शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बजार नपाएको भन्दै किसानले उखेलेर फाले काउली

बजार नपाएको भन्दै किसानले उखेलेर फाले काउली

  • आइतवार, बैशाख २६, २०७८
बजार नपाएको भन्दै किसानले उखेलेर फाले काउली

२६ वैशाख, काठमाडौं — निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुरका किसानले सयौं किलो काउली उखेलेर फालेका छन् । काठमाडौंको बजारलाई लक्षित गरेर फलाइएको काउली नबिकेपछि उखेलेर अर्को बाली लगाइएको मकवानपुर थाहा नगरपालिका किसानले बताए ।

साढे दुई रोपनी खेतमा लगाइएको काउली नबिकेपछि उखेलेर फालिएको थाहा नगरपालिका ६ बज्रबाराहीकी किसान निर्मला बिडारीले अनलाइनखबरलाई बताइन् । काउली उखेलेर फालिएको र खेतमा अकबरे खुर्सानी लगाइएको बिडारीले बताइन् । ‘साढे तीन रोपनीमा काउली लगाएको थिएँ, एक रोपनीको काउली मात्रै बेच्न सकेँ, बाँकी उखेलेर फ्याल्नु प¥यो,’ बिडारीले फोनमा गुनासो सुनाइन् । निषेधाज्ञा सुरु हुने अघिल्लो दिनसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेको काउली त्यसयता व्यापारीले किन्नै नचाहेको उनको भनाइ छ ।

‘एक रोपनीमा दुई टन काउली फल्छ, काउली छिप्पिँदै जाँदा पनि नबिकेपछि मेरो मात्रै पाँच टन जति काउली उखेलेर फ्याल्नु प¥यो,’ बिडारीले भनिन् । जतिमा बिक्छ लैजाऊ भन्दा पनि व्यापारीले नकिनेपछि काउली उखेलेर खेतको डिलमा थन्क्याइएको सोही ठाउँका अर्का किसान शंचर रुम्बाले बताए ।

मकवानपुरको काउलीले मुख्य बजार पाउने समयमै किसान निषेधाज्ञाको मारमा परेको रुम्बाको दुखेसो छ । ‘निषेधाज्ञा अघि किलोमा ५० रुपैयाँ भाउ किसानले यहीँ पाएका थिए, निषेधाज्ञा सुरु भएपछि किलोको ३० रुपैयाँमा झर्यो, त्यसपछि काउली उठाउन व्यापारी आएनन्’, रुम्बाले भने ।

नियमित तरकारी लैजाने व्यापारीहरूले कालिमाटीमा बिक्नै छोडेकाले तरकारी किन्न नसकिने जवाफ दिएपछि काउली उखेल्न बाध्य भएको उनले सुनाए । मकवानपुर बज्रबाराहीका मात्रै झण्डै एक दर्जन किसानले खेतमा लगाएको काउली उखेलेर फ्याँकेको स्थानीय तरकारी संकलक व्यापारी राजेन्द्र बिडारी बताउँछन् । तरकारी बजार लैजान कुनै कठिनाइ नभए पनि मुख्य बजारमा तरकारी बिक्नै नसकेको उनले बताए ।

यसअघिको लकडाउनमा किसानको तरकारी बजारसम्म आउनै समस्या हुँदा बिग्रिएको चक्र यसपटक भने उपभोक्ताले खपत नगरिदिँदा प्रभावित भएको कालिमाटीका व्यवसायीहरुले बताएका छन्
‘स्थानीयसँग तरकारी किन्ने कालिमाटी र बल्खुका व्यापारीहरूले यहाँ फाल्नुभन्दा उतै मल हुन्छ त्यहीँ फाल्नुस् भन्छन्, यस्तो अवस्थामा तरकारी बजार पठाउनै सकिएन,’ बिडारीले भने, ‘सामान्य अवस्थामा यहाँको काउली बजार पठाइसकेर अर्को बाली लगाउन खेत खाली हुन्थ्यो तर यसपालि खेतमै तरकारी रह्यो । अर्को बाली लगाउन ढिलो भएपछि किसानले तरकारी फाल्नुको विकल्प देखेनन् ।’

सोही ठाउँका किसान वेदराज सुवेदी र रामबहादुर सुवेदीले पनि काउली नबिकेपछि उखेलेर खेतको आलीमा चाङ लगाएको बताए । यो सिजनको अन्तिम बालीको रुपमा मुला, काउली र मटरकोसा उत्पादन भएकोमा काउली र मुला निषेधाज्ञाको मारमा परेको उनीहरूको भनाइ छ ।

तत्काल नबिग्रिने भएका कारण मुला न्युन मूल्यमा बिक्री भइरहेको रामबहादुर सुवेदीले बताए । निषेधाज्ञा अघि ४० रुपैयाँ किलोमा बिक्ने मुला अहिले ७ रुपैयाँ किलोमा झरेको तर काउली नबिकेको उनको भनाइ छ ।

निषेधाज्ञा र असिनाको मारमा यस क्षेत्रका किसान परेको बज्रबाराहीका वडाअध्यक्ष शशिधर सुवेदीले बताए । बेमौसमी तरकारीको हबको रुपमा रहेको बज्रबाराहीका किसान यसपालि धेरै नै मर्कामा परेको उनले बताए । ‘काउली त कुरै नगरौं सखापै भइहाल्यो, मुला र बन्दा समेत नबिक्ने र बिकेपनि मूल्य नपाउने अवस्था किसानहरुले झेलिरहेका छन्,’ वडा अध्यक्ष सुवेदीले भने । किसानले पाँच रुपैयाँ किलोमा लैजाऊ भन्दा पनि काउली नबिकेको सोही वडाका वडा सदस्य सुनिल लामिछानेले बताए ।

बिग्रियो बजार चक्र

यसअघिको लकडाउनमा किसानको तरकारी बजारसम्म आउनै समस्या हुँदा बिग्रिएको चक्र यसपटक भने उपभोक्ताले खपत नगरिदिँदा प्रभावित भएको कालिमाटीका व्यवसायीहरुले बताएका छन् ।

कालीमाटी बजारमा लामो समयदेखि तरकारीको होलसेल व्यवसाय गरिररहेका योगेन्द्र ढुंगानाका अनुसार तरकारीको औसत मूल्य अहिले कालीमाटी बजारमा २० देखि २५ रुपैयाँ प्रतिकिलो मात्रै छ ।

साता दिनअघि मात्रै ७० रुपैयाँ किलोमा हारालुछ हुने तरकारी अहिले २० रुपैयाँ किलोमा बिक्री गर्न मुश्किल भएको उनले बताए । भारतीय तरकारीको सिजन सकिएर नेपाली तरकारी भित्रिन सुरु हुने बित्तिक्कै तरकारीको मूल्य अवमूल्यन हुन सुरु भएको उनले बताए ।

‘खासगरी काउली, बन्दा, गोलभेंडा, करेला, लौका जस्ता स्थानीय उत्पादन निषेधाज्ञाको मारमा परेका छन्, बजारमा सस्तोमा बिक्री गर्दा पनि सामान कटाउन कठिन भएको छ’, उनले भने । कालिमाटीको हबिगत देखेर किसानले हामी गाडिमा तरकारी पठाइदिन्छौं जतिमा बिक्छ बेच्नुस्, नबिके फ्याल्दिनुस् भनेर फोन गरे पनि लिन नसकिएको व्यवसायी ढुंगानाले बताए ।

बजारमा तरकारी खरिद गर्न आउनेहरूको चाप सामान्य अवस्थाको तुलनामा ५० प्रतिशतले ओरालो लाग्दा तरकारीको आयात पनि सोही अनुसार खुम्चिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । निषेधाज्ञा अघि र त्यसको केही दिनसम्म दैनिक ९ सय टन तरकारी बजार भित्रिएकोमा अहिले सो परिमाण चार सय टनमा झरेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘बजारमा बिक्री नै छैन, केही दिनयता तरकारीको आयात दैनिक चारदेखि साढे चार सय टनको हाराहारी मात्रै छ,’ श्रेष्ठले भने । बिक्री घटेसँगै बजारमा आएका तरकारी बिक्री नहुने समस्याले मूल्यमा निकै गिरावट आएको उनले बताए । सामान्य अवस्थामा भन्दा तरकारीको मूल्य ७० प्रतिशतसम्मले घटेको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार