बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • परीक्षा रोक्ने ‘छापामार शैली’ को निर्णयले विद्यार्थीमा अन्योल

परीक्षा रोक्ने ‘छापामार शैली’ को निर्णयले विद्यार्थीमा अन्योल

  • सोमवार, बैशाख १३, २०७८
परीक्षा रोक्ने ‘छापामार शैली’ को निर्णयले विद्यार्थीमा अन्योल

काठमाडौं–अघिल्लो सातामात्रै मन्त्रिपरिषद बैठकबाट परीक्षाहरु नरोक्ने निर्णय गरेको सरकारले आइतबार ‘छापामार शैली’ मा रातारात सबै परीक्षाहरु स्थगित गर्ने निर्णय सुनाएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् । कलेजहरु पनि सोमबारको परीक्षा रोक्ने कि गराउने भन्ने दोधारमा परेका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशभरिका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । सरकारले यो निर्णयको औपचारिक जानकारी आइतबार राति १० बजेपछि मात्रै सार्वजनिक गरेको छ ।

परीक्षा स्थगनको निर्णयबारे समयमै आधिकारिक जानकारी नपाउँदा क्याम्पस प्रशासन र विद्यार्थीमा अन्योल सिर्जना भएको छ । त्रिभुवन विश्व विद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका सबैतिर सोमबारको परीक्षा रोक्ने कि नरोक्ने भन्ने दुविधा उत्पन्न भएको छ ।

सीसीएमसीले भने विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । आइतबार रातिसम्म परीक्षा नियन्त्रण कार्यालय बल्खु, सरकारको निर्देशनको पर्खाइमा थियो । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) का सहनियन्त्रक घनश्याम ठाकुरले परीक्षा स्थगनका लागि औपचारिक जानकारी नआएको बताए । उनले रातोपाटीसँग भने , ‘प्रमुख परीक्षा नियन्त्रक सर (पुष्पराज जोशी) सरले छलफलमै रहेको बताउनुभयो । भोलि बिहान सरहरुसँग छलफल गरेर निर्णय लिउँला भन्नुभयो ।’

तर, सोमबार बिहान ७ बजे नै तीन वर्षे बीएडको मौका परीक्षा तय गरिएको छ । यो परीक्षा भने नरोकिने ठाकुरको भनाइ छ । तीनवर्षे बीएडको मौका परीक्षाका लागि काठमाडौं उपत्यका, काभ्रे, धादिङको पूर्वीभेग र धुनिवेसीसम्मका विद्यार्थीहरुको एउटै परीक्षा केन्द्र काठमाडौंमा छ ।

ठाकुरले भने, ‘१२/१५ जना विद्यार्थी मात्र हुनुहुन्छ, त्यसमा धेरै विद्यार्थी छैनन् । नेपालभरि त्यही हो । कहीँ एउटा विद्यार्थी होलान्, कहीँ दुईजना । त्यसैले भोलि बिहानको परीक्षा रोकिनेजस्तो छैन ।’ ठाकुरका अनुसार आइतबार मात्र ७ /८ सय विद्यार्थीले परीक्षा दिएका थिए । सोमबार विहान पनि ५ प्रतिशत पनि विद्यार्थी परीक्षा दिन तयार भएर बसेका छन् ।’

दिउँसोको परीक्षाबारे भने सोमबार बिहान ९ बजेपछि जानकारी गराइने ठाकुरले रातोपाटीलाई बताए । त्यसका लागि आफूहरुले विहान ७ बजेबाट सरोकारवालासँग छलफल गर्ने उनले बताए । ठाकुरले भने, ‘सीसीएमसीसँग बसेर सल्लाह होला । त्रिवि स्वायत्त निकाय पनि हो । वैकल्पिक अधिकार हुन्छ । तर, सरकारको निर्णय मान्नैपर्छ ।’

सोमबार दिउँसो एक बजे हुने परीक्षाबारे बिहान ९ बजे जानकारी गराउने कुराले विद्यार्थी भने अन्योलमा परेका छन् । यसबारे ठाकुरले भने, ‘देशमा सबै किसिमको अन्योल छ । कहीँ लकडाउनको कुरा छ, कहीँ केहीको कुरा छ । समय नै यस्तै छ । गाह्रो भएको छ, के भन्ने ?’

सोमबार दिउँसो १ बजेका लागि स्नात्तक दोस्रो वर्षमा मानविकी संकाय, सामाजिक संकाय र विज्ञान संकायको परीक्षा निर्धारित छ । ठाकुरका अनुसार आइतबार मात्रै व्यवस्थापन संकायको चारवर्षे स्नातकको फाइनल परीक्षा भएको थियो । यस्तै स्नातकोत्तर पहिलो वर्षको शिक्षा संकायको परीक्षा पनि आइतबार सकिएको छ ।

स्नातकोत्तर पहिलो वर्ष मानविकी संकायको परीक्षा भने बैशाख १९ गतेका लागि निर्धारित गरिएको छ । कोरोनाका कारण पोखराको इन्जिनिरिङको परीक्षा रोकिएको थियो । ती विद्यार्थीहरुको परीक्षा बैशाख १७ गतेबाट गर्ने भनिएको छ ।

ठाकुरले भने, ‘कोही विद्यार्थी परीक्षा रोक्नुहुँदैन, गरेकै राम्रो भन्नुहुन्छ । कोही गर्नुहुँदैन भन्नुहुन्छ, अभिभावक पनि अन्योलमै हुनुहुन्छ ।’

त्यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भने वैशाख १० को सूचनाअनुसार हाल सञ्चालन भैरहेका परीक्षा र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने भनिएका स्नातक तह दोश्रो, चौथो र छैठौ सेमेष्टरका परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । आइतबार विश्वविद्यालयले एक सूचना प्रकाशित गरी सो कुराको जानकारी दिएको हो । साथै अध्ययन अध्यापन भने वैशाख ८ गते प्रकातिश सूचनाअनुसार नै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार