• होमपेज
  • बलिउड/हलिउड
  • चर्चामा स्वस्तिमा खड्काको नयाँ ‘लुक्स’

चर्चामा स्वस्तिमा खड्काको नयाँ ‘लुक्स’

  • बिहिबार, माघ २७, २०७८
चर्चामा स्वस्तिमा खड्काको नयाँ ‘लुक्स’

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ को पोस्टर सार्वजनिक भएको छ। मंगलबार स्वस्तिमाले आफ्नो सामाजिक सञ्जालमा उक्त पोस्टर राखेलगत्तै यसको खुबै चर्चा भइरहेको छ। पोस्टरमा स्वस्तिमाको ‘लुक्स’ लाई धेरैले तारिफ गरेका छन्।

स्वस्तिमा सुदूरपश्चिम पहाडी जिल्लाकी महिलाको हुलियामा छिन्। नाकमा बुलाकी, चौबन्दी र गुन्यु लगाएकी उनी झोला बोकेर उभिएकी छन्। उनको यही हुलियाको अहिले सामाजिक सञ्जालमा चर्चा भएको हो। फिल्म चिसो मान्छे दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। यही पोस्टर र स्वस्तिमाको हुलियाबारे सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘नेपाली चलचित्रको इतिहासमै पोस्टर सार्वजनिक गर्दा यति धेरै चर्चा भएको पहिलो पटक होला।’

बाजुरा नेपालको सुदुरपश्चिमको एक पहाडि जिल्ला भएको त सबैलाई थाहा नै छ तर त्यहाँ बोलिने बाजुरेली भाषा सबैले बुझ्न र बोल्न सक्दैनन् । उक्त भाषा सिक्न भन्दै नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्का बाजुरा पुगेकी छिन् । उनले अभिनय गर्ने आगामी चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिका छ । यसमा अभिनय गर्नुपर्ने भएपछि उनी बाजुराको भाषा र परिवेशबारे जानकारी लिन थालेकी हुन् । यही मेसोमा केहीदिन अघि स्वस्तिमा बाजुरा पुगेकी थिइन् ।

बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलो पटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ मा नायिका खड्काले बाजुराकी चेली भएर अभिनय गर्दैछिन् । बाजुरेली भाषा सिक्न नायिका खड्कासँगै चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको टिम बाजुरा पुगेको थियो ।

बाजुराकै भाषामा पहिलो पटक तयार हुन लागेको उक्त चलचित्रका लागि त्यहाँको परिवेश स्थल, भाषा, कला र संस्कृतिबारे प्रत्यक्ष जानकारी लिन नायिका खड्कालगायतको सिंगोे टिम बाजुरा पुगेको चलचित्रका निर्देशक खनालले बताए । पोस्टर सार्वजनिक भएपछिको चर्चाले खुसी लागेको उनले बताए। खनालले चलचित्रको पोस्टर सार्वजनिक हुँदा ट्रेलर सार्वजनिक भएजस्तो अनुभव भइरहेको पनि सुनाए। ‘पोस्टरको प्रतिक्रियाहरू देखेर खुसी सँगसँगै डर पनि लागेको छ,’ उनले भने, ‘यस प्रकारको प्रतिक्रियाले चलचित्रमा दर्शकको अपेक्षा बढ्ने र त्यो पूरा गर्ने जिम्मेवारी थपिन्छ। त्यसैले थोरै डर पनि लागेको छ।’

अभिनेत्री स्वस्तिमा खड्काले पनि दर्शकले यस चलचित्रबाट फरक अनुभूति प्राप्त गर्ने बताइन्।उनले यो पात्रमा प्रवेश गर्न दुई हप्ता मेहनत गरेको तथा फरक भूमिकामा काम गर्न पाएकामा आत्मविश्वासी भएको पनि बताइन्।

अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहने फिल्मले नेपाली समाजको कथा बोल्ने छ । फिल्मको अधिकांश छायांकन भने बाजुरामा गरिने छ । शर्मिला पाण्डेको लगानीमा निर्मााण हुन लागेको उक्त फिल्ममा स्वस्तिामा र अर्पणका साथमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वि.सी लगायतका कलाकारको पनि अभिनय रहने छ ।

‘यस्तो प्रकारको भूमिका कलाकारले सधैं पर्खेर बसेको हुन्छ। यसरी निर्देशकले आफूलाई विश्वास गर्दा खुसी लागेको छ,’ उनले सेतोपाटीसँग भनिन्। निर्देशक दीपेन्द्रका अनुसार चलचित्र चिसो मान्छे एउटा ‘ट्राभल स्टोरी’ हो। चलचित्रमा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा समेटिएको छ।

पोष्टरमा देखिएकी स्वस्तिमा पुष्पा नामकी २० वर्षीया महिला हुन्। वैदेशिक रोजगारमा गएका उनका श्रीमानको मृत्यु भएको हुन्छ। काठमाडौंबाट श्रीमानको शव लिएर बाजुरा फर्किने पुष्पाको यात्रा नै फिल्मको मुख्य कथा हो। यो फिल्म यही असार ३ गते रिलिज हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार