शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • घुससहित दुई प्रहरी पक्राउ

घुससहित दुई प्रहरी पक्राउ

  • सोमवार, कार्तिक १७, २०७७
घुससहित दुई प्रहरी पक्राउ

राजविराज : नेपाल–भारत सीमामा रहेको राजविराज भन्सार कार्यालयका प्रहरी नायब निरीक्षक (सइ) सिकिन्दर कामेत र प्रहरी जवान रामेश्वर मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित आइतबार पक्राउ गरेको छ ।

भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्न प्रयोग भएको मोटरसाइकल कागज मिलाएर छाडि दिने भनेर घुस लिएको अवस्थामा उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।

सइ कामेतले सेवाग्राहीबाट ५० हजार रकम लिएर कार्यालयको सिढी मुनी राखेको र प्रहरी जवान यादवलाई घुसवापत लिएको सो रकम नजिकैको किराना पसलमा लगेर राख्न लगाएको टोलीले जनाएको छ ।

प्रक्रिया मिलाएर लेखि सिध्याएको कागज आयोगको टोली प्रवेश गर्नासाथ मिल्काएको अवस्थामा टोलीले बरामद गरेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित कार्यालय लगिने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले स्टिंग अपरेशनको सहजिकरणका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक नेतृत्वको टोली तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालय पुगेको र अख्तियारको इटहरी टोलीबाट कारवाही भइरहेको बताए ।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाडन सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

‘स्टिंग अपरशेन’ मा सइ र उनको मतियारमा प्रहरी जवान पक्राउ परेको तथा कागजी प्रक्रिया सम्पन्न गरी इटहरी ल्याउन लागिएको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए । आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्ने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार