शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कैलाली कञ्चनपुरमा निषेधाज्ञा सुरु, उलंघन गर्नेलाई कडा कारवाही हुन्छ : प्रशासन

कैलाली कञ्चनपुरमा निषेधाज्ञा सुरु, उलंघन गर्नेलाई कडा कारवाही हुन्छ : प्रशासन

  • बिहिबार, बैशाख १६, २०७८
कैलाली कञ्चनपुरमा निषेधाज्ञा सुरु, उलंघन गर्नेलाई कडा कारवाही हुन्छ : प्रशासन

धनगढी– स्थानीय प्रशासनले कैलाली र कञ्चनपुर जिल्लामा जारी गरेको निषेधाज्ञा सुरु भएको छ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न सुदूरपश्चिमको तराईको कैलाली र कञ्चनपुर जिल्लामा आज विहानदेखि निषेधाज्ञा लागु गरिएको हो। यी २ जिल्लामा बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्। जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको उनीहरुले बताएका छन्।

कैलालीका प्रमुख जिल्ल अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यत्मक अवस्था रहेकोले सवै आमनागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि घरमै सुरक्षित बस्न आग्रह गरे। निषेधाज्ञाको उलंघन गरिए कानून बमोजिम कडा कारवाही गरिने पनि उनको भनाइ छ।

के–के बन्द हुन्छन्, के सञ्चालन गर्न पाइन्छ ?

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुवै जिल्लामा नाइट लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार