शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • भारतमा कोरोना: संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

भारतमा कोरोना: संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

  • शुक्रबार, बैशाख ३, २०७८
भारतमा कोरोना: संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।

११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन। अहिले भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख छ। अप्रिल १ मा संक्रमितको संख्या ६ लाख १५ हजारमात्र थियो।

एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए।

बिहीबार भारतक १४ राज्य र केन्द्र प्रशासित क्षेत्रमा कोरोनाको संक्रमण बढेको छ।

संक्रमण बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढ्न थालेको छ। बिहीबार भारतभर १ हजार १ सय ८४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। १० दिनअघि भारतमा कोरोनाबाट हुने दैनिक मृत्यु ५ सयभन्दा तल थियो। भारतमा अहिलेसम्म १ करोड ४२ लाख मानिसमा संक्रमण भएको छ भने १ लाख ७४ हजारले ज्यान गुमाएका छन्।

चर्चामा

सम्बन्धित समाचार