शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • साढे पाँचसय पत्रकारलाई कोरोना, सचेत भएर काम गर्न महासंघको अपिल

साढे पाँचसय पत्रकारलाई कोरोना, सचेत भएर काम गर्न महासंघको अपिल

  • सोमवार, बैशाख २०, २०७८
साढे पाँचसय पत्रकारलाई कोरोना, सचेत भएर काम गर्न महासंघको अपिल

काठमाडौं — देशभर साढे पाँचसय पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ। नेपाल पत्रकार महासंघका अनुसार देशभरका पाँच सय ५० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।

महासंघका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने दुई जना पत्रकारको आइसियूमा उपचार भइरहेको छ। हाल सम्म कोरोनाबाट सातजना पत्रकारको ज्यान गएको महासंघले जनाएको छ। अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको महासंघले जनाएको छ।

यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत भएर काम गर्न महासंघले अपिल गरेको छ। ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ’ सहासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

महासंघले गरेको आग्रहअनुसार यतिखेर महासंघका सबै प्रदेश र शाखाहरुले कोभिड–१९ कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका छन्। कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ।

साथै, महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ।

महासंघले कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

चर्चामा

सम्बन्धित समाचार