सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • अन्योलमा बुढिगंगा नगरपालिका

अन्योलमा बुढिगंगा नगरपालिका

  • शनिबार, जेष्ठ ७, २०७९
अन्योलमा बुढिगंगा नगरपालिका

बाजुरा — बाजुराको बुढिगंगा नगरपालिका अन्योलमा रहेको छ । निर्वाचन आयोगले मतगणना गर्ने कि पुन मतदान गर्ने भन्ने बारे कुनै निणर्य नलिदा अहिले नगरपालिका अन्योलमा रहेको छ ।
बाजुराका ९ स्थानिय तह मध्ये ८ पालिकाको नतिजा घोषणा भएर जनप्रनिधिहरुले पदभारसमेत ग्रहण गरिसकेका छन् । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा भने विवादका कारण अझै मतगणना हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले पुनः मतदानको माग गरेको छ । एमालेले भने यथास्थितिमा मतगणना हुनुपर्ने अडान राखेको छ । एक साता बितिसक्दा पनि निर्वाचन आयोगले निणर्य नदिएपछि अन्योल बढ्दै गएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पाैडेलले वताएका छन् ।
बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद छ । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए । नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसे कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो ।
निर्वाचनका दिन पालिकास्थित निर्वाचन अधिकृतलाई नियन्त्रणमा राखिएको थियो । उनले असुरक्षित भएको भन्दै राजीनामा दिएका थिए । मतपेटिकाहरु निर्वाचन कार्यालयले बुझ्न नमानेको लगायत घटना पनि भएका थिए । कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा राखेर मतदान भएको भनिएकामध्ये वडा ४ स्थित थुमा मावि मतदानस्थलमा १ हजार ७ सय ९ मतदाता रहेकामा १ हजार ६ सय ९९ मत खसाइएको छ । यो ९९.४१ प्रतिशत हो । यस्तै एमालेले नियन्त्रणमा राखेर मतदान गरेको भनिएकामध्ये वडा ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा १ हजार ४ सय ८३ मतदाता संख्या रहेकामा १ हजार ३ सय ४७ मत खसेको छ । जुन ९०.८२ प्रतिशत हुन आउछ ।
वडा नम्बर ७ का एमाले बाट वडाध्यक्षका उम्मेदवार मन्नामे बिष्ट लखेटिएका थिए । वडा ७ स्थित शारदा मावि मतदानस्थलमा मतदान सुरु भएको करिब दुई घण्टामै धाँधली सुरु भएपछि लाममा लागेका मतदाता लखेटिएका थिए । वडाध्यक्ष पदका एमाले उम्मेदवार मन्नामे विष्टले आफूमाथि मतदान स्थलभित्रै कुटपिट भएपछि भागेर ज्यान जोगाएको बताए । डरत्रासका कारण त्यसपछि आफू दिनभर मतदानस्थलमा फर्किन नसकेको र लुकेर बस्नुपरेको उनले सुनाए ।

सुरक्षाकर्मीहरु वडा २, ३, ५ र ९ का मतदानस्थलबाट अपराह्नतिर मतपेटिकासमेत मतदानस्थलमै छाडेर हिँडेका थिए । १० वटै वडाका मतदान केन्द्रका मतपेटिकाहरु निर्वाचनमा खटिएका कर्मचारीहरुलाई साथमै राखेर पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको थियो ।
बुढीगंगाको विवाद अध्ययन गर्न गत आइतबार निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा बाजुरा आएको थियो । सुरुमा सदरमुकाम मार्तडी आएर उनले सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रमुख, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझेका थिए । दोस्रो दिन बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुगेका थिए । तर, आयोगको निणर्य भने अझै आएको छैन । एमाले र कांग्रेसका नेताहरु भने माग पूरा नभए अदालत जाने तयारीमा रहेको बताइरहेका छन् ।
चुनाव सकिएको एक साता सम्म पनि कुनै निणर्य नआएपछि मतगणना हुने वा पुन मतदान हुने बारे अन्योलमा रहेको छ । सगुनशमशेर जबरासहिको टोलीले आयोगलाई प्रतिबेदन बुझाएको भएपनि आयोगले भने निणर्य लिनमा ढिलाइ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार