शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा गहुँ उत्पादनमा वृद्धि, कैलालीमा मात्र करिब ७ प्रतिशतले उत्पादन बढेको अनुमान

सुदूरपश्चिममा गहुँ उत्पादनमा वृद्धि, कैलालीमा मात्र करिब ७ प्रतिशतले उत्पादन बढेको अनुमान

  • शुक्रबार, बैशाख ३, २०७८
सुदूरपश्चिममा गहुँ उत्पादनमा वृद्धि, कैलालीमा मात्र करिब ७ प्रतिशतले उत्पादन बढेको अनुमान

धनगढी– सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको दाबी गरिएको छ।

कैलाली र कञ्चनपुरमा मात्र ६ देखि ७ प्रतिशतको हाराहारीमा उत्पादन बढेको अनुमान गरिएको छ। यद्यपि बाली कटान सकिएर समग्र तथ्याङ्क आइसकेपछि मात्र के(कतिले उत्पादन बढ्यो भनेर भन्न सकिने बताइएको छ। अनुकूल मौसम, पर्याप्त मल, सिँचाइको राम्रो व्यवस्था र गहुँमा किरा नलाग्नाले यस वर्ष पोहोरको तुलनामा उत्पादकत्व बढेको विज्ञहरूको भनाई छ।

सुदूरपश्चिम प्रदेशको ढ वटै जिल्लाहरूमा गहुँको खेती हुने गर्दछ। तर अन्नभण्डार मानिने तराईका कैलाली र कञ्चनपुरका समथर फाँटका खेतमा धान जस्तै गहुँ पनि अधिकतम उत्पादन हुने गर्छ।
गत वर्ष कैलालीमा सबैभन्दा बढी अर्थात् ३४ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँको खेती गरिएको थियो। कैलाली जिल्लामा गत वर्ष १ लाख ११ हजार ४ सय ३८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्र कैलाली प्रमुख खगेन्द्र शर्माले यस वर्ष ५ देखि ७ प्रतिशतले गहुँको उत्पादन बढेको हुनसक्ने बताए। कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी गहुँको खेती हुने गरेको छ। कञ्चनपुरमा गत वर्ष ३१ हजार २ सय १० हेक्टर क्षेत्रफलमा गहुँको खेती हुँदा ८२ हजार १३ मेट्रिक टन गहुँ उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले कञ्चनपुरमा यस वर्ष अनुमानित १ लाख २० हजार मेट्रिक टन गहुँ उत्पादन भएको बताए। प्रदेशभरी नै यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको अनुमान गरिएको छ। गहुँको लागि अनुकूल मौसम, प्रदेश सरकार र स्थानीय तहले उन्नत जातको बीउबीजनमा दिएको अनुदानलगायतका कारणले यस वर्ष उत्पादकत्वमा वृद्धि भएको कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए।

सुदूरपश्चिम प्रदेशमा गत वर्ष १ लाख ५३ हजार १ सय ४६ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो। जसमध्ये ३ लाख ३८ हजार ६ सय ६० मेट्रिक टन उत्पादन भएको थियो। गत वर्ष कैलाली जिल्लामा सबैभन्दा बढी गहुँ उत्पाद भएको थियो भने सबैभन्दा कम दार्चुलामा १४ हजार ३ मेट्रिक टन उत्पादन भएको थियो। कैलाली जिल्लामा प्रदेशभरी नै तुलनात्मक रूपमा सबैभन्दा बढी अन्न बाली उत्पादन हुने गर्दछ।

चर्चामा

सम्बन्धित समाचार