मङ्लबार, असार १, २०७८
  • होमपेज
  • समाचार
  • सुदूरमा अक्सिजन हाहाकार, प्रदेश सरकारले राखेन चासो

सुदूरमा अक्सिजन हाहाकार, प्रदेश सरकारले राखेन चासो

  • मङ्लबार, बैशाख २८, २०७८
सुदूरमा अक्सिजन हाहाकार, प्रदेश सरकारले राखेन चासो

धनगढी — बैतडीको दोगडाकेदार गाउँपालिकाका लोकेन्द्र जोशीको शनिबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा मृत्यु भयो। जोशीलाई शुक्रबार नै अस्पतालमा भर्ना गरिएको थियो। उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई गाह्रो भएपछि अक्सिजन दिनुपर्ने भयो। तर, उनले अक्सिजन पाउन सकेनन्।

जोशी कञ्चनपुरको महाकाली नगरपालिकास्थित आयुर्वेद अस्पतालका कविराज हुन्। उनका आफन्तले अस्पतालमा पाइपलाइनबाट जोडिएको अक्सिजनको मात्रा अपुग भएपछि ज्यान गएको आरोप लगाएका छन्। कोभिड वार्ड परिसरमै रहेको अक्सिजन प्लान्टबाट पाइपको माध्यमले बिरामीलाई अक्सिजनको आपूर्ति गर्ने प्रबन्ध गरिएको छ।

‘ज्वाइँ सापलाई पाइपलाइनबाट चाहिनेजति मात्रामा अक्सिजन आइरहेकोे थिएन’, जोशीका जेठान श्यामराज अवस्थीले भने, ‘हामीले राति अक्सिजन सिलिन्डर माग्यौं। तर, अस्पतालले उपलब्ध नभएको जवाफ दियो।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जोशी गम्भीर अवस्थामै भर्ना भएको बताए। ‘उहाँको अक्सिजनको लेबल कम थियो। आईसीयूमा त पाइपलाइनबाटै अक्सिजन छ।, बाहिर प्रचार गरेजस्तो भने होइन’, डा. पाण्डेयले भने।

धनगढी उपमहानगरपालिका–३ हसनपुरका ४५ वर्षका राजु श्रेष्ठको शनिबार नै अक्सिजन अभावका कारण ज्यान गयो। उनलाई एक साताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। श्रेष्ठका भतिजा बाबुराजा श्रेष्ठका अनुसार उनलाई शनिबार श्वास–प्रश्वासमा बढी समस्या हुन थालेपछि धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना गरियो। भने, ‘नवजीवन अस्पतालमा अक्सिजन सकिएछ। हामीले उनलाई तुरुन्तै सेती प्रादेशिक अस्पतालमा भर्ना गर्‍यौं।’

सेती प्रादेशीकको कोभिड अस्पतालमा ५५ बिरामी राख्ने क्षमता छ। सो दिन त्यहाँ ८५ जनाको उपचार भइरहेको थियो। कोभिड अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप रहेको थाहा पाएपछि श्रेष्ठका आफन्तले उनलाई काठमाडौं लैजाने निर्णय गरे। ‘बल्लतल्ल हेलिकोप्टरको व्यवस्था भयो। त्यति बेलासम्म उहाँ (काका)को अवस्था ठीकै थियो। उहाँ आफैं एम्बुलेन्सबाट हिँडेर हेलिकोप्टरमा चढ्नुभएको थियो’, बाबुराजाले भने, ‘तर, काठमाडौं पुग्दा नपुग्दै उहाँको ज्यान गयो।’

अक्सिजन अभावमा कोभिडका बिरामीको मृत्यु संख्या वृद्धि हुन थालेपछि आफन्त आक्रोसित छन््। बाबुराजाले भने, ‘सुदूरपश्चिम प्रदेशका धनगढी, कैलालीसहित प्रायः सबै जिल्ला अस्पतालमा संक्रमितको मृत्यु भइरहेको समाचार आइरहेका छन्। तर, प्रदेश सरकारले अहिलेसम्म यसबारे गम्भीरतापूर्वक पहल गरेको छैन।’

धनगढीस्थित नवजीवन अस्पतालमा पाँच शय्याको भेन्टिलेटरसहितको आईसीयू बेड छन््। बाबुराजाले भने, ‘हाम्रा अस्पतालहरूमा समयमै अक्सिजनको उपलब्धता भएको भए काकाको ज्यान जाने थिएन।’

नवजीवनका प्रशासन प्रमुख राज ओझाले श्रेष्ठको अक्सिजन लेबल कम भएकाले आईसीयू भएको ठाउँमा रेफर गरिएको बताए। ‘हाम्रो अस्पतालको आईसीयू कोभिड बाहेकका बिरामीका लागि मात्रै प्रयोग भइरहेको छ’, ओझाले भने।

धनगढी उपमहानगरपालिका–३ का डिजे म्याक्स भनिने २७ वर्षका राममहेश रानाको पनि शनिबारै अक्सिजन अभावमा ज्यान गयो। कोरोना भाइरस संक्रमित रानामा श्वास–प्रश्वासको समस्या बढेपछि परिवारले वैशाख २५ गते अस्पतालमा भर्ना गरेका थिए।

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि सुदूरपश्चिममा संक्रमितको संख्या थपिँदै गएको छ। संक्रमितको मृत्यु संख्या पनि दिनहुँ बढिरहेको छ। सुदूरपश्चिम प्रदेशमा आइतबार अपराह्नसम्म १ सय ३४ भन्दा बढीको ज्यान गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोरोनाको पहिलो लहरमा यो प्रदेशमा ७४ जनाको मात्रै ज्यान गएको थियो।

सुदूरपश्चिममा वैशाख १७ गतेयता १० दिनमा मात्रै १ सय २५ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ। निर्देशनालयले जारी गरेको तथ्यांकमा वैशाख १७ गते ७, १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते ८, २२ गते ११, २३ गते १७, २४ गते १३, २५ गते १५ र २६ गते १८ जनाको ज्यान गएको उल्लेख छ। यीमध्ये आधाभन्दा बढी बिरामीले अक्सिजन अभावमा ज्यान गुमाएका हुन्।

लापरवाही गर्दै प्रदेश सरकार
विश्व स्वास्थ्य संगठनका पदाधिकारी र विशेषज्ञले बारम्बार कोरोनाको अर्को लहरको चेतावनी दिँदै आएका थिए। कोरोना जोखिम यथावत् थियो। तर, प्रदेश सरकारले न कोरोनो रोकथाम र नियन्त्रणका लागि ठोस प्रयास जारी राख्यो, न अक्सिजन प्लान्ट जडान, कोभिड अस्पतालको विस्तार तथा आइसोलेसन सेन्टर व्यवस्थापनमा नै ध्यान दियो। सुदूरपश्चिम प्रदेशभरि अक्सिजन हाहाकार भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव निर्मल ढकालका अनुसार गत वर्षको मंसिरमा प्रदेशमा अक्सिजन प्लान्ट जडान, एम्बुलेन्स र शववाहन खरिदका लागि १३ करोड रुपैयाँको बजेट निकासा भइसकेको थियो। तर, पाँच महिनासम्म बजेट पनि कार्यान्वयन हुन सकेन।

सामाजिक विकास मन्त्रालयका सचिव हरिराम विष्टले नेपालीहरू आपत परेपछि मात्र तात्ने बानीका कारण यो अवस्था सिर्जना भएको स्वीकार गरे। ‘त्यति बेला कोरोना महामारीले यस्तो रूप लेला भन्ने पनि अनुमान गर्न सकिएन’, सचिव विष्टले भने, ‘कोरोनाको संक्रमण घट्दै गएको हो भन्ने हामी सबैको बुझाई रह्यो, तर अहिले अवस्था अकल्पनीय बन्यो।’

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले कोरोना महामारी रोकथाम तथा नियन्त्रण, संक्रमितहरूको उपचारका लागि गत कात्तिक अन्तिम साता आर्थिक मामिला तथा योजना मन्त्रालयसँग २७ करोड रुपैयाँको वित्तीय सहमति माग गरिएको बताए। मन्त्रीस्तरीय निर्णयले उक्त बजेटमध्ये अक्सिजन प्लान्ट, भेन्टिलेटर सहितको एम्बुलेन्सहरू, शवबाहन, ५० शय्याको अस्थायी कोरोना अस्पताल र एक हजार भाइल रेम्डेसिभर खरिद गर्न मंसिर १६ गते १२ करोड ८१ लाख रुपैयाँको वित्तीय सहमति प्रदान गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव ढकालले बताए।

मन्त्रालयका शाखा अधिकृत कमला शाहीले मंसिरको २३ गतेको सो निर्णयअनुसार दुई करोड रुपैयाँको लागतको ठूलो अक्सिजन प्लान्ट एक थान र ८०/८० लाख रुपैयाँको लागतका दरले ४ करोड ८० लाख रुपैयाँ मूल्यका ६ वटा मिनि अक्सिजन प्लान्ट, ए क्लासका भेन्टिलेटर सहितका दुई थान एम्बुलेन्स र रम्डेसिभर औषधी (एक हजार भाइल) खरिदका लागि १२ करोड ८१ लाख रुपैयाँ वित्तीय सहमति प्रदान गरिएको पत्र सामाजिक विकास मन्त्रालयलाई पठाएको जानकारी दिइन्। तर, प्रदेश सरकारले समयमै त्यो बजेट कार्यान्वयन गरेन। अहिले प्रदेशभरि कोरोना संक्रमितहरू अक्सिजनको अभावमा मृत्यु वरण गरिरहेका छन्।

‘आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्ष मंसिरमा दिएको वित्तीय सहमतिपछि पनि काम नहुनु चरम लापरवाही हो। पाँच महिना अवधिमा सबै अक्सिजन प्लान्ट जडान भइसक्नु पथ्र्याे। सबै सातवटा अक्सिजन प्लान्ट जडान भएको भए अहिले यो अवस्था हुने थिएन’, उपसचिव ढकालले भने।

सामाजिक विकास मन्त्रालयले बल्ल वैशाख १६ गते अक्सिजन प्लान्ट जडान गर्न सेती प्रादेशिक अस्पताललाई दुई करोड रुपैयाँ तथा डडेलधुराबाहेक सुदूरपश्चिम प्रदेशका अन्य ६ जिल्ला अस्पताललाई ८०/८० लाख रुपैयाँको अख्तियारी दिएको छ। सचिव विष्टले प्राकृतिक अक्सिजन प्लान्ट राख्ने वा लिक्विड प्लान्ट राख्ने भन्नेमा अन्योल भएकाले पनि केही ढिलाइ भएको बताए।

सामाजिक विकास मन्त्रालयले बैतडी, दार्चुला, बाजुरा, अछाम, डोटी र बझाङ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न वैशाख १६ गते मात्रै ८० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताललाई दुई करोड रुपैयाँको अख्तियारी दिएको छ। तर, अहिलेसम्म सेती प्रादेशिक अस्पतालबाहेक अरू कुनै पनि जिल्ला अस्पतालले त्यसको सूचना प्रकाशन गरेका छैनन्। सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन जडानका लागि टेन्डर आह्वान गरिसकेको छ।

आधा पनि छैन अक्सिजन आपूर्ति
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आइतबारसम्म प्रदेशभरि कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ५२ पुगेको छ।। तीमध्ये प्रदेशका विभिन्न अस्पतालमा ३ सय ५४ जनालाई अक्सिजन सेवा प्रदान गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए।

निर्देशनालयले जारी गरेको बुलेटिनमा सुदूरपश्चिमका अस्पतालहरूमा ३३ शय्या आईसीयू र २२ शय्या भेन्टिलेटर छन्। त्यो क्षमतामा ४९ जना आईसीयु र १५ जना भेन्टिलेटरमा भर्ना छन्। निर्देशनालयले गन्तीमा राखेका १४ आईसीयू र भेन्टिलेटर सञ्चालनमा छैनन्।

सामाजिक विकास मन्त्रालयका कोभिड स्रोत व्यक्ति तथा प्रवक्ता कार्कीले प्रदेशभरि दैनिक ५ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने बताए।

सेती प्रादेशिकका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेयले सेतीमा मात्रै दैनिक १ सय सिलिन्डर अक्सिजन आवश्यक रहेको बताए। डा. पाण्डेयले भने, ‘सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ। तर, त्यसले अहिलेको माग धान्न सकिरहेको छैन। कोरोना डेडिकेडेड अस्पतालमा हाम्रो अक्सिजन प्लान्टको सप्लाई छैन। त्यसैले त्यहाँ भरिएका सिलिन्डर जडान गर्नु परिरहेको छ।’

यो अस्पतालको ५० शय्याको छुट्टै कोरोना डेडिकेडेड अस्पताल छ। जहाँ अक्सिजन, मोनिटरसहित अक्सिजन सेवा र हाई डिपेन्डेन्सी युनिट (एचडीयु)का बिरामी राखिएका छन्। तर, कोरोनाको आईसीयू विभाग भने सेती प्रादेशिक अस्पतालको पुरानै भवनमा भएकाले त्यहाँ मात्रै अक्सिजनको पाइपलाइन जोडिएको छ।

‘केही दिन नेपालगन्जबाट आपूर्ति भएको थियो। तर, त्यहाँ पनि अक्सिजन अभाव भएको भन्दै त्यहाँको प्रशासनले जिल्ला बाहिर निकासी रोकेको छ। त्यसले गर्दा हामीलाई झन समस्या भएको छ’, डा. पाण्डेयले भने।

कैलालीमा निजी क्षेत्रले सञ्चालन गरेको एक मात्र अक्सिजन प्लान्ट छ। धनगढी उपमहानगरपालिका–२ मा रहेको मालिका अक्सिजन प्लान्टले दैनिक १ सय २० वटा मात्रै सिलिन्डर भर्न सक्ने त्यहाँका म्यानेजर विक्रमबहादुर शाहले बताए।

सेती अस्पतालमा निःशुल्क अक्सिजन आपूर्ति गरिरहेको ह्युमिनिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले अहिले प्रदेशमा कोरोना संक्रमितहरूका लागि दैनिक कम्तीमा पाँच सय सिलिन्डर अक्सिजनको आवश्यकता रहेको बताए। अध्यक्ष तायलले भने, ‘तर, अहिले प्रदेशभरि मागको करिब आधा मात्रै अक्सिजन आपूर्ति भइरहेको अवस्था छ।’ सरकारले वा निजी क्षेत्रले तत्काल अक्सिजनको ठूलो प्लान्ट स्थापना नगरेसम्म यो समस्या समाधान नहुने उनको भनाइ छ।

सकसमा निजी अस्पताल
कोरोना संक्रमितले सरकारी अस्पताल भरिएपछि सामाजिक विकास मन्त्रालयले निजी अस्पताललाई २० प्रतिशत शय्या छुट्टयाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार वैशाख १८ गते निजी अस्पताल संघ र सामाजिक विकास मन्त्रालयबीच २० प्रतिशत शय्या छट्टयाएर कोरोनाका बिरामी भर्ना लिने सम्झौता पनि भइसकेको छ। नदेखिएका संक्रमितलाई आइसोलेसन गरिदिएको दैनिक साढे ३ हजार, अक्सिजन सेवा दिएकोमा ७ हजार, आईसीयुवापत १० हजार र भेन्टिलेटरमा उपचार गरेवापत दैनिक १५ हजार रुपैयाँका दरले निजी अस्पताललाई रकम प्रदान गर्ने निर्णय भएको उनले बताए ।

धनगढीका ९ र अत्तरियाको एक गरी १० वटा निजी अस्पतालले १८ गतेदेखि नै संक्रमित भर्ना गर्न थालेका छन्््। निजी अस्पताल संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीले भने, ‘उपचारमा कुनै समस्या छैन, तर अक्सिजन नपाएर बिरामी मर्न थाले। सरकारी अस्पतालहरूमा अक्सिजन आपूर्ति गर्न विभिन्न दाताहरू छन्। स्थानीय प्रशासनहरू लागेका छन््। तीनै तहका सरकारहरू पनि प्रयास गरिरहेका छन््। तर, निजी अस्पतालहरूलाई कहाँबाट अक्सिजन ल्याउने। किनेर ल्याऔं भने पनि पाइँदैन। कसरी उपचार गर्ने ?’

धनगढीस्थित मायामेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले अक्सिजनको यस्तै अभाव रहिरह्यो भने बिरामी भर्ना गर्न नसकिने बताए। ‘प्रदेश सरकारसँग सम्झौता त गरियो, तर अक्सिजन पाउने कुनै ठेगान छैन। धनगढीको एक मात्र निजी अक्सिजन प्लान्टमा सिलिन्डर लगेर कर्मचारीहरू १० घण्टासम्म कुर्छन्। ५/७ वटा सिलिन्डर पाउँछन्। अक्सिजन लेबल कम भएका बिरामीलाई एउटा अक्सिजन सिलिन्डरले तीन घण्टा पनि धान्दैन, कसरी उपचार गर्ने ?’

चर्चामा

सम्बन्धित समाचार