बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • एक शैतान श्रीमान्, जसले श्रीमतीलाई यौनधन्दा नगर्दा करेन्ट लगाउँथे

एक शैतान श्रीमान्, जसले श्रीमतीलाई यौनधन्दा नगर्दा करेन्ट लगाउँथे

यस्तो छ दिल्लीमा नेपाली चेली सुस्मिताको यातना श्रृङ्खला

  • बुधबार, असार ३०, २०७८
एक शैतान श्रीमान्, जसले श्रीमतीलाई यौनधन्दा नगर्दा करेन्ट लगाउँथे

नयाँ दिल्लीस्थित प्रहरी स्टेशनमा एक युवती काखमा सानी बालिका च्यापेर उभिइरहेकी छिन् । शरीरमा एउटा साधारण टिसर्ट, अति साधारण ट्राउजर र चप्पल लगाएकी । ख्याउटे शरीर, मानौं कैयन दिनदेखि खान नपाएकी । प्रहरी कार्यालयका अधिकारी उनको बयान टिपोट गर्दै छन् । नेपालीभाषी ती युवतीको भाषा नबुझेर अर्का नेपाली नागरिकले हिन्दी भाषामा अनुवाद समेत गराइरहेका छन् ।

ती युवती हुन्, अर्घाखाँची घर भएकी २२ वर्षीय सुस्मिता शर्मा (नाम परिवर्तन) । उमेर भर्खरै २२ वर्ष । उमेरले भर्खरै बिहे गर्ने बेला भए पनि ४ वर्ष अगाडि नै उनको विवाह भइसकेको थियो । काखमा अहिले १ वर्षकी छोरी छिन् ।

प्रहरी कार्यालयमा आफ्नै पतिविरुद्ध एफआईआर दिँदै छिन् उनी । उनको साथमा उनका बुवा र भारतमा बसी नेपाली महिला र बालबालिकाको उद्धारमा खटिने नेपालको टोली छ ।

उनीहरुकै बीच सुस्मिताले किटानी जाहेरी दिइरहेकी छिन् कि उनलाई उनका पतिले के के गरे । र, यतिबेला सुस्मिता दिल्लीस्थित आरक्षण गृहमा छिन् भने उनका श्रीमान दिल्लीको जेल पुगेका छन् ।

यस्तो छ सुस्मिताको यातना श्रृङ्खला र दिल्ली कथा

सुस्मिताको माइती गुल्मी हो । उनी गुल्मीमै कक्षा १२ मा अध्ययनरत रहँदा अर्घाखाँचीबाट उनको मगनी भयो । विवाहको प्रस्ताव आएपछि केटाको परिवार हेरियो । जात मिल्ने, भूगोल मिल्ने र केटा पनि पढेलेखेको भन्ने सुनेपछि सुस्मिताका बुवा छोरीको विवाह गरिदिन राजी भए । गरीब परिवारकी सुस्मिता पनि बुवाले थप पढाउन नसक्ने अवस्थाका कारण पढाउने शर्तमा विवाह गर्न राजी भइन् ।

२०७४ साल वैशाख २३ गते गुल्मीकी सुस्मिता र अर्घाखाँचीमा मागी विवाह भयो । विवाहको केही समय त राम्रै चलेको थियो, त्यसपछि सासू, नन्द र श्रीमानले सुस्मितामाथि कुटपिट गर्दै यातना दिन थाले । कहिले माइतीबाट दाइजो नल्याएको भन्दै कुटपिट गर्थे त कहिले कमाउन जान दबाव दिन्थे ।

यसै विषयमा कैयनपटक अर्घाखाँचीको स्थानीय प्रहरी चौकी र गाउँपालिकाको न्यायिक समितिमा पनि उजुरी पर्यो र धेरैपटक अब त्यस्तो अपराध नगर्ने भन्दै उजुरी फिर्ता लिन लगाउँदै मिलापत्र गराइयो । तर, जब प्रहरी कार्यालय वा गाउँपालिकाबाट मिलापत्र हुन्थ्यो, घर आएर त्यही हर्कत सुरु हुन्थ्यो ।

गएको दशैंलगत्तै पनि सुस्मितालाई उनका पतिले दिल्ली लगे । घरमा सासू र नन्दले यातना दिए पनि श्रीमानले माया गर्छन् कि भन्ने उनलाई लागेको थियो । तर, जब उनी पहिलोपटक दिल्ली पुगिन्, यातनाको श्रृङ्खला झनै बढ्यो ।

हिन्दु परम्पराअनुसार पालनपोषण र रक्षा गर्छु भनेर भित्र्याएकी श्रीमतीलाई उनका पतिले यौनधन्दामा लगाउन खोजे । दिल्लीमा सेक्स र्याकेट चलाउने गिरोहको फन्दामा सुस्मितालाई पार्न खोजियो । आफ्नै श्रीमानले सुस्मितालाई परपुरुषसँग रात बिताउन जान भने । तर सुस्मिताले पतिको प्रस्ताव अस्वीकार गरिन् । त्यसपछि त्यतिबेला पनि उनीमाथि निर्घात कुटपीट भयो ।

उनले यो कुरा नेपालमा रहेका बुवालाई भनेपछि प्रहरीको उद्धारका लागि निवेदन पर्यो । प्रहरीले तत्कालै सकुशल नेपाल ल्याउन भन्दै पतिलाई फोन गरेपछि उनले नै श्रीमती सुस्मितालाई लिएर नेपाल आए ।

जतिबेला सुस्मिता श्रीमानसँग पहिलोपटक दिल्ली पुगेकी थिइन्, त्यतिबेला उनको काखमा जम्मा ५ महिनाकी छोरी थिइन् । तर, उनका पतिले त्यतिबेलादेखि नै सुस्मिताको नग्न तस्वीर खिचेर पुरुषहरुलाई पठाउने र यौन धन्दामा लगाउने प्रयास गरेका थिए ।

नेपाल फर्किएको ४ महिनापछि पतिले फेरि सुस्मितालाई दिल्ली पुर्याए । असारको पहिलो साता सुस्मितालाई उनका पतिले राति ३ बजे अर्घाखाँचीबाट हिँडाएर कृष्णनगर नाका हुँदै दिल्ली पुराएका थिए ।

सुरुमा सुस्मितालाई दिल्ली जाउँ भन्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पति सानी छोरी च्यापेर हिँडेपछि छोरीको मायाले सुस्मिता पनि पछि लाग्न बाध्य भइन् ।

दिल्ली पुगेपछि फेरि सुरु भयो सुस्मिताका कठोर दिन । पतिले दिल्लीमै बसेर ह्वाट्सएपमा ‘कल गर्ल दिल्ली’ भन्ने ग्रुप चलाउँथे । त्यो ग्रुपमा करिब ५० जना युवतीहरुको नग्न तस्वीर, फोटो र भिडियोहरु सेयर गरिन्थ्यो । कुनै ग्राहकलाई को केटी चाहिने हो, ती सबैको फोटो पठाइन्थ्यो र छान्न भनिन्थ्यो । अनि ग्राहकले रोजेकी केटीलाई ग्राहकको ठेगानामा लगिन्थ्यो ।

त्यो र्याकेट चलाउने व्यक्ति अर्कै थिए, सुस्मिताका पनि त्यसको व्यवस्थापन हेर्थे । केटीहरुलाई ग्राहकको घरसम्म पुराउने, ग्राहक खोज्ने र पैसाको डिल गर्ने काम उनले गर्थे । दिल्लीमा उनीहरुले लगायतले फ्ल्याट भाडामा लिएर युवतीहरु राखेका थिए ।

पैसा कमाउनका लागि भन्दै सुस्मिताका पतिले आफ्नै श्रीमतीलाई पनि त्यो दलदलमा धकेल्ने प्रयत्न गरिरहे । उनले कैयन्पटक आफ्नै श्रीमतीको नग्न तस्वीर र भिडियो खिचेर ग्राहकलाई पठाउने काम गरे । फोटो र भिडियो पठाएर कतिपयलाई पेटिएम गर्न लगाए । कैयन्पटक ग्राहकसँग कुराकानी गर्न लगाए । म आउँछु भन्दै एडभान्स रकम पठाउन भने । र, कतिपटक ग्राहकसँग सुत्न पठाउने प्रयत्न गरिरहे ।

तर, पतिको कुरा सुस्मिताले अस्वीकार गरिरहिन् । जब उनी पतिले भनेको मान्थिनन्, त्यसपछि उनका पतिले खान नदिने, कुटपीट गर्ने र करेन्ट लगाउनेसम्म काम गरे । उनले यतिसम्म गरे कि सुतेका बेलामा नाङ्गो फोटो खिच्ने, जबरजस्ती भिडियो बनाउने र पोर्न साइटमा अपलोड गर्नेसम्मको काम गरे ।

रातदिनको यातना र उत्पीडनपछि उनले सुरुमा यो कुरा दिल्लीस्थित घरधनीलाई भनिन् । यातना दिएको त घरधनीले पनि देखेका थिए । तर, घरधनीले इज्जत जान्छ, त्यस्तो नभन्नु भनेका कारण उजुरी गरिनन् । बरु पतिले ‘यो दिमाग बिग्रेकी केटी हो’ भनेर हल्ला फैलाए । त्यसपछि सुस्मितालाई अन्य व्यक्तिले पनि मानसिक अवस्था ठीक नभएकी भनेर बुझ्न थाले, जसको कारण पतिलाई सुस्मितामाथि अपराध गर्न झन् प्रेरित गर्यो ।

तर, यातना झनै बढ्न थालेपछि सुस्मिताले आफू बसेको नजिकै रहेकी एक महिलालाई यातनाबारे बताइन् । अनि आफ्नो बुवाको नाम र ठेगाना बताएर फेसबुकमार्फत् सम्पर्क जुटाइदिन आग्रह गरिन् ।

जुलाई १० अर्थात् असार २६ गते अपरान्ह एकाएक दिल्ली महिला आयोग र ‘आफन्त नेपाल’को टोली नयाँ दिल्लीको घितोर्नी गाउँस्थित जाय मौका भन्ने स्थानको घर नम्बर १९१ मा पुग्यो । जहाँ सुस्मिता र उनका श्रीमान बस्थे ।

जतिबेला आफन्त नेपालको टोली दिल्ली महिला आयोगका प्रहरीसहित सुस्मिताका उद्धारका लागि पुगेका थिए, त्यतिबेला सुस्मिताको अवस्था ज्यादै नाजुक थियो । अघिल्लो राति सुस्मितालाई करेन्ट लगाउने र बाल्टीबाट पानी खन्याउने गरिएको थियो । त्यसपछि सुस्मिता रातभरि बेहोस् भएकी थिइन् ।

आफन्त नेपालको टोली महिला आयोगका सदस्य र प्रहरीसहित त्यहाँ पुग्नुको कारणचाहिँ रुपन्देही प्रहरीबाट उद्धारका लागि आग्रह गरी लेखी पठाइएको थियो । त्यसपछि दिल्ली प्रहरीसँग समन्वय गरेर सुस्मिताको उद्धारका लागि उनीहरु त्यहाँ पुगेका थिए ।

करेन्ट लागेर बिरामी भएको भन्दै जबरजस्ती भिडियो रेकर्ड

सोमबार राति कुराकानी गर्दै पीडित युवती सुस्मिताले आफूलाई उद्धारको अघिल्लो दिन राति करेन्ट लगाएर चरम यातना दिएको बताइन् । यौनधन्दामा संलग्न नहुने बताएपछि पतिले आफूलाई करेन्ट लगाएर यातना दिएको, कुटपीट गरेको र जबरजस्ती नाङ्गो फोटो तथा भिडियो खिचेको बताइन् । युवकहरूसँग कुराकानी गर्न र सुत्न जान दबाव दिएको तर नमानेपछि करेन्ट लगाएर मार्ने र सडकमा फालिदिने, अनि दुर्घटना भएको बनाउने भन्दै धम्कीसमेत दिएका थिए ।

उक्त दिन आफूलाई पतिले करिब ५ मिनेटसम्म लगातार करेन्ट लगाएको सुस्मिताले सुनाइन् । करेन्ट लगाइरहँदा पनि आफूलाई घरमा काम गर्ने क्रममा करेन्ट लागेको र आफू घाइते भएको, आफूलाई केही भए कसैलाई कुनै कारवाही नगर्न अनुरोध गरेको भिडियो बनाएको पनि सुस्मिताले बताइन् । पतिले एक हातले करेन्ट लगाउने र अर्को हातले भिडियो खिचेर त्यस्तो बोल्न लगाएको सुस्मिताले रुँदै सुनाइन् ।

जुलाई ९ तारिखको राति पतिले लगातार करेन्ट लगाउने र पानी खन्याउने गरेपछि आफू बेहोस् भएको र भोलिपल्ट बिहान मात्रै होसमा आएको सुस्मिताले बताइन् । जुलाई १० अर्थात् असार २६ गते अपरान्ह ५ बजेर ५१ मिनेटमा आफन्त नेपालको टोली पुग्दा सुस्मिता अर्धबेहोशी अवस्थामै थिइन् । शरीर लगलग काँपिरहेको र बोल्न सक्ने अवस्थामै नरहेको आफन्त नेपालका दिल्लीस्थित निर्देशक नवीन जोशीले  बताए ।

त्यसलगत्तै उनलाई त्यहाँबाट उद्धार गरेर दिल्लीस्थित सफदरगञ्ज अस्पतालमा भर्ना गरियो । दुई दिन अस्पतालमा राखेर उपचार गराएपछि सुस्मिता केही सम्झाने र बोल्नसक्ने अवस्थामा पुगिन् । जुलाई १२ अर्थात् असार २८ गते सुस्मिताले एफआईआर दर्ता गराएपछि सुस्मिताका पति यतिबेला दिल्ली प्रहरीको हिरासतमा छन् भने सुस्मितालाई सेफ हाउसमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेर सुस्मितालाई नेपाल ल्याइँदै छ भने पतिलाई कानुनी कारवाहीमा लगिने भएको छ ।

सुस्मिताको भनाई जस्ताको तेस्तै :

मेरो नाम सुस्मिता शर्मा (नाम परिवर्तन) हो । मेरो घर अर्घाखाँचीको पाँडनी ४ पोखराथोक हो । मेरो उमेर अहिले २२ वर्ष भयो । मेरो विवाह ४ वर्ष पहिले भएको हो । मेरो साथमा एक वर्षकी छोरी छिन् । अहिले म एफआईआर दर्ता गराएर सेफ हाउसतर्फ गइरहेको छु ।

म माथि मेरो श्रीमान्ले विवाह भएको केही समयदेखि नै यातना दिने र कुटपिट गर्ने गर्नुभयो । मलाई मेरो श्रीमानले मात्रै होइन, मेरो सासु र नन्दले पनि यातना दिने गर्थे । मलाई घरमै धेरै कुटपिट भएपछि मैले उजुरी पनि गरेको थिएँ, तर पनि यातना दिने क्रम रोकिएन । तर घरमा यातना दिन नमिल्ने र गाउँलेले थाहा पाउने भएपछि सासुले नै ‘यहाँ केही नगर, जे गर्नुछ दिल्ली लगेर गर’ भनेपछि श्रीमानले यहाँ ल्याउनुभएको हो । २० दिन पहिले अर्घाखाँचीबाट खेतको बाटो हुँदै दिल्ली ल्याइपुर्‍याएको हो ।

म कक्षा १२ मा पढ्दै गर्दा विवाह भएको हो । विवाह गर्दा पढ्दा पढाउँछु भनेर विवाह गर्नुभयो । उहाँहरुको आमा र परिवारले सुरुदेखि नै टर्चर दिनुभयो । तैँले माइतबाट केही ल्याइनस् भनेर सँधै टर्चर दिइरहनुभयो । तर मैले मेरो माइतीको इज्जतका लागि सहेर बसेँ । मेरो माइतीको आर्थिक अवस्था धेरै कमजोर थियो । भाइबहिनीले पढ्न पाउँदैनन् भनेर मैले माइतीलाई पनि केही भनिन । दबाएर राख्दा राख्दा आज यो अवस्था आयो ।

२० दिन पहिले मलाई जबरजस्ती दिल्ली हिँड भन्नुभयो । तर मैले मानिन । नमानेपछि श्रीमान छोरी च्यापेर राती ३ बजे हिँड्नुभयो । छोरी च्यापेर हिँडेपछि म पनि बाध्य भएर नानीको मायाले दिल्लीतर्फ लागे । खेतको बाटो हुँदै उहाँले बोर्डर पार गराउनुभयो र दिल्ली ल्याइ पुराउनुभयो । खासमा उहाँको प्लान मलाई दिल्ली ल्याएर मार्ने रहेछ । मलाई यहाँ आएपछि धेरै कुटपिट गरे ।

मलाई घरमा पनि सासु र नन्दले धेरै टर्चर दिनुभयो । सुत्केरी हुँदासमेत खान नदिने, थुकिदिने गर्नुभयो । मेरो नानी एक वर्षकी भइन् । आज (असार २८ गते) नानीको जन्मदिन पनि हो ।

पहिले पनि दिल्ली आएको थिएँ, मलाई त्यस्तै कुटपिट गरेपछि बुवाले त्यहाँको इलाका प्रहरी कार्यालयमा उजुरी गर्नुभयो । इलाकाबाट फोन आएपछि मलाई नेपाल पुराइयो ।

यसपटक पनि मलाई दिल्ली हिँड हिँड भनिरहनु भएको थियो । तर म दिल्ली आउन नमानेपछि उहाँले राती ३ बजे छोरी च्यापेर हिँड्नुभयो । त्यसपछि म छोरी लिन भनेर हिँडे र मलाई जबरजस्ती कुन कुन बाटो हुँदै दिल्ली ल्याई पुराउनु भयो ।

पहिले पनि कुटपिट गरेपछि मैले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थिएँ । त्यसपछि मलाई सासु आमाले बारम्बार मेरो छोरालाई छाडि दे, डिभोर्स दे । एक दुई लाख कति पाउँछेस्, त्यो हामी दिन्छौँ डिभोर्स दे भनेर बारम्बार भनिरहनु भयो । मलाई धेरै टर्चर भयो । अहिले त म धेरै कुरा बिर्सन्छु ।

यहाँ आएपछि श्रीमानको टर्चर झनै बढी भयो । केटा मान्छेहरुसँग छाडा छाडा कुरा गर्न लगाउने, केटाहरुलाई म सुत्न आउँछु भन्न लगाएर पेटिएम गर्न लगाउने काम गर्नुभयो । मेरो नाङ्गो फोटो र भिडियो खिचेर इन्टरनेटमा हालेको रहेछ, त्यो कुरा यहाँको पुलिसले भनेपछि मात्रै थाहा पाएँ । मेरो शरीर बेचेर उसले पैसा कमाउँदो रहेछ भन्ने कुरा आज उसको मोबाइल जफत भएपछि मात्रै थाहा भयो ।

उसले मलाई अरु केटा मान्छेसँग सुत्न पठाउन खोज्यो । तर मैले मानिन । नमानेपछि मलाई कुटपिट मात्रै गर्न थाल्यो । उसले तेरो पनि हिम्मत छ भने जा न तँ पनि दुई नम्बरी गरेर कमाएर ल्या भन्थ्यो ।

उसको मोबाइलमा केटाहरूको फोन आउँथ्यो र मलाई बोल्न भन्थ्यो । तर मैले बोल्न नमानेपछि मलाई कुटपिट गथ्र्यो । हुन त मलाई इण्डिया पठाउन पनि आमाको (सासु) हात छ । अर्घाखाँचीमै बारम्बार पिटेर न्यायिक समितिमा समेत कुरा पुगेपछि सासु आमाले यहाँ केही नगर जे गर्नु छ इण्डिया नै लगेर गर भनेकी थिइन् ।

यहाँ आएपछि पनि मलाई राम्ररी खानसमेत दिनुभएन । जति कमाउनुहुन्छ, सबै घर पठाउने । मलाई मोबाइल नि नदिने । कुटपिट गरेको घरबेटीले पनि देखेका थिए । मैले त्यो कुरा घरबेटीलाई भन्दा इज्जत जान्छ, त्यस्तो कुरा नगर भने । बरु मेरो श्रीमानले त्यहाँ भएका सबैलाई यो केटीको दिमाग बिग्रेको छ भनेका रहेछन् । त्यसपछि त्यहाँका सबै मान्छेले मलाई ‘बहुलाएकी केटी’ भन्न थाले । मलाई हिन्दी बोल्न आउँदैनथ्यो, बुझ्न त बुझ्थे तर फर्काउन जान्दैनथे । त्यही भएर पनि मैले आफ्नो पीडाबारे कसैलाई भन्न सक्दिनथेँ ।

श्रीमानले मलाई सुरुदेखि नै कुटपिट गर्ने कारणचाहिँ तैँले खुसुक्क गएर डिभोर्स दे भनिरहन्थे । मेरो बाबा ममीलाई केही नभनी डिभोर्स दे भन्थे । डिभोर्स नदिने भए उसले भनेको सबै काम मान्नुपर्थ्यो । मैले धन्दा गरेर पैसा कमाइ दिनुपर्ने, उनीहरुको बुवा ममीलाई खुसी बनाइदिनु पर्ने रे । म धन्दा गर्दै हिँड्न सक्दिनथे, त्यसपछि मलाई सँधै कुटपिट गर्थे ।

दिल्लीमा उहाँले कल गर्ल दिल्ली भन्ने ह्वाट्सएप ग्रुप बनाएका रहेछन् । त्यहाँ विभिन्न केटीहरुको नाङ्गो फोटो पठाउने काम गर्दा रहेछन् । दिल्लीमा पनि एकजना केटीहरू राख्ने ठूलै मान्छे रहेछ, उनीहरु मिलेर केटी सप्लाई गर्ने रहेछ । अनि केटी पनि पैसा लिइसकेपछि त्यहाँबाट भाग्ने, उस्तै परे गहनाहरू पनि चोरेर भाग्ने गर्दा रहेछन् । अनि त्यो लुटेको पैसा श्रीमान, त्यो केटी र केटीहरू राख्नेले बराबर भाग लगाउँदा रहेछन् ।

अनि केटी भागेपछि त्यो मान्छे ले त फोन गर्ने नै भयो । त्यसपछि मलाई त्यो केटी बनेर बोल्न लगाउने, ल म आउँछु पेटिएम गरिदिनु भनेर भन्न लगाउने । त्यो पेटिएम चाहिँ ५ सय १ हजार गर्न लगाउने ट्याक्सी भाडा भनेर । तर मैले बोल्न नमानेपछि पिटिहाल्थे । मेरो श्रीमानले दिल्लीमा गर्ने काम त्यही केटी सप्लाई गर्ने रहेछ ।

मैले म यहाँ बस्दिन, म घर जान्छु । तपाइँले यहाँ यस्ता यस्ता काम गराउनु हुने रहेछ भनेको त मलाई उल्टै पिट्न थाल्यो । कि घर गएर खुसुक्क डिभोर्स दे, नत्र यहीँ मारिदिन्छु भने । मलाई करेन्ट लगाए र उनले म आँफै करेन्ट लागेर यस्तो भएको हुँ भनेर भिडियो समेत बनाए । उनी एक हातले मलाई करेन्ट लगाउँथे भने अर्को हातले भिडियो बनाउँथे । मैले यस्तो गर्दिन भन्दा ५ मिनेटसम्म करेन्ट लगाए । त्यसपछि बत्ती गएछ । अनि मलाई बाल्टीको पानी खन्याइदिए । त्यसपछि म रातभर बेहोश भए ।

मलाई करेन्ट लगाउँदा र पिट्दा नजिकै रहनुभएको दिदीले देख्नुभएको थियो । त्यसपछि मैले उहाँलाई नै भनेर मेरो बुवाको फेसबुक दिएर कन्ट्याक्ट गर्न भनेको थिएँ । त्यसपछि उहाँले नै फेसबुकमा सर्च गरेर छोरी निकै गम्भीर अवस्थामा छे, उद्धार गर्न भनिदिनोस् भनेर लोकेसन पठाइदिनु भएको रहेछ । त्यसपछि म रेस्क्यु भएको हुँ । यहाँ दाई आएपछि मात्रै थाहा पाएको हुँ ।

दाई आएपछि पनि मलाई एकदमै डर लागेको थियो कि फेरि उहाँ भोलि आउँछु वा पर्सि आउँछु भनेर पो जानुहुने हो कि भन्ने लागेको थियो । यतिबेला राम्रोसँग बोल्न पनि सकेको थिइन । मात्रै आँसु झरिरहेको थियो । म बोल्न नै सकेको थिइन । तर मलाई सोही दिन रेस्क्यु भयो र अस्पतालमा उपचार गरियो । त्यसपछि भने म अलि ठीक भएँ ।

प्रहरीले पक्राउ गर्दा पनि परिवारलाई मार्ने धम्की

अहिले पनि जब पुलिसले पक्राउ गर्यो, त्यसपछि जेलबाट निस्कने बित्तिकै तेरो बाउ र भाइलाई मारिदिन्छु भनेर धम्की दिनुभएको छ । उहाँहरुको परिवार राजनीतिक पृष्ठभूमिको हुनुहुन्छ । त्यही नेता देखाएर धम्काउने काम गर्छन् । अहिले एफआईआर दर्ता भएको छ र प्रहरीले थुनेको छ । तर पछि के गर्ने हो थाहा छैन ।

शरीरभरि पिसाब गरिदिन्थे

सोमबार राती  सुस्मिताले आफूमाथि भएको यातनाको फेहरिस्त सुनाइन् । पतिले आफ्नो शरीरभरि पिसाब गरिदिने गरेको पनि सुस्मिताले सुनाइन् । उनले भनिन्, ‘म बिरामी छु, तर श्रीमान मेरो पेटमा बसेर यौन अङ्गमा पिसाब गरिदिने, शरीरभरि पिसाब गरिदिने सम्मको हर्कत गर्नुभयो । म उहाँले गरेका सबै कुरा यहाँ भन्न पनि सक्दिन । मलाई उहाँले धेरै यातना दिनुभयो ।

थप पढ्ने इच्छा

आफ्नो माइतीको आर्थिक अवस्था कमजोर भएको कारण सुस्मितालाई माइतीमा गएर बोझ बन्ने ईच्छा छैन । बरु अब आफू थप अध्ययन गर्ने र जागिर खाने उनको सोच छ । उनले भनिन्, ‘मैले ल विषय लिएर प्लस टु पास गरेको छु । अब ब्याचलर अध्ययन गर्ने सोच छ । माइतीमा गएर बोझ बन्न मन छैन । आफैँ जागिर खाएर पढ्ने सोच बनाएकी छु । आफूमाथि भएको अत्याचारको विरुद्धमा कानुनी लडाईँ लड्छु र म जस्तै यातना पीडितहरूको उद्धार र सेवामा लाग्छु ।

(नोट : पीडक पतिको नाम उल्लेख गर्दा पीडितको गोपनीयता खुल्ने भएकाले समाचारमा पीडकको नाम उल्लेख गरिएको छैन । पीडक पति अर्घाखाँची घर भएका घिमिरे थरका व्यक्ति हुन्)

चर्चामा

सम्बन्धित समाचार