शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बेड अभावमा सुत्केरीको भुइँमै ओछ्यान

बेड अभावमा सुत्केरीको भुइँमै ओछ्यान

  • सोमवार, अशोज २६, २०७७
बेड अभावमा सुत्केरीको भुइँमै ओछ्यान

गुलरिया : जताततै कोभिड महामारीको सन्त्रास फैलिरहेका बेला बर्दियाको जिल्ला अस्पतालमा सुत्केरी हुन आउने महिलाको चाप बढेको छ । अस्पतालमा दक्ष चिकित्सकसँगै प्रभावकारी प्रसूति सेवा प्रदान हुन थालेपछि बर्दियाका मात्र नभइ छिमेकीलगायत सुदूरपश्चिमका जिल्लाबाट समेत सुत्केरी हुन आउने महिलाहरुको संख्या बढेको छ । अस्पतालमा सुत्केरी हुनेको संख्या बढेका कारण वेड अभावमा सुत्केरी भुइँमै सुत्न बाध्य छन् ।

सधैं पेट दुख्थ्यो, गाउँको अस्पतालमा समस्या पत्ता लागेन, यहाँ राम्रो सेवा पाइन्छ भन्ने सुनेर बर्दिया अस्पतालमा उपचार गर्न आएँ बुढीनन्दा नगरपालिका वडा नम्बर १ बाजुराबाट आएकी सुत्केरी बसन्ती जैसी भण्डारीले आफ्नो समस्या सुनाइन् ।उनले बर्दिया अस्पतालमा गुणस्तरीय सेवा पाएपनि वेड अभावमा भुइँमै सुत्नु पर्ने बाध्यता भएको बताइन्। नर्मल डेलीभरी भएकोमा खुशी हुँदै उनले भनिन्,’ सधै पेट दुख्थ्यो बर्दिया अस्पतालमा उपचार गरेपछि नर्मल बच्चा जन्मियो । अस्पतालमा सुत्केरीहरुको संख्या धेरै भएकाले वेड पाउन सकिन ।’

बर्दियाको मधुवन नगरपालिकाबाट सुत्केरी हुन आएकी सविता थारु पनि नर्मल डेलीभरी भएकोमा खुशी छिन् । तर अस्पतालमा वेड नपाएर भुइमै बस्नु परेको गुनासो उनले गरिन् ।

अस्पतालले दिएको सेवा राम्रो भएपनि वेड नपाउँदा असजिलो भयो । उनले भनिन्,’ अस्पतालमा सेवा त राम्रो छ तर सुविधाहरु कमी भएकाले थप्नुपर्छ ।’ अस्पतालले २४ घण्टामा १४ जना नर्मल, ३ जना सिजरिङ र १ जना भ्याकुमको सहयोगबाट १८ जनालाई प्रसूति सेवा दिँदै आएको छ।

बर्दिया अस्पताल गुलरियामा पछिल्लो समय अन्य सेवाहरुसँगै सुत्केरी हुन आउने महिलाको संख्या बढ्दो क्रममा छ । कोभिड सर्तकता, गुणस्तरीय प्रसूतिलगायत दक्ष चिकित्सकको उपलब्धताका कारण अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा दिन सक्षम भएको बर्दिया अस्पताल गुलरियाका प्रमुख सुभाष पाण्डेयले बताए । ५० शैयाको जिल्ला अस्पताल भएपनि आवश्यक दरबन्दीलगायत अस्पतालको भौतिकपूर्वाधार अभावमा अस्पतालले बिरामीको चाप थेग्न सकेको छैन ।

‘वेड अभावमा सुत्केरीलाई भुइँमै ओछ्यान लगाएर राखेका छौं, ‘उनले भने,’ हामीले मन्त्रालयमा दरबन्दी तथा भौतिकपूर्वाधार सुधारका लागि माग गरेका छौं ।’ आवश्यक कर्मचारी अभावमा अस्पतालले सुत्केरी सेवा थेग्न सकेको छैन । बर्दिया अस्पताल जिल्लाकै जेठो अस्पताल भएपनि पूर्वाधार अभावमा सम्पूर्ण सेवा प्रदान गर्न सकेको छैन । आवश्यक जनशक्तिलगायत भौतिकपूर्वाधार सम्पन्न भए सबै सेवा जिल्लाबाटै प्रदान गर्न सकिने डा.पाण्डेयको भनाइ छ । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार