शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • शल्यक्रिया कक्षबाटै भिडियोकलबाट अदालतमा बयान

शल्यक्रिया कक्षबाटै भिडियोकलबाट अदालतमा बयान

  • शुक्रबार, फाल्गुन २८, २०७७
शल्यक्रिया कक्षबाटै भिडियोकलबाट अदालतमा बयान

अमेरिकामा एकजना डाक्टरले अस्पतालको शल्यक्रिया कक्षबाटै भिडियो कन्फ्रेन्सबाट अदालतमा बयान दिएको घटनाले तरंग उत्पन्न गरेको छ । चिकित्सा प्रोटोकल उल्लंघन गर्दै शल्यक्रिया कक्षबाटै अदालतबाट बयान गरेको विषयमा क्यालिफोर्निया मेडिकल बोर्डले ती प्लास्टिक सर्जन डाक्टरमाथि अनुसन्धान सुरु गरेको छ ।

समाचार अनुसार डाक्टर स्कट ग्रिन गत बिहीबार साक्रामेन्टो उच्च अदालतको सुनुवाईका क्रममा अस्पतालको शल्यक्रिया कक्षबाटै भर्चुअल माध्यमबाट बयानमा उपस्थित भए । हुनत कोरोना भाइरसका कारण सुनुवाईलाई भर्चुअल बनाइएको थियो ।

तर अपरेसनका क्रममा लगाउने पहिरन र पृष्ठभूमिमा शल्यक्रिया गरिने बिरामीसमेत रहेको अवस्थामा उनले शल्यक्रिया कक्षबाटै सुनुवाईमा उपस्थित हुनु गैरकानुनी भएको बताइएको छ । डाक्टर स्कट सुनुवाईका क्रममा भिडियो कनफ्रेन्समार्फत् उपस्थित भइरहँदा पृष्ठभूमिमा चिकित्सा उपकरणहरुको आवाज पनि आइरहेको थियो ।

सुनुवाईमा बयानका लागि बोलाइएका डाक्टरलाई अदालतका कर्मचारीले तपाईं शल्यक्रिया कक्षमै हुनुहुन्छ ? भनेर सोधेका थिए । त्यसको जवाफमा उनले आफू शल्यक्रिया कक्षमै रहेको र सुनुवाईका लागि आफू उपलब्ध रहेको हुँदा प्रक्रिया अगाडि बढाउन अनुरोध गरे ।

ट्राफिक उल्लंघनको अभियोगमा उनीमाथिको मुद्दामा भइरहेको सुनुवाई कानुन बमोजिम प्रत्यक्ष प्रसारण हुने जानकारी अदालतका कर्मचारीले गराउँदा ती डाक्टरले आफुलाई कुनै आपत्ति नहुने बताए ।

अदालतमा सुनुवाईको प्रक्रिया अगाडि बढिरहँदा उनले आफ्नो टाउको तल झुकाइरहेका थिए, जसबाट उनले त्यसबेला शल्यक्रिया गरिरहेको बुझ्न सकिन्थ्यो । तर न्यायाधीशले शल्यक्रिया गरिरहेका चिकित्सकलाई सुनुवाईमा उपस्थित गराउन अप्ठेरो हुने संकेत गरेपछि स्कटले आफूसँग आफ्नो सहकर्मी डाक्टर पनि रहेको हुँदा आफ्नो उपस्थितिले बिरामीलाई कुनै असर नपर्ने बताए ।

तर न्यायाधीशले भने त्यसमा असहमति जनाए र त्यस्तो अवस्थामा सुनुवाई अगाडि बढाउनुु अनुपयुक्त हुने भएको हुँदा बिरामीको उपचार गर्नु नपर्ने अर्को कुनै बेलाको लाग सुनुवाईको मिति तोक्न सकिने बताए ।

न्यायाधीशको त्यस्तो अडानपछि मात्र डाक्टर स्कटले आफ्नो गल्ती महसुस गरेर माफी मागे । त्यसपछि उक्त सुनुवाई स्थगित भयो । शल्यक्रिया कक्षमा रहेका बिरामीप्रति लापरबाही गरेको र चिकित्सा नियम उल्लंघन गरेको आरोपमा ती डाक्टरमाथि स्वास्थ्य बोर्डले अनुसन्धान सुरु गरेको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार