शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कास्कीमा निषेधाज्ञाको पहिलो दिनः अत्यावश्यक बाहेकका सेवा पूर्ण रूपमा बन्द

कास्कीमा निषेधाज्ञाको पहिलो दिनः अत्यावश्यक बाहेकका सेवा पूर्ण रूपमा बन्द

  • बुधबार, बैशाख १५, २०७८
कास्कीमा निषेधाज्ञाको पहिलो दिनः अत्यावश्यक बाहेकका सेवा पूर्ण रूपमा बन्द

पोखरा — कोरोना भाइरसको संक्रमण तीव्ररूपमा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाको पहिलो दिन पोखरामा सवारी साधन र व्यवसाय सञ्चालनमा कडाई गरेको छ ।

कास्कीमा झण्डै सातसयको संख्यामा कोरोना संक्रमित पुगेपछि प्रशासनले आज बिहान ६ बजेदेखि जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

प्रशासनको निर्देशन अनुसार जोर बार जोर र बिजोर बार बिजोर नम्बरका सवारीका साधन सञ्चालन गर्न दिने नियम अनुसार आज जोर नम्बरका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

जोर बिजोर प्रणाली लागू भएकोसँगै बिहानैबाट चेकजाँच कडाइ पारिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

उनले अहिलेसम्म कास्कीमा नियम उल्लङ्घन गर्ने ४ सय १४ सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएका ४१४ सवारीमध्ये ३३२ दुई पाङ्ग्रे र ८२ वटा चार पाङ्ग्रे रहेको प्रवक्ता डिएसपी हमालले बताए । उनले अत्यावश्यक सेवा औषधि तथा बिरामी बोकेका सवारीसाधन, खाद्यान्न र निर्माण सामग्री बाहेकका सवारी साधनमा जोर बिजोर प्रणाली पूर्ण रूपमा लागु गराएको बताए ।

आज पहिलो दिन भएकोले अटेर गरी सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएर होल्ड गराएर राखिएको उनले बताए । त्यस्तै, प्रशासनको निर्देशन अटेर गरी खोलिएका अत्यावश्यकीय सेवा बाहेकका व्यवसायिक प्रतिष्ठानहरु प्रहरीको सक्रियतामा बन्द गराइएको प्रवक्ता हमालले बताए ।

कास्कीमा प्रशासनले वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१ गते राति १२ बजे सम्म अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार गर्न निषेध गरेको छ । प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरू बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठुला स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ । कास्कीमा सञ्चालन हुने अत्यावश्यक सवारी साधन बाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू भएको प्रशासनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार