सोमवार, साउन ११, २०७८
  • होमपेज
  • समाचार
  • प्रहरी र स्थानीयबीच किन भयाे झडप ?

प्रहरी र स्थानीयबीच किन भयाे झडप ?

  • बुधबार, साउन ६, २०७८
प्रहरी र स्थानीयबीच किन भयाे  झडप ?

धनगढीमा पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भयो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को हाटबजार, विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ।

सो क्रममा सात जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी गरी १३ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ भने केही स्थानीय पनि घाइते छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार स्थानीयले ढुंगा प्रहार गर्दा १३ सुरक्षाकर्मी घाइते भएका बताएका छन ।

सो क्रममा प्रहरीले लठ्ठि चार्ज गर्दा केही स्थानीय पनि घाइते भएको वडा नम्वर २ का बासिन्दाले बताएका छन्। प्रहरीका अनुसार वडा नम्बर २ का दुई जनालाई पक्राउ गरिएको छ। सो क्रममा स्थितीलाई नियन्त्रणमा लिन ५७ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको उनले बताए।

के हो विवाद ?
धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का बासिन्दा सधै मिलेर बसेका थिए। विगतदेखि नै बर्सातमा वडा नम्बर ३ को पानी वडा नम्बर २ भएर निकास हुँदै आएको थियो। तर ३ नम्बरको पानी वडा नम्बर २ तर्फ निकास गर्दा आफ्नो क्षेत्रमा डुबानको समस्या बढ्ने भन्दै वडा नम्बर २ का स्थानीयले उक्त पानी मोहना नदीमा निकास गर्न माग गरे।

वडा नम्बर २ को उक्त माग नयाँ भने होइन्। उनीहरुले वर्षाैदेखि यो माग गर्दै आएका छन्। यो वर्ष मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट वडा नम्बर २ का स्थानीयले बन्द गरे।

कल्भर्ट बन्द भएपछि वडा नम्बर ३ का केही बस्ती र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा पर्याे। वडा नम्बर ३ को जमेको पानी निकास गर्न २ नम्बर वडाका स्थानीयले बन्द गरेको कलभर्ट खोल्न माग गरियो। वडा नम्बर २ का स्थानीयले भने उक्त कल्भर्ट खोल्दा आफूहरु डुबानमा पर्ने समस्या सुनाए। सोही क्रममा प्रहरीले मंगलबार बल प्रयोग गरेर कल्भर्ट खोलेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो।

अहिले पनि वडा नम्बर २ का बासिन्दाले वडा नम्बर ३ को जमेको पानी वडा नम्वर २ मा नल्याएर मोहना नदीमा निकास गराउनपर्ने माग गर्दै आएका छन्। यता वडा नम्बर ३ का स्थानीयले भने प्राकृतिक बहाब नै वडा नम्बर २ भएर बग्ने बताउँदै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार