शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • मेलम्चीको पानी काठमाडौंमा वितरण

मेलम्चीको पानी काठमाडौंमा वितरण

  • आइतवार, चैत्र १५, २०७७
मेलम्चीको पानी काठमाडौंमा वितरण

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार दिउँसोबाट राजधानीबासीको धारामा खसेको छ। महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी वितरण गरिएको हो। आइतबार दिउँसो २ बजे भण्डारण गरिएको पानी वितरण प्रणालीमा पठाइएको हो।

दिउँसो महांकालमा वितरण गरिएको मेलम्चीको पानी साँझसम्म मिनभवन, बालाजु, महाराजगञ्जबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेल)का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। ‘अहिले ट्यांकी भर्ने काम भइरहेको छ’, उनले भने,‘साँझसम्म ती क्षेत्रमा पनि मेलम्चीको पानी जाने छ।’

उनका अनुसारका अनामनगरका ५ सय घरमा नयाँ पाइपबाट पानी दिइएको छ। यो पाइलट प्रोजेक्ट भएकाले नयाँ पाइपलाइनबाट पानीको परीक्षण गरिएको उनको भनाइ छ। अन्य स्थानमा पूरानै पाइप प्रणालीबाट पानी वितरण गरिएको छ। अहिले मीनभवनको पानीट्याक्की भरिँदैछ।

महांकाल चौरमा रहेको ट्यांकीको भल्भ खोलेर आइतबार मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। केयुकेलले केही दिनसम्म चार करोड लिटर पानी वितरण गर्ने छ। क्रमश बढाउँदै लैजाने केयुकेलको तयारी छ।

पुराना पानी पोखरीमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइन र धारामा पानी दिइने छ। आयोजना कार्यान्वयन निर्देशनालयबाट विच्छ्याइएका नयाँ पाइपलाइनबाट परीक्षण गर्दै लैजाने योजना केयुकेलको छ।

मेलम्ची खानेपानी आयोजनाले आइतबारदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाएको हो। प्रवक्ता राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप भएको छ। आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गर्ने केयुकेलको तयारी छ।

केयुकेल अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी औपचारिक उद्घाटन गर्नका चैत्र २० गते समय तय गरेको छ। उक्त दिन राष्ट्रपतिले धाराको टुटी खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने तयारी भइरहेको छ।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने प्रक्रिया आइतबारबाट सुरु भएको हो। मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिएको हो।

सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्नेछ। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ। आइतबार पहिलो चरणमा महांकालसहितका ट्यांकीको पानी वितरण गरिएको हो।

सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो। पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ।

चर्चामा

सम्बन्धित समाचार