शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता-“जोखौं तुलोमा”

कविता-“जोखौं तुलोमा”

  • आइतवार, अशोज १७, २०७८
कविता-“जोखौं तुलोमा”

मेरो सुबासिलो पसिनासँग
तिम्रो भ्रष्टाचारको गन्ध
तिम्रो अहंकारी
मेरो इमान्दारी
दुनियाँले सुनेर पत्याउने तिम्रो झुट
एक्लो वृहस्पती झैँ मेरो सत्य वचन
आऊ एक पटक
नाप तौल गरौं
कसले जित्दो रहेछ ?
सत्यता पछि कुदिरहने तिम्रो भ्रम
शंका र उपशंकाले भरीएको तिम्रो मन
हरेक दिन भगवान पुकार्दै
मबाट किरापनि नमरोस् भन्दै
प्रार्थना गरिरहने मेरो भक्ति मन
तिम्रा शंकालू आँखा
मेरा निर्दोष नयनको चमक
आउ एकपटक सँगै बसी
जोखौं तुलोमा
कसले हार्दो रहेछ ?
ऊ बेला गाउँमा
डोरीले कसेका चप्पल लगाएर
गाउँको गोरेटोमा
प्याट-प्याट गर्ने तिम्रा पैतला
सात ठाउँमा टालो हालेका टालाटुली
आफन्त, साथीभाइ
आफ्नो खरको छानो भुलेर
आज कालो पत्रेमा बुट बजार्दै
चिल्ला कारमा घुमफिर गर्दै
सुकिला र मुकिला भएर सान गर्ने
तिम्रो यो दुई दिने रमझम
कहिलेसम्म टिक्ला खै ?
बरु,
मै पुरानै रहनसहन, उहीँ खानपिनमा
मस्तले आफ्नै परिवारसँग
कसैको डरधम्कि बिनामा बाँच्दै छु
र सदा बाँचिरहनेछु
त्यसैले त फेरि भन्न मन लाग्छ
आऊ तिम्रा र मेरा सबै चिज
नापतौल गरौं
कसले जित्दो रहेछ
कसले हार्दो रहेछ ?

चर्चामा

सम्बन्धित समाचार