शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटक अाकर्षित गर्न रानीबनमा रिसाेर्ट संचालन

पर्यटक अाकर्षित गर्न रानीबनमा रिसाेर्ट संचालन

  • शुक्रबार, जेष्ठ २१, २०७८
पर्यटक अाकर्षित गर्न रानीबनमा रिसाेर्ट संचालन

अर्थ जङ्ग शाही/बझाङ्ग — बझाङ भ्रमणमा आउने पर्यटकलाई सदरमुकाम आसपासमा घुमाउने ठाउँको खोजी भइरहेको समयमा रानीवनलाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ ।

सदरमुकाम चैनपुरको पश्चिम मोहडाको शिरमा रहेको रानीवनमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि सो क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा शुरु भएको छ । सदरमुकाम चैनपुरबाट ३० मिनेटभित्रै पुग्न सकिने जयपृथ्वी नगरपालिका–९ सिमखेत नजिकै अवस्थित रानीवनबाट मनोरम दृश्यको अवलोकन गर्न सकिने भएपछि पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको रोजाइमा रानीवन पर्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा गोलघरसहितको विश्राम स्थल, आरामदायी बेन्चलगायतका पूर्वाधार तयार भएपछि रानीवनले आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ । आरामदायी बेन्च र गोलघरबाटै सेती नदी र बाहुली खोलाको दोभानमा रहेको चैनपुरबजार सँगै जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, सुर्मा गाउँपालिकाका विभिन्न ग्रामीण गाउँ बस्तीलाई एक ठाउँबाट अवलोकन गर्न सकिन्छ ।

जेठिबहुरानी डाँडा, मालिका, गुरइल, लगायतका ठाउँहरूको मनमोहक दृश्य, साइपाल लगायत अन्य सानामनोरम हिमालको चुचुरो, चारैतिर देखिने हरियाली वन र आकर्षक भू–बनोट तल पट्टि सानो उपत्यका जस्तो सदरमुकाम चैनपुर बजारलगायतका कारण आफूलाई रानीवनले लोभ्यायो र पहिलो पटक रानीवन पुगेका खप्तडछान्ना गाउँपालिका –१ का गणेश पाण्डेले बताए । दुई नदीको बीचमा अवस्थित चैनपुर बजारलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउँदा मनै फुरुङ्ग हुने उनको भनाई छ ।

आफूहरूले आफ्नै लगानीमा रानीवनको बिचमा आकर्षक गोलघरसहितको विश्राम स्थल, सिमेन्टको बेन्च, होटेल जस्तै टिनको खाजा तथा खानेकुरा पाउने ठाउँ, बाँसका साना साना कटेज निर्माण गरिएको स्थानीय युवा व्यवसायी जनक खड्काले बताए ।

जयपृथ्वी नगरपालिकाको वडा नम्बर ६ नौरा र छविस पाथिभेरा गाउँपालिका जोड्ने सडकबाट रानीवन पुग्ने नयाँ पैदल मार्ग समेत निर्माण गरेको छ । ‘सदरमुकाम चैनपुर नजिकै रहे पनि नमुना वनको रुपमा पुरस्कृत भएपछि रानीवनले बिस्तारै चर्चा बटुल्न थालेको छ, व्यवस्थित पदमार्ग निर्माणसँगै रानीवनमा आवास बस्ने व्यवस्था बनाउने योजना बनाएका छौँ, सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त भएमा निकट भविष्यमै यो क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामी लागिरहेका छौँ,’’ खड्काले भने ।

अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटक रानीवन पुग्न थालेका छन् । विशेष गरी युवा–युवती बिहान बेलुका र बालबालिका र उनका अभिभावक जिल्ला भरी लकडाउन भएका कारण पनि एकान्त वातावरण भएको रानीवन क्षेत्रमा पुगेर वनभोज, जन्मदिन मनाउन , फोटो खिच्न तथा अन्य मनोरञ्जन उक्त ठाउँमा जाने गरेका छन् । पहिले स्मृति वनको नामले चिनिने सो क्षेत्र केही वर्षदेखि रानीवनको नामले चिनिन थालेको छ । साँथै रिसोटमा नास्ताका परिकारहरु त्यति महङ्गो नभएको स्थानियबासी पारस शाहीले बताएका छन्।

यसको विकासका लागि पदमार्ग र अन्य भौतिक संरचना निर्माणसँगै फोहर व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, खानेपानीको सुविधा, होटल तथा रेस्टुराँ र बगैँचा निर्माणजस्ता योजनालाई समेत उपभोक्ता समितिले अगाडि सारेको छ । यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा बझाङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार