बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • को थिए, ती तस्कर ? जसले असई र जवानको विभत्स हत्या गर्न लगाए

को थिए, ती तस्कर ? जसले असई र जवानको विभत्स हत्या गर्न लगाए

  • बुधबार, कार्तिक ५, २०७७
को थिए, ती तस्कर ? जसले असई र जवानको विभत्स हत्या गर्न लगाए

स्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान रामबहादुर बिकले तस्करको समूहले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताइसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका भनाईमा, ‘मटर तस्करीमा प्रहरीबाट अवरोध हुने तस्करहरुलाई पहिले नै आशंका थियो । उनीहरुले योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ । वारीबाट पारी मटर तस्करी हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।’

जुगेडा क्षेत्र चोरी तस्करीको ट्रान्जिट प्वाइन्ट समेत मानिदै आएको छ । प्रहरीले पत्रकार सम्मेलन गर्दै अनुसन्धानका लागि पक्राउ परेका मध्ये ७ जनाको संलग्नता देखिएको र केही अन्य फरार रहेकाले खोजी भइरहेको बताइसकेको छ । तर प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको भन्दै अभियुक्तले बयानमा भनेका कुरा अझै खुलाएको छैन् ।

यद्यपी सञ्चार माध्यमले स्रोतको हवला दिदै अभियुक्तले प्रहरी समक्ष दिएका बयानमा आधारित समाचार सम्प्रेषण गरिरहेका छन् । गस्तीमा खटिएका दुई प्रहरीको विभत्स हत्याको घटनाले यतिवेला सबैलाई झस्काइदिएको छ । घटनाको उपज चोरी तस्करी हुनुले थप भयभित बनाएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

शनिबार राती जुगेडा क्षेत्रबाट मटर तस्करी गर्ने को थिए ? जसले असई र जवानको हत्या गर्न लगाएर नदीमा फाले । हत्या आरोपमा पक्राउ परेका व्यक्ति थिए ? वा अरु नै ? प्रहरीले बताइसकेको छैन् ।

‘तस्करी घटनाको उपज भएपनि हत्या त्यो भन्दा ठुलो अपराध हो ।’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिह भन्छन्,‘तस्करी र हत्या छुट्टाछुट्टै घटना भएकाले दुवै घटनामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

हत्या आरोपमा पक्राउ परेका मध्ये केही आफै तस्कर र केही भरिया समेत रहेको खुलेको उनी बताउँछन् । ‘हामीले पक्राउ गरेका व्यक्तिमा पनि केहीको लगानी थियो भन्ने बुझिन आएको छ ।’ प्रहरी वरिष्ठ उपरिक्षक सिहले भने, ‘कोही भरिया थिए । उनीहरुसँगै पर्दा पछाडी रहेका व्यक्तिहरुमाथि पनि अनुसन्धान हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका मध्ये रोहित राना लगानीकर्ता भएको बुझिन आएको छ । तर उनी नै गिरोहको मुख्य व्यक्ति भने नभएको प्रहरी स्रोत बताउँछ । अहिले प्रहरी सहायक निरीक्षक र जवानको हत्यामा संलग्न व्यक्तिलाई मात्र कारवाहीको दायरामा ल्याएर उनीहरुलाई प्रयोग गरी फाइदा लिने समूहलाई उन्मुक्ती दिन नहुने माग उठिरहेका छन् ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गरिएको थियो । तर नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो ।

प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो । उनीहरु सवार बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरिक्षक बिक ४ वर्षअघि नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । भूमीहिन परिवारमा जन्मिएका बिकका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन् ।

५ वर्षको उमेरमा बुवा गुमाएका बिककी ५० वर्षीया आमा छन् । ३ भाइ थिए । उनी माइलो भाई हुन् । यस्तै अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । २ वर्षदेखि कैलालीमै कार्यरत साउदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । ५ जना दाजुभाई मध्ये साउद साइलो थिए ।

चर्चामा

सम्बन्धित समाचार