र रोशनबाट सम्पर्कविहीन भयो। बैंकको पैसा आफैंले निकालेको र फ्रान्स लगिदिन्छु भन्ने व्यक्ति सम्पर्कविहीन बनेको मेसो पाएपछि बल्ल उनीहरु सम्पर्कमा आएको प्रहरीले बतायो।

नवलपुरको गैंडाकोट घर भएका अर्का एक युवक पनि यस्तै समस्या लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन्। फ्रान्स लैजान्छु भन्ने सूचनाको विश्वास गरेर आफ्ना सबै सक्कली कागजपत्र बुझाएका ती युवकको बैंक खाताबाट ८ लाख रुपैयाँ निकालिएको थियो।

‘नेपालमा बसेर केही गर्न नसकिने भैयो भनेर चिन्तित बनिरहँदा पाएको वैदेशिक रोजगारीको सूचनाले प्रभावमा पा¥यो। फ्रान्समा राम्रो काम पाउने विश्वास दिलाएपछि मागेअनुसारको कागजपत्र बुझाएँ,’ ती युवकले भने, ‘तर त्यो मान्छे त ठग पो रहेछ। बैंकमा भएको सबै पैसा निकालेर हराएको छ।’

उनले आफ्नो समस्या सबै जानकारी गराएपछि चितवन प्रहरीले अनुसन्धान गरेकाले आफू ढुक्क रहेको बताए।

‘जिल्ला फरक भएपनि यहाँको प्रहरीले मन लगाएर अनुसन्धान गरिरहेको छ, त्यसैले म ढुक्क छु, ,’ उनले भने, ‘आगामि दिनमा यस्ता घटना नहुन त अपराधीले छुट पाउन हुन्न।’

चितवन प्रहरीले विभिन्न देश लगिदिने प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको खोजी भइरहेको जनाएको छ। उजुरीको आधारमा अनुसन्धानअघि बढाएर ठगिएको रकम फिर्ता ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी विजयराज पंडितले बताए। प्रहरीले बैंक खाताबाट पैसा पठाइएका व्यक्तिहरुको सम्पर्कमा पुगेर सम्बन्धित व्यक्तिको रकम फिर्ता गराइरहेको छ।

विदेश लगिदिन्छु भन्दै बैंक खातासम्म पहुँच बनाएर ठगी गर्ने, अनलाइनमार्फत प्रलोभन देखाएर ठगी गर्ने गिरोह सकृय रहेको डिएसपी पंडितले बताए।

जिल्ला प्रहरी कार्यालयकाअनुसार आइफोन, सुन, डायमण्डजस्ता महँगा सामान सस्तोमा पाउने लोभमा परेर ठगिएका उजुरीहरु पनि धेरै आउने गरेका छन्। यस्तो समस्या धेरै महिलालाई पर्ने गरेको छ। महँगा सामान पाउने प्रलोभनमा विदेशमा रहेका पुरुषसँग सामाजिक सञ्जालमार्फत अन्तरंग सम्बन्ध हुने र परिबन्धमा परेर लाखौं रुपैयाँ दिन बाध्य भएका उजुरीहरु पनि जिल्ला प्रहरीमा छन्।

यस्ता केही घटनामा भारतीय नागरिकहरुको संलग्नता देखिएको छ। उनीहरुले नेपालका बैंकमा अस्थायी खाता खोलेर आर्थिक कारोबार गर्ने गरेको भेटिएको छ।

पछिल्ला दिनमा प्रहरीमा पर्ने उजुरीमध्ये अधिकांश सामाजिक सञ्जालसँग जोडिने गरेको छ। ‘अनलाइनमार्फत ठगिएँ भनेर धेरै उजुरी आइरहेको छ,’ डिएसपी पंडितले सेतोपाटीसँग भने, ‘फोटोमा राम्रो देखेर अर्डर गरिहाल्ने, पैसा बुझाएपछि सामान आइपुगेन भन्ने निवेदनहरु आइरहेका छन्। समाजिक सञ्जालमार्फत ठगी बढेकाले यसको प्रयोगमा सचेत बन्नुपर्ने देखिन्छ।’

नेपाल प्रहरीको साइबर ब्यूरोले पनि सूचना जारी गर्दै केही व्यक्ति तथा अपराधिक समूहले प्रविधिको दुरुपयोगगरी सामाजिक सञ्जाल, ह्वाट्स एप, भाइवर, इमोलगायतका एपमार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेजगरी प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढिरहेकाले त्यस्ता कुराको विश्वास नगर्न, प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार