बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • पहिले सेती बाढीले बगायो, अहिले हावाहुरीले उडायो

पहिले सेती बाढीले बगायो, अहिले हावाहुरीले उडायो

  • आइतवार, बैशाख ५, २०७८
पहिले सेती बाढीले बगायो, अहिले हावाहुरीले उडायो

कास्कीको माछापुच्छ्रे-२ चिप्लेटीका लोकबहादुर गुरुङ शनिबार दिउँसो जकेट लगाउन घरतिर गए। दिउँसो ३ बजेपछि परेको पानीले जाडो बढाएको थियो। गुरुङ घरको पिँढीमा के पुगका थिए, उनलाई हावाले हुत्याइदियो। घरभित्र जान सक्ने अवस्था नै रहेन। पिँढी नजिकैबाट उनले देखे: घरभित्र पानीको ताल परेको थियो, छाना त ह्वाङ्गै।

लोकबहादुरको घर ढुङ्गाले छाएको थियो।‘मेरो ढुङ्गे घर पनि हावाले उडाइदियो’, लोकबहादुरले भने, ‘घरभित्र विस्तारा सबै भिज्यो, दलिनमा पनि पानीको ताल परेको छ।’

वर्षासँगैको हावाहुरीले चिप्लेटीका ५ घर उडाएको छ।स्थानीय रामजी भण्डारी, सीता भण्डारी र तारापती भण्डारीको टिनले छाएको घर पूर्ण रूपमा क्षति भएको छ भने लोकबहादुर र श्वेता बिकको घर आंशिक क्षति भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कर्मचारी हुकुमसिंह गुरुङका अनुसार हावाहुरी र वर्षाले स्थानीयको घरभित्र रहेका सामग्रीसमेत काम नलाग्ने अवस्थामा पुर्‍याइदिएको छ। लोकबहादुरको छानो छाएको ढुङ्गा अहिले आँगन र घरभित्रै थुप्रिएको छ।

‘छानोबाट खसेर ढुङ्गा कामै नलाग्ने गरी फुेटेको छ’, उनले भने, ‘बेस्सरी चलेको हावाले ढुङ्गा पनि उडाइदियो।’ हावाहुरी र वर्षाले गाउँ दिउँसै अन्धकार भएको उनले बताए।

‘दिउँसो साढे ३ बजेको थियो होला, हाम्रो छाना हावाले उडायो, दिनभरि अफ हुने र रातपरेपछि आफैं बल्ने सोलार बत्ती अन्धकार भएर दिउँसै बल्यो,’ उनले भने।

अब छानो छाउन लाग्ने उनले बताए। ‘मान्छे खोजेर कसैले काठ ताछ्ने, कसैले ढुङ्गा छाउने काम गर्छु’, उनले सेतोपाटीसँग भने, ‘अहिले गाउँमा ढुङ्गाखानी छैन, अर्काको घरमा उब्रिएको छ कि खोजेर किन्छु।’

अहिले लोकबहादुरले घरको छानामा पाल टाँगेका छन्। छिमेकीको पनि घर उडाएकाले बस्न जाने ठाउँ छैन। छानो उडेको त्यही घरमा शनिबारको रात काट्ने उनले बताए। घरमा सानो पसल समेत राखेका लोकबहादुरले बेच्न राखेको सामान भने जोगिएको छ।

हावाहुरीबाट पीडित बनेका लोकबहादुर यसअघि सेती नदीमा आएको बाढीका पनि पीडित हुन्। २०६९ वैशाख २३ गते अन्नपूर्ण चौथो हिमालबाट झरेको हिमपहिरोले सेती नदीमा बाढी आएको थियो। उक्त बाढीले खारापानीको बजार बगाएको थियो।

त्यतिबेला खारापानीमा होटल चलाएका लोकबहादुर त्यही बाढीपछि चिप्लेटीमा बस्न थालेका थिए। उक्त बाढीमा परेकी उनकी बुहारी पूर्णसुब्बा गुरुङ अहिलेसम्म बेपत्ता छन्। ‘पहिले बाढीले बगाइदियो, अहिले हावाले उडाइदियो’, उनले भने, ‘यस्तो दु:ख सहनुबाहेक अरू उपाय नै भएन।’

खारापानीमा होटल चलाएका पूर्णसुब्बा शुक्रबारका दिन चिप्लेटीस्थित अहिले हावाले उडाएको घर जाने गर्दथे। सधैँ नाति लिएर घर जाने गरेका उनीसँग त्यसदिन नाती जान मानेन। छोराले भोलि बिहानै ल्याइदिन्छु भनेर लोकबहादुर र उनकी श्रीमतीलाई मात्रै चिप्लेटी पठाए।

खारापानी बजारमा त्यतिबेला शुक्रबार र शनिबार मानिसका भिड हुन्थे। शनिबार छोराले नाति लिएर चिप्लेटी गाउँ आए। ‘दिउँसो होटलमा बुहारीमात्रै थिइन्, त्यही बेला बाढी आएर सबै सोत्तर पारिदियो,’ लोकबहादुरले सम्झिए।

शनिबारको हावाहुरीले मानवीय क्षति भने नभएको स्थानीय माछापुच्छ्रे माविका प्राचार्य सन्तोष आचार्यले बताए। ‘हावाहुरीले बस्ने घर र घरभित्रका सामान क्षति पुर्‍याएको छ’, उनले भने, ‘हामी स्कुलको रेडक्रसमार्फत उहाँहरूलाई सहयोग गर्छौं।’

चर्चामा

सम्बन्धित समाचार