बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

  • आइतवार, कार्तिक ७, २०७८
गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

काठमाडौँ– काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ। यो जात्रा गत वर्ष कोरोना महामारीका कारण स्थगन गरिएको थियो। यस वर्ष भने महामारीको जोखिम कायमै रहे पनि सङ्क्रमणदर कम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ।
तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उनले बताए। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो। चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो। गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो। चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ ः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताए।

चर्चामा

सम्बन्धित समाचार