शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • पटाकाले आँखामा हुने जोखिम र बच्ने उपाय

पटाकाले आँखामा हुने जोखिम र बच्ने उपाय

  • आइतवार, कार्तिक ३०, २०७७
पटाकाले आँखामा हुने जोखिम र बच्ने उपाय

डा बिडी चौरसिया

नेपालमा दसैंपछि एकदम हर्ष र उल्लासले मनाइने चाड तिहार वा दीपावली हो। तिहार चारैतिर झिलीमिली बत्ति बाल्ने, देउसी–भैलो खेल्ने र खासगरी तराई भेगमा पटाका पड्काएर मनाउने गरिन्छ। प्रायः बच्चा र युवाहरु पटाका पडकाउन धेरै रुचाउँछन्।

हरेक वर्ष धेरैजसो बच्चा र युवाहरु पटाकाको कारण आँखामा चोट लागेर हस्पिटल आउने गर्छन्। पटाकाले गर्दा आँखामा हुने नकारात्मक असर विभिन्न कारणले हुनसक्छ।

पटाकाले गर्दा चोट लाग्ने कारण
१) अभिभावकको निगरानीबिना बच्चाले पटाका पड्काउनु
२) आवश्यक सावधानी नअपनाई पटाका पड्काउनु
३) खुला ठाउँको अभाव वा सडकमा पटाका पड्काउनु
४) बिग्रेको वा निभेको पटाकालाई फेरि पड्काउन खोज्नु
५) आवश्यक दूरी कायम नगरी पटाका पड्काउनु

पटाका पडकाउने व्यक्तिका साथै हेर्ने व्यक्तिलाई पनि चोट लाग्ने सम्भावना हुन्छ।

पटाकाले आँखामा पार्ने नकारात्मक असर
१) तापक्रमको असर: साधारण पटाका जस्तै झरीले पनि २०००℉को तापक्रमले बल्ने गर्छ जसले आँखाको नानीसँगै अरु भागलाई पगाल्न सक्छ।
२) रसायनको असर: पटाकामा भएको रसायनले पनि आँखाको कालो र सेतो दुवै भागलाई नकारात्मक असर गर्छ।
३) बल वा कम्पनको असर: पटाका जस्तै बम र रकेट पडकेर आँखा फुटेको कारण आँखाबाट रगत र आँखाको भित्री भाग समेत बाहिर निस्कने गर्छ।

पटाकाले आँखामा चोट लाग्दा अपनाउनुपर्ने उपाय
१) आँखा मिच्ने, माड्ने नगर्ने
२) आँखालाई थिचेर खोल्न नखोज्ने
३) आँखामा परेको पटाकाका कणहरु झिक्न नखोज्ने
४) आँखामा आफैंले कुनै औषधि नलगाउने
५) पटाकाको तातोपन वा रसायन आँखाभित्र परेकोले पानीले हल्का पखाल्न सकिन्छ।
६) आँखालाई सफा कपडा वा कपासले आँखालाई ढाकी तुरुन्त अस्पताल ल्याउनु नै सबभन्दा उत्तम उपाय हो।

पटाकाले गर्दा आँखामा जटिल चोट लाग्ने र सधैंको लागि आँखा बिग्रिने सम्भावना भएकोले यसबाट बच्चादेखि युवासम्मले आफूलाई बचाउनु नै उत्तम विकल्प हो।

पटाकाको कारण आँखाको चोटबाट बच्ने उपाय
१) सकेसम्म बच्चालाई पटाका पड्काउन नदिने
२) युवाहरुले पनि पूर्ण रुपमा सावधानी अपनाउने
३) खुला ठाउँ मात्र प्रयोग गर्ने
४) बिग्रेको वा निभेको पटाका फेरि पडकाउन नखोज्ने
५) नजिकमा बाल्टीभरि पानी तयार राख्ने
६) पटाकालाई सिसाको बोतल वा कुनै डब्बाभित्र पडकाउन नखोज्ने
७) आँखा बचाउने साधारण चश्मा लगाउन सकिन्छ।

यी कुराहरुलाई ध्यानमा राखी यसपालिको तिहार वा दीपावली सम्पूर्ण परिवारसँग हर्ष र उल्लासका साथ मनाऔं। सुखी रहौं, सुरक्षित रहौं।

(डा चौरसिया आँखा रोग विशेषज्ञ हुन्।)

चर्चामा

सम्बन्धित समाचार