मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • खाना
  • व्यवसायीले आफूखुसी बढाए खाने तेलको मूल्य

व्यवसायीले आफूखुसी बढाए खाने तेलको मूल्य

  • मङ्लबार, माघ २५, २०७८
व्यवसायीले आफूखुसी बढाए खाने तेलको मूल्य

काठमाडौं– व्यवसायीहरुले आफूखुसी सबै प्रकारका खाने तेलको मूल्य बढाएका छन् । उनीहरुले दुई साताको अवधिमा तोरी, भटमास र सूर्यमुखी गरी तीनै प्रकारका तेलको मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्य लिटरमा १० रुपैयाँले बढेको छ भने तोरीको तेलको मूल्य लिटरमा दुईदेखि तीन रुपैयाँले वृद्धि भएको छ ।

नयाँ मूल्यवृद्धि पछि भटमासको तेलको प्रतिलिटर खुद्रा बिक्री मूल्य २४० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य लिटरमा २६० र तोरीको तेलको मूल्य ३४२ रुपैयाँ पुगेको संघका सदस्य कविन्द्र श्रेष्ठले बताए । ‘दुई साताको अवधिमा मूल्य बढेर आएको छ, कारण के हो थाहा छैन्,’ श्रेष्ठले भने ।

बजारमा होलसेलले पठाइएको तेलमा प्रिन्ट मूल्य (खुद्रा बिक्री मूल्य) नै उद्योगीले बढाएका छन् । जसमा २२० रुपैयाँको भटमासको तेलको खुद्रा बिक्री मूल्य ट्याग २३० पुर्‍याइएको छ भने २४० को सूर्यमुखी तेलको मूल्य २४८ रुपैयाँ पुर्‍याइएको छ । यस्तै तोरीको तेलको मूल्य भने कार्टुनमा २० देखि ३० रुपैयाँसम्म बढाएर प्रति कार्टुन (१० लिटर) को मूल्य ३४ सय १० रुपैयाँसम्म पुर्‍याइएको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै बढ्यो मूल्य

बजारमा सबै प्रकारका तेलको मूल्य बढेको नेपाल वनस्पति घिउ तेल उत्पादक संघले स्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्नु र रसिया तथा युक्रेनको तनावको मार खाने तेल बजारमा परेको संघका निवर्तमान अध्यक्ष विकास दुगडले बताए ।

‘तोरी, भटमास, सनफ्लावर सबै प्रकारका तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको छ । नेपाली बजारमा त्यसैको प्रभाव देखिएको हो,’ दुगडले भने, ‘लिटरमा १० देखि १५ रुपैयाँ सबै प्रकारका तेलको मूल्य खुद्रामै बढेको छ ।’

नेपाल पूर्ण रुपमा कच्चा पदार्थमा परनिर्भर हुँदा तेलको मूल्य अन्तर्राष्ट्रिय कारणहरुले प्रभावित बन्ने गरेको दुगडले दाबी गरे । खाने तेलको कच्चा पदार्थको सबै स्रोत मुलुकमा अहिले समस्या रहेको उनको भनाइ छ । ब्राजिलमा मौसम प्रतिकुल छ, युक्रेनमा राजनीतिक द्वन्द्व छ । पाप आयात हुने इन्डोनेसियाले निर्यातमा रोक लगाएको छ,’ दुगडले भने ।

उद्योगीले घाटा भएको देखाए : वाणिज्य विभाग

खाने तेलको मूल्यबारे उद्योगीहरुसँग विवरण मागिएको तर उनीहरुले उल्टै घाटा देखाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

मूल्य वृद्धिबारे विभागमा प्राप्त गुनासो पछि तेल उत्पादकलाई आयात विवरण र उत्पादन लागत पेश गर्न भनेको विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले बताए ।

‘मलाई भर्खरै उद्योगीहरुको जवाफ आएको छ, उनीहरुले लिटरमा उल्टै २५ रुपैयाँसम्म घाटा भएको दाबी गरेका छन्,’ महानिर्देशक श्रेष्ठले भने ।

भारततर्फको निकासी बन्द भएपछि आफूहरु घाटामा गएको र सस्तोमा भए पनि तेल बेचिरहेको दाबी उत्पादकहरुले गरेको महानिर्देशक श्रेष्ठले बताए ।

विभागले बजार अनुगमन खाने तेलमा केन्द्रित गर्ने भन्दै उनले उद्योगीले पेश गरेको विवरण र बजार मूल्य फरक परे कारबाही गर्ने दाबी पनि गरे ।अनलाइनखबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार