शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

  • शुक्रबार, फाल्गुन २१, २०७७
सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

काठमाडौँ–बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आगामी चैत २ नेपाल विशेष विमानबाट आउँदै गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालका लागि बहराइनका राजदूत पदम सुन्दाससँग बिहीबार उनकै कार्यकक्षमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेको आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले आफूहरु राजकुमारसहितको टोलीको स्वागतको पर्खाइमा रहेको तथा आरोहण अनुमतिका लागि पर्यटन विभागमा आवश्यक पहल थालिएको जानकारी दिए ।

उनका अनुसार राजकुमारसहितको आरोही टोली नेपाल आएर सात दिनको होटेल क्वारेन्टिनपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने र काठमाडौँ फर्केर सगरमाथाको आधार शिविर प्रस्थान गर्ने कार्यक्रम छ । अहिले शेर्पाको कम्पनीमार्फत वसन्तकालीन यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेका छन् । #रासस

चर्चामा

सम्बन्धित समाचार