शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • नेपालको राजनीति अनि मेरो अभिव्यक्ति

नेपालको राजनीति अनि मेरो अभिव्यक्ति

  • बिहिबार, मंसिर ९, २०७८
नेपालको राजनीति अनि मेरो अभिव्यक्ति

✍️ – धिरन शाही (रोयल ठकुरी ) — राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पुर्णतः गलत साबित हुने गरेको छ । नेताले त्यस्तो जवाफ दिएमा त्यो कसैले पनि नपत्याउने अवस्था छ । अहिले हाम्रा नेताहरू जनताको नजरमा दिन प्रतिदिन गिर्दै गइरहेका छन । थाहा छैन , अब फेरि कुन मुख देखाएर – One Person , One Vote , One Value भन्दै आउने हुन !!
हिजोका दिनमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिह, कृष्णप्रसाद भट्टराईहरूले राजनीति गर्दा कसैले पनि उनीहरूलाई कसका लागि राजनीति गर्दै हुनुहुन्छ भनेर सोध्ने हिम्मत गर्दैनथे । कसैले सोधे हाले भने पनि उनीहरू गौरवका साथ आफूले देश र जनताका लागि राजनीति गरेको जवाफ दिन्थे । आमजनताले इन्कार गर्न सक्दैनथे ।
किनकि उनीहरूको राजनीति र जीवन जनताको हितमा समर्पित थियो । तर, अहिले हामीले त्यस्ता नेता खासै पाउन सकेका छैनौ । यो हाम्रा लागि निकै दुर्भाग्यको कुरा हो । जननेता मदन भण्डारीले त राजनीतिमा थकाइ भन्ने शव्दाबली नै हुँदैन भन्ने अभिव्यक्ति दिँदै आफूलाई पूर्णरूपमा असल राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गराएका थिए ।

जब राजनीतिक दल र तिनका नेताहरूले जनताको चाहना र हितअनुसार काम गर्न सक्दैनन् त्यतिखेर उनीहरू जनताबाट बहिस्कृत हुन पुग्छन् । दल तथा नेताहरू सच्चिएनन् भने जनताले उनीहरूकै कारण शासकीय व्यवस्थाको विकल्पबारे समेत सोच्न बाध्य हुने गर्छन् ।
हिजो पञ्चायत व्यवस्था जनताकै हितविपरीत जाँदा पतन भएको थियो । राजाहरूले जनताको चाहना बुझ्न नसक्दा सयौं वर्षसम्म रहँदै आएको राजतन्त्र नै समाप्त भएको ताजा उदाहरण हामीसँगै छ । त्यसैले कसैले पनि जनमतको अपमान गर्ने धृष्टता गर्नुहुँदैन । जनताको के कस्ता चाहना, इच्छा र आवश्यकता छ भन्नेबारे नेताहरू जहिले पनि चिन्तित भएर जनताका सबै खाले समस्या समाधान गर्न रातदिन खटिन सक्नुपर्छ । हिजो जनताकै बलमा राजतन्त्र फालिएको हो र जनताकै बलबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरिएको हो ।
अहिले संघ, प्रदेश र स्थानीय सरकारमार्फत जनताको सेवा गर्ने लक्ष्य राखिएको भए पनि ती सबै सरकार जनताको साटो आआफ्ना नेताहरूको व्यवस्थापन गर्ने कार्यमा नै लिप्त रहेको पाइएको छ । पदमा बसेकाहरूले पदीय दायित्व र भूमिकाविपरीत कागज मिलाएर आफूनिकटका कार्यकर्ता तथा आफन्तहरूको व्यवस्थापन गरिरहेका छन् । जनताको कुनै मतलव छैन । यस्तै, अवस्था लामो समयसम्म रहिरह्यो भने त्यसले मुलुकमा ठूलै अनिष्ट निम्त्याउने निश्चित छ । राजनीतिक दल र नेताहरूको यस प्रकारको बेइमानीपूर्ण कार्यले आमजनतामा राजनीतिक अलगावको अवस्था पैदा हुन्छ र जनता विद्रोहमा उत्रन सक्ने खतरा रहन्छ । यसतर्फ सबै दल र नेताहरू सतर्क हुन जरुरी छ ।

त्यसैले नेताज्यूहरू, अब त साँच्चै नै सच्चिनुपर्छ ताकि आगामी दिनमा राजनीति कसका लागि भनी प्रश्न गर्दा तपाईंहरूले जनताका लागि भनी दिएको जवाफले आफैंलाई व्यंग्य नगरोस् ।अहिले आस्वाभाविक रूपमा महँगी बढिरहेको छ । जनताको ढाड सेक्नेगरी महँगी वृद्धि हुँदा पनि सरकारी निकाय मूकदर्शक बनिरेहका छन् । यसले गर्दा आमजनतालाई मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति भइरहेको छ । अर्कोतर्फ विकासका कुनै पनि अभियान सञ्चालन हुन सकेका छैनन् । अहिले त मुलुकले पहिलोपटक बजेट होलिडको अवस्था भोग्नुपर्ने बाध्यता सिर्जना भएको छ । अहिले देखिएको यो संकटले सरकारलाई निकै कठिन यात्रातर्फ धकेलिरहेको देखिन्छ । आखिर यो अवस्था किन आयो रु सत्तापक्ष र प्रतिपक्ष दुवैका गलत क्रियाकलापका कारण यस्तो दुःखद् अवस्था आइपरेको हो ।

यदि यो सरकार वास्तविक रूपमा मुलुक र जनताको हितका लागि बनेको हो भने यसले जनताको मन मनमा बस्न सक्ने गरी विकास अभियान सञ्चालन गर्न सक्नुपर्छ र जनताले राज्यबाट पाउने सेवा प्रभावकारी रूपमा पाउन सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

सरकार र राजनीतिक दलका सबैभन्दा ठुलो शक्ति भनेकै जनता हुन् । आवधिक निर्वाचनमार्फत जनताले नै सरकारको छनोटसमेत गर्ने गर्छन् ।

पछिल्ला समयमा राजनीतिक दलका नेता तथा उनीहरूका कार्यकर्ताहरूमा कुनै पनि विषयमा ठण्डा दिमागले सोच्ने र विश्लेषण गर्ने प्रवृत्ति ह्रास हुँदै गइरहेको छ । नकारात्मक सोच र विश्लेषणका पछाडि दौडिने प्रवृत्ति पनि खतरनाक रूपमा अघि बढिरहेको छ । जसका कारण जनतामा आशा होइन निराशाका बीज रोपिन थालेका छन् । जनतामा निराशा बढ्नु भनेको पक्कै पनि राम्रो होइन । त्यसैले जनतामा आशा जगाउनुपर्छ ।
तर जनतामा आशा जगाउने कार्यको नेतृत्व सरकारले नै गर्नुपर्छ । यदि सरकारले साँच्चै नै जनतामा आशा जगाउने हो भने जनताले गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र प्रविधिको प्रयोग निर्बाध र सुलभ किसिमले गर्न पाउनुपर्छ । आफ्ना नागरिकको आधारभूत आवश्यकताको पूर्ति गर्ने प्रमुख दायित्व सरकारकै हो ।

सरकारले जनताको मन जित्ने प्रमुख उपाय भनेकै जनकेन्द्रित शासन प्रणाली र सुशासनयुक्त व्यवहार हो । सरकारले हरपल आमजनतामा आशाका किरण छर्न सक्नुपर्छ । सरकारका सबै उच्च पदस्थ बिचौलिया र माफियाको ग्याङबाट पूर्णरूपमा टाढा रहन सक्नुपर्छ । सिहदरबारको सामन्ती सोच र प्रवृत्तिलाई त्यागी जनताको सोच र भावनासँग आफूलाई एकाकार बनाउन सक्नुपर्छ ।
प्रधानमन्त्री ज्यु 🙏😑..विकट गाउँबस्तीमा रहेका दूरदराजका गाउँलेदेखि सहरबजारमा बस्ने सबै नागरिकका लागि बिरामी हुनासाथ सरकारी अस्पतालबाटै सहज सेवा र औषधि पाउने व्यवस्था गरिदिनुभयो भने तपाईंलाई जनताले सधैं सम्झिरहनेछन।
अहिले पनि गरिब विपन्न बिरामी हुँदा पैसा र भरपर्दो उपचारको अभावमा अकालमा मर्नु परिरहेको दुःखद अवस्था छ । त्यस्तो अवस्था आउन नदिन सरकार र सत्तारूढ दलहरू संवेदनशील बन्नुपर्छ । अहिले धेरै स्थानीय तहले राम्ररी काम गर्न सकिरहेका छैनन् । कयौ जनप्रतिनिधि कुशासनको चक्र चलाउन व्यस्त छन् । त्यस्ता, जनप्रनिधिहरूलाई राजनीतिक दलले पार्टीको अनुशासन र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिमा बाँध्न सक्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचारी विरोधी अभियान थाल्न ढिलाइ गर्नु हुँदैन। भ्रष्टचारीलाई सामाजिक रूपमा नै बहिष्कार गर्ने खालका नीतिलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।

सुशासन कायम गर्नु र सुधार गर्नु धेरै कठिन कार्य हो । तर, प्रधानमन्त्रीलगायतका शासन सञ्चालन गर्नेहरूमा दृढ आत्मविश्वास, इमानदारिता र नैतिकता हुने हो भने सुशासन कायम गर्दै मुलुकलाई विकासमा अघि बढाउने कार्य असहज छैन ।

अब दल नेता र सरकारले आफैंभित्रका भ्रष्टाचारीलाई पनि कडा कारबाही गर्ने पद्धतिको विकास गर्न सक्नुपर्छ ।

विशेषगरी सत्तामा रहेका दल र तिनका नेता यदि कर्मवीर बन्ने हो भने उनीहरूले हिजोको दिनमा चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुरूप समाजवाद स्थापनाको आधार खडा गर्न सक्नुपर्छ । यसको सत्तारूढ दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक सुधार गरेर समाजवाद स्थापनाको आधार तय गर्नुपर्छ । सरकारी स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै सबै नागरिकलाई स्वास्थ्य र शिक्षामा सहज पहुँच सिर्जना गर्न सक्ने हो भने मुलुकले समृद्धिको नयाँ मार्ग समेट्ने निश्चित छ । यसका लागि राजनीतिक दल र नेताहरू आमूल रूपमा सच्चिन जरुरी छ । त्यसैले नेताज्यूहरू अब त साँच्चै नै सच्चिनुपर्छ ताकि आगामी दिनमा राजनीति कसका लागि भनी प्रश्न गर्दा तपाईंहरूले जनताका लागि भनी दिएको जवाफले आफैंलाई व्यंग्य नगरोस । चेतना भया 🙏🙃

चर्चामा

सम्बन्धित समाचार