सोमवार, माघ १६, २०७९
  • होमपेज
  • प्रदेश ३
  • कम्युनिस्ट, कांग्रेस जसले जिते पनि पानीकै दु:ख

कम्युनिस्ट, कांग्रेस जसले जिते पनि पानीकै दु:ख

  • बुधबार, कार्तिक १६, २०७९
कम्युनिस्ट, कांग्रेस जसले जिते पनि पानीकै दु:ख

काठमाडौं  – बिहानको पारिलो घाम ताप्दै कल्पना तोलांगे सडक किनारमा लुगा धोइरहेकी छन् ।

छेउमा छिमेकी सरिता तोलांगे तरकारी केलाउँदै कल्पनासँग गफिरहेकी छन् । उनीहरू बसिरहेको टुसाल युथ क्लबको आँगनैमुनि धारो छ । जहाँ एक दिन बिराएर पानी आउँछ । हिजो पानी आएकाले आज धारा सुख्खा देखिएको छ ।

टुसालको डाँडो ठाडो परेर बनेका केही घरका साँघुरा पेटीमा महिलाहरू कल्पनाले जस्तै भाडोमा थापेको पानीले लुगा धोइरहेका थिए ।

कीर्तिपुरको भत्केपाटी नजिकै रहेको दुध पोखरीबाट केही मिटरको दूरीमा रहेको यो दलित बस्तीका अधिकांश घरमा धारा छन् । घरमा धारा बनाउने ठाउँ नभएकाहरुले कतिपयको संयुक्त धारा छन्, कतिपयको घर अग्लो ठाउँमा रहेकाले पानी आउदैन ।

कल्पना भिजाएका लुगा आधा बाल्टी पानीले धुनुपर्ने बाध्यतामा छिन् । तर साबुन पनि राम्रोसँग नपखालिने भएपछि छोरीलाई आधा गाग्री पानी ल्याउन अह्राइन् । छोरीले बेलुका खाना पकाउनै नपुग्ने भनेर सावधान गराएपछि कल्पनाले ‘पोखरीबाट ल्याउँला नि !’ भनेर आश्वासन दिइन् ।

कल्पनाको घरदेखि २०–२२ मिनेट हिँडेर पुगिन्छ दूधपोखरी । जहाँ १० वटा धाराबाट चौबीसै घण्टा पानी बगिरहन्छ । तर छेउकै बस्तीमा पानीको हाहाकार छ । दुधपोखरीमा नुहाउन, लुगा धुन र खाने पानी लिन टाढा टाढादेखि मान्छेहरू पुग्छन् ।

यो बस्तीका धेरै मान्छेले विगतमा दूधपोखरीबाटै पानी बोकेर खाए । तर अहिले शहरीकरण बढिसकेकाले डोकोमा गाग्री बोकेर दुधपोखरी ओहोरदोहोर गर्न तयार छैनन् । ‘पहिले त डोकोमै पानी बोकेर ल्याउँथ्यौं, पछि यहीँ धाराहरू बने । सुरूका हप्तामा केही दिन आउँथ्यो, अहिले दिन बिराएर आउँछ’, सरिताले भनिन्, ‘बिहान बेलुकै गइराख्न पनि भ्याइँदैन । थापेर राखेको पानीले पुग्दैन ।’

बस्तीमा नेताहरु आक्कलझुक्कल देखापर्न थालेका छन् । तर भोट मागिहालेका छैनन् । चुनावमा उम्मेदवारले मतदाताको अपेक्षा सुन्ने र मतदाताले उम्मेदवारलाई रोजेर मत दिने एउटा प्रक्रिया हो । टुसालको यो दलित बस्तीमा भने अधिकांश मतदातामा कुनै उम्मेदवारसँग अपेक्षा छैन । कि निराशा छ, कि आफैं गर्छु भन्ने इच्छाशक्ति छ ।

तेह्र वर्षअघि बिच्छ्याएको पाइपबाट गुजारा

बस्ती वरिपरि घरहरू बनिरहेका छन् । बस्ती बढ्दै गएपछि नजिकै चारवटा निजी विद्यालय खुलेका छन् । स्वास्थ्य चौकीको समस्या छैन, बस्ती नजिकैको चोकमा प्रशस्तै मेडिकल र क्लिनिकहरू छन् । ठूलो समस्या पानीकै छ ।

दिन बिराएर धारामा पानी आउने बनाउन पनि यो बस्तीका बासिन्दाले धेरै धाए । त्यतिबेला सुनीता तोलांगे नेकपा माओवादी केन्द्रको इलाका प्रमुख थिइन् । पानीको समस्या लिएर उनकै पहलमा स्थानीयले बारम्बार कीर्तिपुर नगरपालिकामा धर्ना दिए । नगरपालिकाले जम्मा ३० हजार रुपैयाँ बजेट दियो, त्यसले निर्माण सामग्री किन्न पनि नपुग्ने भयो ।

त्यसपछि स्थानीय वासिन्दाले त्रिपुरेश्वरस्थित खानेपानी कार्यालयमा धर्ना दिए । पछि खानेपानी कार्यालयले मुख्य लाइनबाट पाइप जोडिदियो । त्यही १३ वर्षअघि जोडेको पाइपबाट दिन बिराएर आउने पानीले टुसालको दलित बस्ती गुजारा चलाइरहेको छ ।

नयाँ बनेका घरहरूमा बोरिङ गरेर पानी तानिएको छ । उनीहरूसँग बोरिङ खन्न वा इनार बनाउन जमिन पनि छ । तर दलित बस्तीको आँगनमा सडक छ । पछाडि अरूको जग्गा छ । उता दुधपोखरीको पानी खेर गइरहेको छ, बस्तीमा अभाव व्याप्त छ ।

जितेर जानेसँग गुनासो

अनलाइनखबरकर्मी बस्तीमा पुग्दा केही मान्छेहरू छलफलमा व्यस्त थिए । आगामी चुनावका विषयमा माहोल बनाउन त्यहाँ पुगेका उनीहरू केहीबेरमा निस्किए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी अञ्जना विशंखेको टोली परिचयात्मक कार्यक्रम गर्न बिहानैदेखि च्याउबारी, टुसाल चोकमा पुगेको छ ।

टुसाल विभिन्न समयमा भएका नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान पुर्‍याउने कीर्तिपुरको दलित बस्ती हो । दलित समुदायका २७ घरधुरी रहेको बस्तीमा करिब डेढ सय मतदाता छन् । समुदायका अगुवालाई फकाउन सके सबै भोट एउटै दलले पाउने हुँदा हरेक चुनावमा राजनीतिक दलका उम्मेदवारहरूका लागि यो गाउँ गतिलो भोट बैंक बन्छ ।

हरेक चुनाव यो बस्तीमा पानी ल्याइदिने सपना बोकेर आउँछ, सडक पीच गरिदिने सपना बोकेर आउँछ । तर जसै चुनाव सकिन्छ सपना पनि बिलाएर जान्छ । त्यसैले त कल्पनालाई यसपटकको चुनावमा भोट माग्न आउनेसँग केही माग्न मन छैन, कुनै अपेक्षा छैन ।

‘मागेर के हुन्छ ? हुन्छ, ल्याउछौँ, गर्छौं भनेर जान्छन् । जितेर गएपछि फर्केर एकपटक पनि हाम्रोतिर आउँदैनन्’, कल्पनाले दिक्दारी पोखिन्, ‘यसपटक त कोही भोट माग्न आए भने पनि नमस्ते भन्दिने हो, केही चाहियो भनेर भन्ने होइन ।’ उनले मागेका र नेताले बाँडेका आश्वासनको लामै फेहरिस्त छ । तर अहिलेसम्म नेताहरूले दोहोर्‍याएर भोट माग्न आउने बाहेक केही ल्याएका र गरेका छैनन् ।

पहिलो संविधानसभाको निर्वाचन हुँदा २०६४ सालमा माओवादीको उभार थियो । माओवादीका अध्यक्ष नै आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेपछि स्थानीय उत्साहित बने । तर चार वर्ष लामो पहिलो संविधानसभाको त्यो कार्यकालभरी पुष्पकमल दाहाल प्रचण्ड एकपटक पनि त्यो बस्तीमा छिरेनन् ।

हुन त मत माग पनि प्रचण्ड टुसाल बस्ती छिरेका थिएनन् । तर माओवादीका स्थानीय नेता कार्यकर्ताले प्रचण्डले चुनाव जिते कायापलट हुने सपना देखाएका थिए । उत्पीडित समुदायको पक्षमा चर्का नारा लगाएर सहर पसेको माओवादीलाई मतदाताले विश्वास गरे ।

तर जसले प्रचण्डलाई जिताउन भनेर बस्तीमा अगुवाई गरेर मत मागे उनीहरूले समेत दोस्रोपटक उनीसँग साक्षात्कार गर्न पाएनन् । ‘प्रचण्डलाई भोट दिएको मात्रै हो र दिनुपर्छ भनेर माग्दै पनि हिँडिएको हो । तर खै फर्केर भोट दिनेलाई उनको अनुहार देख्न पनि पाइएन’, स्थानीय प्रेम सुर्खेतीले भने ।

माओवादीलाई लाग्ने गरेको एउटा आरोप हो, नेता विलाशी भएर कार्यकतालाई बिर्से भन्ने हो । यस्तै गुनासो त्यो इलाकाकी पूर्वप्रमुख सुनीता तोलांगेको पनि छ । उनी प्रचण्डसँगै गुनासो गर्ने पक्षमा त छैनन्, तर पार्टीले आफ्ना दुःख देखेन भनेर मनमा लिएकी छन् ।

‘पार्टीले जिम्मेवारी दिएपछि इमान्दार भएर काम गरियो । तर आफूलाई पर्दा कसैले हेरेन,’ उनी भन्छिन्, ‘घरमा बुबा अशक्त हुँदा भाइलाई कतै काम मिलाइदिए हुथ्यो भनेको । कसैले सुनेनन् । अहिले पनि भाइलाई चुनावमा सहयोग गर्न जानु भनेको मान्दैन ।’

सायद यस्तै कारणहरूले होला त्यसपछि ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई यो समुदायले पत्याएन । उनलाई नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) ले पराजित गरे । केसी स्थानीय भए पनि चुनाव जितेर गएपछि दलित बस्तीमा फर्केर आएको सम्झना छैन, स्थानीय लक्षुमन तोलांंगेलाई । ‘उहाँको यहीँ तल कीर्तिपुरमा घर छ भन्छन् । तर पहिलोपटक चुनाव जितेर गएपछि दोस्रोपटक भोट माग्न आएको बाहेक यतातिर देखिनुभएको छैन’, लक्षुमनले भने ।

केसीले ०७४ सालको आम निर्वाचन पनि त्यही क्षेत्रबाट जितेका थिए । उक्त चुनावमा भोट माग्न आउँदा केसीले कल्पनालाई सोधेका थिए, ‘तिम्रा केही समस्या छन् ?’

कल्पनाले स्नातक तह पढ्दै गरेकी ‘छोरीलाई कतै जागिर लगाइदिनु होला धेरै केही पर्दैन’ भनेकी थिइन् । जवाफमा केसीले ‘मास्टर्स पास गर्न दिनु, जागिर लगाइदिउँला’ भनेर गएका थिए । तर अहिलेसम्म कल्पनाले छोरीलाई जागिर त के केसीलाई भेट्नसम्म पनि पाएकी छैनन् ।

पुरानो पेशा छैन, नयाँ रोजगारी छैन

यो बस्तीका मान्छेहरूको पुरानो पेशा जुत्ता सिलाउने हो । अहिले भने यो पेशा बन्दजस्तै भइसक्यो । बुढापाका मान्छेहरू अशक्त बन्दै गए । नयाँ पिँढीका मान्छेहरूलाई रुची हुनै छाड्यो । यहाँ बनेका जुत्ता बजारमा खपत नहुने भएपछि जुत्ता सिलाउने पेसामा अहिले बस्तीको कसैले पनि काम गर्दैन । तर त्यसको विकल्प पनि उनीहरूले भेट्टाउन सकेका छैनन् ।

कल्पनाकी जेठी छोरी कीर्तिपुरको एउटा सहकारीमा काम गर्छिन् । जसले बल्लतल्ल उनको परिवारलाई बिहान–साँझ हातमुख जोर्न पुग्छ । मास्टर्स पास गरेकी छोरीको कमाइ चित्त नबुझे पनि उनीसँग अर्को विकल्प छैन । जे पाइएको छ त्यही गर्नुपरेको छ । बाँकी एक छोरा र छोरीलाई पनि उनले पढ्न पठाएकी छन् । ‘तर पढेर मात्रै के होला ?’, उनी चिन्तित देखिइन् ।

छोरीको पढाइ सकिए जागिर खोजिदिन्छु भनेका सांसदसँग दोहोर्‍याएर भेट्न पनि नपाएकी उनलाई कसैसँग भनेर केही होला भन्ने आशा छैन । तर पढे–लेखे भने आफैं पनि त खोजेर खान सक्लान् भन्ने उनलाई लागेको छ ।

प्रेम सुर्खेती पनि केही वर्ष अघिसम्म जुत्ता बनाउने काम गर्थे । ‘काम धेरै, दाम कम’ भएपछि उनले आफ्नै घरको एउटा कोठामा सटर निकालेर दोकान खोले । ‘अहिलेसम्म यसैले खान लगाउन पुगेको छ । ठूलो सपना पनि केही छैन’, उनी भन्छन् ।

सरिताले कीर्तिपुरतिर केही काम पाइन्छ कि भनेर नखोजेकी होइनन् । साक्षर भए पनि आठ कक्षा मात्रै उतीर्ण गरेकी उनलाई मिल्ने जागिर भेटिएन । श्रीमान तीन वर्षयता खाडीमा छन् । उनी केही सीप सिक्न पाए आफ्नै व्यवसाय गर्नुहुन्थ्यो भन्ने सोचमा छिन् ।

‘हस्तकलाका काम सिके गुजारा गर्ने कमाइ गर्न सकिन्छ । तर त्यसका लागि पहिले काम सिक्नुपर्‍यो, पछि सामान किन्नुपर्‍यो । श्रीमानको कमाइ बच्न थाल्यो भने, त्यही गर्नुपर्ला’, उनले आफ्नो योजना सुनाइन् ।

केही समय गाउँमा माओवादीको राजनीतिक संगठनमा बसेकी सुनीताको अहिले विवाह भएर बाग्लुङतिर बसाइ छ । एक महिना माइतीघर आएकी उनले भाइलाई राम्रो काम पाइएको भए बिरामी बुबा र उसको घर व्यवहार चलाउन सजिलो हुन्थ्यो भन्ने लागिरहेको छ ।

०७२ सालको भूकम्पमा परेर आमा बितेपछि जुत्ता सिलाउने काम गरिरहेका बुबा पनि बिरक्तिएर हिँड्न थालेका रहेछन् । स्वास्थ्यले पनि साथ नदिएपछि अहिले सबै जिम्मेवारी भाइ एक्लैको काँधमा छ ।

कुराकानीको सुरूमा कुनै अपेक्षा छैन भनेकी उनैले छुट्टिने बेलामा मनको भारी बिसाइन् । ‘भाइलाई घर चलाउन गाह्रो परेको छ । बुबा पनि बिरामी हुनुहुन्छ । मेरो विवाह भइसक्यो,’ उनले अपेक्षा व्यक्त गरिन्, ‘सकिन्छ भने उसका लागि उम्मेदवारसँग केही काम मिलाउन भन्दिनु होला ।’

चर्चामा

सम्बन्धित समाचार