बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • बिहिबार, असार १७, २०७८
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् । अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।

जिप गएराति सवा आठ बजेतिर सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए ।

सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो । कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला–१ स्थित कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो ।

दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए ।

चर्चामा

सम्बन्धित समाचार