आइतवार, जेष्ठ १३, २०८१

नमुना बने मामा भाञ्जा

  • मङ्लबार, मंसिर ३०, २०७७
नमुना बने मामा भाञ्जा

हेटौंडा : हेटौंडा ९ स्थित पूर्वपश्चिम राजमार्गबाट करिब पाँच सय मिटरभित्र सहरको बीचमा लटरम्म तरकारी फलेको देखिन्छ। बारीनजिक सडक भएर हिँड्ने पनि रोकिएर बारीको ताजा तरकारी किनेर लैजान्छन्। त्यही बारीमा दुई युवा कृषि कर्ममा व्यस्त देखिन्छन्।

सहरका युवा रोजगारीको लागि भौंतारिने र कुनै काम नपाए बिदेसिने क्रम बढ्दो छ। यस्तै युवाको भीडमा चार वर्षअघि पञ्चलाल वाइबा र देवकुमार बलले पनि रोजगारीको लागि बिदेसिने प्रयास गरे। तर, बिदेसिने अन्तिम समयमा उनीहरूको मन परिवर्तन भयो, देशमै केही काम गरौं।

साइनोले मामा भाञ्जा बल र वाइबाले तरकारी खेती गर्ने सोच बनाए। सहरका युवाले बाँझो बारीमा काम गर्दैगर्दा छरछिमेकले अनौठो मानेका थिए। तर, २४ वर्षीय वाइबा र २८ वर्षीय बल सहरका नमुना युवा किसान बन्न सफल भएका छन्।

उनीहरूले करिब ६ रोपनी जग्गा भाडामा लिएर साझेदारी आधुनिक कृषि फर्म दर्ता गरी तरकारी उत्पादन गरिरहेका छन्। उनीहरूलाई बजारको समस्या छैन। ‘बजारमा तरकारी महँगो हुनेबित्तिकै हामीकहाँ बारीबाटै तरकारी लैजान आउनेको भीड हुन्छ’, फर्म सञ्चालक वाइबाले भने, ‘सुरुसुरुमा त कसैले पत्याएका थिनन्, अहिले सबैले प्रशंसा गर्नुहुन्छ। बजारको लागि पनि समस्या छैन।’ वार्षिक करिब २० लाख रुपैयाँको तरकारी बिक्री गर्ने गरेको उनले बताए।

दुवै जनाले स्नातकसम्म अध्ययन गरेका छन्। उनीहरू कृषिको नयाँ नयाँ प्रविधिबारे बुझ्ने र प्रयोग गर्ने गर्छन्।

१७ वटा टनेलमा हाल उनीहरूले बन्दा, काउली र गोलभेंडा लगाएका छन्। टनेलसहित अन्य संरचना निर्माणको लागि हालसम्म १८ लाख रुपैयाँ खर्च भएको फर्मका अर्का सञ्चालक बलले बताए। ‘हामीले लगभग लगानी उठाउने चरणमा छौं, काम सानो ठूलो नसोचेर कृषि कर्म गर्ने हो भने राम्रै हुँदोरहेछ’, उनले भने।

तर, बिचौलिया र भारतबाट आउने तरकारीका कारण स्थानीय किसानले उत्पादन सस्तामा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। ‘एक साता अघिसम्म हामीले बन्दा ५० रुपैयाँ केजीसम्म बिक्री ग¥यौं, बाहिरबाट बन्दा आउनेबित्तिकै अहिले २०/२२ रुपैयाँ किलोमा झरेको छ’, वाइबाले भने, ‘नेपाली किसानको उत्पादनले बजारमा प्राथमिकता पाउने हो भने कृषि उत्पादनले राम्रो मुनाफा दिने थियो।’

चर्चामा

सम्बन्धित समाचार