शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • ३५ वर्षको उमेरपछि गर्भधारण जोखिमपूर्ण

३५ वर्षको उमेरपछि गर्भधारण जोखिमपूर्ण

  • मङ्लबार, कार्तिक २३, २०७८
३५ वर्षको उमेरपछि गर्भधारण जोखिमपूर्ण

कुनै पनि महिलाको लागि गर्भधारण गर्ने सही समय हो २५ देखि ३५ वर्षको उमेर । कम जोखिममा गर्भधारण र सहज तरिकाले सुत्केरी गराउनका लागि महिलाहरुले समयमा नै विवाह र बच्चाको योजना बनाउनुपर्छ । तर पछिल्लो समयको व्यस्त जीवनशैली र बदलिँदो संस्कृतिका कारण महिलाहरु ढिला गरी विवाह गर्न चाहन्छन् । जसले गर्दा बाँझोपन वा अन्य अनुवांशिक समस्या देखिने जोखिम बढी हुन्छ ।

प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह ३५ वर्षभन्दा माथिको उमेरमा गर्भधारण गर्दा विभिन्न अनुवांशिक रोगहरु लाग्ने गरेको बताउँछन् । त्यसैले उचित समयमा बच्चा जन्माउने योजना बनाउनुपर्ने उनको सुझाव छ ।

३५ वर्षको उमेरपछि महिलाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । गर्भ राख्नको लागि महिला स्वस्थ रहनु जरुरी छ । ३५ वर्षको उमेरपछि गर्भधारण गर्दा त्यसमा खतराको दर २० प्रतिशत बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

पछिल्लो समय दम्पतीमा ढिलागरी गर्भधारण गर्ने चलन बढेसँगै यसले जोखिम पनि बढाएको डा. साह बताउँछन् । ढिलागरी गर्भधारण गर्दा मानसिक रुपमा बच्चा सम्हाल्न सकेपनि उमेर बढ्दै गएपछि शारीरिक रुपमा महिलाहरु कमजोर हुने हुँदा गर्भ सम्हाल्न मुस्किल हुने चिकित्सकहरु बताउँछन् ।

कुनै पनि विद्यमान रोग नभए पनि ३० वर्षको उमेरपछि गर्भधारण गर्दा विभिन्न दीर्घरोगको जोखिम बढ्छ । व्यस्त जीवनशैली र बढ्दो उमेरले जोखिमपूर्ण गर्भधारणको सम्भावना बढाउँछ । अध्ययनका अनुसार सामान्यतया २० वर्ष मुनिका र ३५ वर्षभन्दा माथिका महिलाहरूमा गर्भावस्था जोखिमपूर्ण हुन सक्छ । समयसँगै अण्डाको संख्या र गुणस्तर घट्दै जाने भएकाले ३० देखि ४० वर्षका महिलाहरूमा गर्भपतन हुने सम्भावना बढी हुन्छ । ३० देखि ४० वर्षको उमेरमा हुने गर्भावस्थाले आमा र बच्चाको लागि जोखिम बढ्न जान्छ ।

३५ वर्षको उमेरपछि हुने गर्भावस्थामा सामान्यतया गर्भपतन, क्रोमोसोमलमा हुने असामान्यता अवस्था, बढ्दो रक्तचाप र गर्भावस्थाको मधुमेहजस्ता जोखिम बढी हुन्छ ।

जोखिम हुँदाहुँदै पनि ३५ वर्षपछि गर्भ नै नबस्ने भने होइन । तर यो उमेरपछि धेरै ख्याल गर्नुपर्ने हुन्छ । यदि तपाईंले ३५ वर्षको उमेरपछि गर्भधारण गर्ने निर्णय गर्नुभयो भने सुरक्षित गर्भावस्थाको लागि स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ ।

पहिले नै उच्च रक्तचाप, अटोइम्युन रोग, मधुमेह, यौन सञ्चारित रोग (एसटीडी), मृगौलामा समस्या र हृदयरोग भएका महिलाहरूमा गर्भावस्थामा जटिलताको जोखिम बढी हुन्छ । ३५ वर्षको उमेरअघि गर्भपतनको जोखिम १५ प्रतिशतसम्म हुन्छ भने ३५ वर्षपछि गर्भधारण गर्दा २० प्रतिशतसम्म जोखिम बढ्छ ।

महिलाहरूको अण्डाशयमा सीमित संख्यामा अण्डा हुन्छ । उमेर बढ्दै जाँदा यी अण्डाको मात्रा घट्दै जान्छ, जसले सजिलै गर्भधारण हुनबाट रोकिन्छ । ३५ वर्षको उमेर पुगेका गर्भवतीहरूमा समयपूर्व प्रसव, गर्भावस्थाको मधुमेह र उच्च रक्तचापको जोखिम बढी हुन्छ । यस्तो उमेरमा डाउन सिन्ड्रोम, गर्भपतन जस्ता समस्या हुने सम्भावना धेरै हुन्छ ।

गर्भावस्थासँग सम्बन्धित जोखिम कसरी जाँच गर्ने ?

भ्रूणमा हुने कुनै पनि असामान्य समस्याको जाँच गर्न अल्ट्रासाउन्ड गराउनुपर्छ । अहिले विभिन्न प्रविधिको प्रयोगबाट प्रसवपूर्व नै विभिन्न अनुवांशिक रोगहरु पत्ता लगाउन सकिन्छ । जसको शुरुवात पछिल्लो समय प्रसूति गृहमा पनि भएको छ । बायोफिजिकल परीक्षणहरू, जस्तै भ्रूणको मुटुको धड्कनको जाँच आदिबाट पनि यसको जानकारी प्राप्त गर्न सकिन्छ । रगत र पिसाब परीक्षण गरेर पनि यसको जाँच गर्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार