शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • मृतकको नक्कली नागरिकता बनाएर अर्काको नाममा जग्गा पास गर्ने समुह पक्राउ

मृतकको नक्कली नागरिकता बनाएर अर्काको नाममा जग्गा पास गर्ने समुह पक्राउ

नाटक खेल्ने ७१ वर्षीय बृद्धले न्यायाधीशलाई पनि झुक्याए

  • शुक्रबार, बैशाख १०, २०७८
मृतकको नक्कली नागरिकता बनाएर अर्काको नाममा जग्गा पास गर्ने समुह पक्राउ

झापा विर्तामोड नगरपालिका–१ का टुंगबहादुर बस्नेतको ३ वर्षअघि मृत्यु भैसकेको थियो । तर, ०७७ असोजमा ‘टुंगबहादुर मै हुँ, मेरो रेखदेख गर्नेलाई वारेस बनाएर जग्गा बेच्न पाउँ’ भनेर एक बृद्ध काठमाडौं जिल्ला अदालत पुगे ।

झापाको सुरुङ्गास्थित कोटिहोम आश्रममा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डे आफूलाई ‘टुंगबहादुर’ भन्दै एक्लै अदालतमा गएका होइनन् । उनको पछाडि ठूलो गिरोह थियो ।

न्यायाधीशलाई उनले परिचय दिए–‘म टुंगबहादुर बस्नेत, विर्तामोड घर ।’ पाको उमेर, त्यसमाथि पनि बिरामी देखेपछि न्यायाधीशले उनैले भनेअनुसार झापा बाह्रदशी गाउँपालिका घर भएका मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाउने आदेश गरे ।

सो वारेसका आधारमा विर्तामोड–२ चौतुवारी बस्ने मंगलसिंहले बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुल नजिक रहेको १ कठ्ठा १३ दशमलव ७५ धुर जग्गा राजीनामा पास गरे । करिब ७ करोड मूल्यको सो जग्गा बिर्तामोड–४ घर भएकी ३३ वर्षीया रञ्जु राईको नाममा पास गरिएको थियो ।

०७७ माघ २२ जग्गा पास गर्दा रञ्जुले पैसा तिरेजस्तो गरिन् । तर, तिरिनन् । सो जग्गाको वास्तविक किनबेच भएको थिएन । रञ्जुसमेतको मिलेमतोमा एउटा समुहले नक्कली कागजात तयार गारेर सो जग्गा आफ्नो नाममा पास गरेको थियो ।

३ वर्षअघि संसार छाडेका टुंगबहादुरको नामको जग्गा नक्कली धनी खडा गरेर ठग्ने १० जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको टोलीले संगठित रुपमा ठगी गर्ने समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मंगलसिंह राजवंशी, जग्गाधनी बनेका देवीप्रसाद पाण्डे, रञ्जु राई, नविन कोइराला, लिलाधर राजवंशी, बलराम विश्वकर्मा उर्फ सुशिल, भुपदेव कटुवाल, लेखनाथ खनाल र गोविन्द वान्तवा उर्फ मिलन छन् ।

उनीहरु बिरुद्ध संगठित अपराध र सरकारी छाप दस्तखत मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको झापाका एसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

‘लालपुर्जा र नागरिकता नक्कली बनाएर जग्गा ठगेको देखिएको छ,’ एसपी भट्टराईले भने, ‘अदालतलाई समेत झुक्याएर वारेसनामा लिएको खुलेको छ ।’

वृद्धाश्रममा बस्ने देवीप्रसाद नाटकमा पनि रोल खेल्थे । न्यायाधीशको सामु उनले बिरामी भएको नाटक गरेर वारेसनामा दिलाउनका लागि कन्भिन्स गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ०७७ असोज २८ मा काठमाडौँ जिल्ला अदालतबाट नयाँ टुंगबहादुर खडा गरेर सो समुहले वारेसनामा लिन सफल भएको थियो । त्यसपछि ठग्ने योजनाले गति लियो ।

‘देवीप्रसादलाई सो समुहले ५ लाख दिने शर्तमा नक्कली टुंग बहादुर बस्नेत बनाएको थाहा भएको छ,’ अनुसन्धानमा संलग्न झापाका डिएसपी राकेश थापाले भने, ‘जग्गा पास गर्ने बेलामा मालपोत कार्यालयको मोठ सहितका सरकारी कागजातमा पनि त्रुटि देखिएको छ, हामी अनुसन्धान गर्दै छौं ।’

माघ २२ मा जग्गा पास गर्ने बेलामा सोही दिन खाता खोलेका मंगलसिंह राजवंशीको नाममा रञ्जुले पैसा नभएको चेक डिपोजिट गरेका थिइन् । बैंकले ‘पैसा छैन’ भनेपछि उनले भोलिपल्ट चेक फिर्ता लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

चर्चामा

सम्बन्धित समाचार