मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

  • मङ्लबार, पुस २७, २०७८
अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

काठमाडौं — अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो ।

बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ ।

‘यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो । यद्यपि अब उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन,’ बीबीसीले लेखेको छ ।

अपरेशन गर्नुअघि बेनेटले भनेका थिए– यो प्रत्यारोपण ‘बाँच या मर’ भनेजस्तै थियो । उनले भनेका छन्, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो तर यो अन्तिम मौका थियो ।’

यदि बेनेटको यो अपरेशन नगरेको भए उनी मर्ने थिए । त्यसैले युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यो काम गर्नका लागि विशेष छुट दिएको थियो । यो प्रत्यारोपण गर्ने मेडिकल टिमले धेरै वर्ष अगाडिदेखि यसबारे अनुसन्धान गरेको थियो ।

प्रत्यारोपण सफल भएपछि युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरले सर्जन बार्टले पी ग्रिफिथलाई उद्धृत गर्दै भनेको छ– यो अपरेशन विश्वमा अंगको संकट समाधानमा एक कदम नजिक ल्याएको छ ।

अमेरिकामा हरेक दिन १७ जना मानिसको प्रत्यारोपणका लागि पर्खिंदापर्खिंदै ज्यान जाने गरेको छ । एक लाखभन्दा बढी मानिसहरु प्रत्यारोपणको पालो कुरिरहेका छन् । यस्तो अवस्थामा जनावरको अंग मानिसमा प्रत्यारोपण (जेनो ट्रान्सप्लान्टेसन) को सम्भावनाबारे धेरै अगाडिदेखि नै अनुसन्धान भइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार