शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • ड्राइभरबिना गुडिरहेको टेस्लाको कार दुर्घटना हुँदा दुईको मृत्यु

ड्राइभरबिना गुडिरहेको टेस्लाको कार दुर्घटना हुँदा दुईको मृत्यु

  • सोमवार, बैशाख ६, २०७८
ड्राइभरबिना गुडिरहेको टेस्लाको कार दुर्घटना हुँदा दुईको मृत्यु

अमेरिकामा टेस्ला कम्पनीले बनाएको ड्राइभरबिना चल्ने एउटा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उत्तरी ह्युजटनमा स्थानीय समयअनुसार गत शनिबार राति उक्त कार रोडबाट बाहिर गएर एउटा रूखमा ठोक्किएको थियो।

२०१९ टेस्ला मोडल एसको उक्त कार तीव्र गतिमा गइरहेको र घुम्तीमा अगाडिको बाटो थाहा नभएर रोडबाट बाहिर गएको अनुमान गरिएको छ। रूखमा ठोक्किएपछि कारमा आगो लागेको थियो।

दुर्घटनापछि उद्धारकर्मीहरू पुग्दा एक जनालाई ड्राइभरसँगैको यात्रु सिटमा र अर्कालाई पछाडिको सिटमा फेला पारेका थिए। अर्थात् चालकको सिटमा कोही पनि थिएनन्।

दुर्घटनाबारे टेस्ला कम्पनी र राष्ट्रिय हाइवे ट्राफिक सुरक्षा प्रशासनले कुनै प्रतिक्रिया दिएका छैनन्।

टेस्लाले कम्पनीले बनाएका अर्धस्वचालित कारमाथिको नियामक निकायले निगरानी बढाएका बेला यो दुर्घटना भएको हो। टेस्लाले आफ्ना कारहरूमा अर्धस्वचालित प्रणालीलाई छिट्टै पूर्ण स्वचालित बनाउने तयारी गरिरहेको छ।

गत मार्चमा अमेरिकाको अटो सेफ्टी एजेन्सीले टेस्लाका गाडी दुर्घटनामा परेका २७ घटनाको अनुसन्धान थालेको बताएको थियो।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत जनवरीमा पूर्णस्वचालित प्रणालीसहितका कारबाट कम्पनीको नाफा निकै बढ्ने अपेक्षा रहेको बताएका थिए।

चर्चामा

सम्बन्धित समाचार